फागुन १८ गतेदेखि राष्ट्रिय बाल नाटक मेला

बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोस्रो संस्करण यही फागुन १८ गतेदेखि हुने भएको छ । 

नाट्यकर्मी महासंघ नेपालको आयोजनामा हुन गइरहेको बाल नाटक मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

दुई महिना अगाडिबाट देशभरबाट आएका नाटकमध्ये उत्कृष्ट नाटक छनोट गरी फाइनल चरणका नाटक छनोट गरिएको आयोजक नाट्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र रिमालले बताए । 

‘दोस्रो चरणको बाल नाटक मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । हामीले देशभर खुल्ला आह्वान गरी नाटक माग गरेकोमा उत्कृष्ट ११ वटा नाटक फाइनलका लागि छनोट गरेका छौँ,’ अध्यक्ष रिमालले भने । विद्यालय स्तरबाटै बालबालिकाहरुलाई नाट्य क्षेत्रमा अग्रसर हुन प्रेरित गर्ने उद्देश्यले बाल नाटक मेला हुन लागेको हो ।

मेलामा कक्षा ८ देखि माथि अध्ययनरत विद्यार्थीले नाटक मञ्चन गर्नेछन् । नाटक मञ्चनको निर्णायकहरुमा निर्देशक राजेन्द्र शलभ, चर्चित टेलिशृंखला ‘अबिरल बग्दछ इन्द्रावती’का निर्देशक बद्री अधिकारी, अभिनेत्री सरिता गिरी रहेका छन् । फागुन २७ गतेसम्म चल्ने मेलामा थिएटर र नेपाली चलचित्र क्षेत्रका कलाकारको समेत सहभागिता रहने आयोजक नाट्यकर्मी महासंघका महासचिव जेबी डिसीले जनाए । 
 
निजी तथा आवासीय विद्यालयहरूको संगठन प्याब्सन नेपाल र सांस्कृतिक संस्थानसँगको सहकार्यमा हुन गइरहेको बाल नाटक मेलाको प्रायोजकमा सुजल फुड र नेपाल टेलिकम रहेका छन् । आलिशान फर्निचर, क्याम्ब्रिज काठमाडौं, नेपाल मेडिकल कलेज, फरवार्ड नेपाल, सह–प्रायोजक रहेको कार्यक्रमलाई नेपाल एयरलायन्स, एभरेष्ट बैंक, वाइबी सलुसन प्रालि र नेपाल आयल निगमको समेत सहयोग रहेको छ ।

प्रतियोगिताको विजेता नाटकलाई नगद १ लाख रुपैयाँ, ट्रफी, प्रमाणपत्र दिइनेछ भने विजयी नाटकलाई अन्तराष्ट्रियस्तरको प्रतियोगितामा सहभागिताका लागि पठाइनेछ । प्रतियोगितामा ११ वटा शीर्षकमा उत्कृष्ट प्रतियोगीलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी दिइनेछ ।



कार्यक्रम स्थलमा नेपाल टेलिकमले निःशुल्क सिम वितरण गर्ने तथा नेपाल मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्नेछ । कार्यक्रममा काठमाडौं, भक्तपुर, ललितपुरसँगै देशका विभिन्न विद्यालयका बालबालिका, शिक्षक, अभिभावकको प्रत्यक्ष सहभागिता रहने जनाइएको छ ।



  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार २३:२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया