ओलम्पिकको सेमिफाइनलमा मेरा प्रतिस्पर्धी स्थानीय बक्सर एडम्स थिए । त्यो दिन मेरा लागि खराब दिन साबित भयो । म हारेँ । कास्यपदक पाउँदा पनि म खुसी थिएँ । यद्यपि, स्वर्णपदक जित्ने सपना अधुरो हुँदा धेरै दुःख लाग्यो । म बक्सिङ एरिनाबाट बाहिर आउँदा मिडियाहरू मलाई पर्खिरहेका थिए । सर्वप्रथम मैले माफी मागेँ । मैले माफी माग्दा सबै आश्चर्यचकित भए । पत्रकारले सोधे– तपाईंले किन माफी माग्नुभयो ?
आफ्नो देशका लागि स्वर्णपदक दिलाउन नसकेकोमा माफी मागेको बताएँ । सन् २०१२ को ओलम्पिकमा तौलका आधारमा प्रतिस्पर्धा भएको भए स्वर्णपदक नै जित्थेँ जस्तो मलाई अहिले पनि लाग्छ । तर, त्यहाँ तौलको कुनै प्रावधान राखिएको थिएन । त्यस दिन मैले कति मिडियालाई अन्तर्वार्ता दिएँ, मलाई नै याद छैन ।
बक्सिङ एरिनानजिक एयरपोर्ट थियो । हरेक पाँच मिनेटमा त्यहाँबाट एक न एक जहाज आउने÷जाने गरिरहेको हुन्थ्यो । मलाई यस्तो लागिरहेको थियो, म पनि कुनै एउटा जहाज चढेर आफ्नो घर जाऊँ र आफ्ना बच्चासँग भेटूँ । मैले जुन दिन ओलम्पिकमा पहिलो बाउट जितेकी थिएँ, त्यो दिन मेरी छोरीको जन्मदिन थियो । मलाई सबैको एकदम याद आइरहेको थियो । तर, मेरो जीवन नै यस्तै भएको थियो– समर्पण, समर्पण र समर्पण ।
तथापि, समर्पणले मलाई धेरै कुरा सिकाएको छ । माया पाएकी छु । सम्मान पाएकी छु । लन्डन ओलम्पिकबाट स्वदेश घर फर्कंदा मेरो भव्य स्वागत भयो । त्यस मेडलले मेरो जीवन नै परिवर्तन गरिदियो । सरकारले अर्काे वर्ष मलाई पद्मभूषण पुरस्कार पनि दियो ।
यसै दौरान ‘मेरी कोम’ फिल्म पनि रिलिज भयो । मलाई कहिल्यै माया र सम्मानको नजर नहेर्ने मान्छेहरूले पनि मेरो प्रशंसामा शब्द गर्न थालेका थिए । म आफैँलाई लाग्न थाल्यो कि कमसेकम मिहिनेतले राम्रो फल प्राप्त गरेँ ।
म यो पूर्ण विश्वासका साथ भन्छु कि विवाहपश्चात् पनि केटीका आफ्ना बाआमा र श्रीमान्को परिवारबाट साथ र सहयोग भयो भने उनीहरूले राम्रो गर्न सक्छन् ।
कुनै दिन प्रियंका चोपडाले मेरो रोल गर्छिन् भनेर सोचेको पनि थिइनँ । अब त उनी हलिउडमा पनि त्यतिकै चर्चित छन् । उनीसँगको भेटघाट कति रमाइलो भयो भनेर बताउन मसँग शब्द नै छैन ।
मेरो जीवनमाथि फिल्म बन्दै छ भन्ने कुरा थाहा पाएको धेरै समयसम्म पनि मलाई विश्वास गर्न गाह्रो भएको थियो । प्रियंकासँग पहिलोपटक भेट्दा र उनले मेरो रोल गर्दै छिन् भनेर थाहा पाउँदा धेरै खुसी लागेको थियो । उनलाई भेट्नुपूर्व मैले उनका धेरै फिल्म हेरेको थिएँ ।
मेरो रोल गर्न उनका लागि सहज थिएन । नर्थ इन्डियाकी एक केटी नर्थ–इस्टकी एक केटीको रोल गर्न जाँदै थिइन् । आँखा, नाक देखि लिएर शरीरको आवरण पूरै फरक थियो । मेरो रोललाई लिएर धेरै चर्चा, विवाद पनि भएको थियो । कसले मेरो रोललाई सबैभन्दा राम्रो तरिकाले निभाउन सक्छ भन्ने कुरामा धेरै बहस भएको थियो । त्यसको अन्तिम निर्णय निर्देशक र निर्माताको हातमा थियो । उनीहरूले अन्त्यमा प्रियंकालाई नै छनोट गरे ।
मणिपुरकी एक एक्टे«सले मेरो रोल गर्न चाहना भएको भनेर प्रस्ताव गरेकी थिइन् । यसमा मेरो कुनै हात नहुने कुरा मैले उनलाई प्रस्ट रूपमा भनिदिएँ । मेरो रोल जसले गरे पनि राम्रोसँग गरोस् भन्ने चाहन्थेँ । प्रियंकाले मेरो रोल राम्रोसँग निभाइन्, म त्यसका लागि धेरै खुसी छु ।
उनी खेलाडी होइनन्, त्यसैले उनले मेरो फाइटको केही सिन न्यायोचित रूपमा गर्न सकिनन् । त्यसको बाबजुद पनि उनले धेरै मिहिनेत गरिन् र फिल्ममा सकेसम्म राम्रो गर्ने प्रयास गरिन् । फिल्मको सुटिङमा म जान पाइनँ । त्यसवेला मेरो डेलिभरी हुने समय थियो । म यस्तो अवस्थामा सुटिङ हेर्न जान सक्दिनथिएँ । म घरमै बसेर कामना गर्थें कि प्रियंकाले मेरो रोल राम्ररी गर्न सकून् ।
अहिले हामी दुईजना ‘टच’मा छौँ । प्रियंकाले विवाह पश्चात आफ्नो रिसेप्सन पार्टीमा मलाई निम्तो गरेकी थिइन् । त्यस समय म व्यस्त भएकाले जान सकिनँ । हामी पछि भेट्यौँ भने पनि हाम्रो मित्रता पहिलेको जस्तै रहन्छ ।
आफ्नै जीवनीमा बनेको सिनेमा हेर्दा धेरै ठाउँमा मैले चाहेर पनि आँसु रोक्न सकिनँ । मेरो बच्चाको ‘हार्ट–प्रोब्लम’ भएको इमोनसनल सिन आउँदा त धेरै भावुक भएर अविरल आँसु झारेको थिएँ । फिल्ममा देखाइएको केही कुरा भने वास्तविकताभन्दा फरक छन् । तर, फिल्ममा देखाइएभन्दा मेरो बच्चाको स्वास्थ्यअवस्था फरक छ ।
लाइभ हिन्दुस्तानमा ‘मेरी कहानी’ स्तम्भअन्तर्गत प्रकाशित भएको मेरी कोमको ब्लगको सम्पादित अंश
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।