एसईई प्रश्नपत्र आउटः प्रहरीकै संलग्नता, दुई प्रहरी नियन्त्रणमा

काठमाडौं– प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ । गत १४ र १५ चैतमा भएका दुई विषय विज्ञान र सामाजिक विषयका प्रश्नपत्र प्रदेश २ मा बाहिरिएका थिए । लगत्तै ती दुई परीक्षा स्थगित भएका थिए । 

लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ का बाँकी सबै एसईई परीक्षा स्थगन गर्दै शिक्षा मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० लाई छानबिन गर्न जिम्मेवारी दिएको थियो । कान्तिपुर दैनिकमा छापिएको समाचारअनुसार सीआईबीले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ  । 

प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेका समितिले छुट्टाछुट्टै छानबिन गरेका थिए । दुवै समितिले अनुसन्धान जारी रहेको बताइरहेका बेला सीआईबीले दुई प्रहरी जवानलाई नियन्त्रणमा लिएको हो ।

स्रोतका अनुसार ती दुई प्रहरी जवानलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । सीआईबीले नियन्त्रणमा लिएका दुई प्रहरीमध्ये एक परीक्षार्थी पनि हुन् भने अर्का प्रश्नपत्रको तस्बिर खिच्न संलग्न थिए । नजिकका साथीसमेत रहेका उनीहरूबाटै प्रश्नपत्र बाहिरिएको पर्याप्त आधार भेटिएको प्रहरीले जनाएको छ । 

घटनाबारे अनुसन्धान गरिरहेको सीआईबीको टोली २ नम्बर प्रदेशमै छ भने राष्ट्रिय परीक्षा बोर्डको छानबिन समिति विभिन्न जिल्ला हुँदै मंगलबार धनुषा पुगेको छ । 





  • प्रकाशित मिति : चैत २०, २०७५ बुधबार ८:५१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया