फ्याक्ट चेकः के अन्जु पन्त बारामा बाइबल बाँड्दै छिन् ?

काठमाडौं— आइतबार साँझ गएको हावाहुरीका कारण बारा र पर्सामा २८ जनाको मृत्यु भयो । यो प्राकृतिक विपत्तिका कारण सयौंले घरबार गुमाएका छन् । बुधबार भइसक्दा पनि कतिले ओत लाग्ने ठाउँ पाएका छैनन् । 

यहीबीच विभिन्न संघसंस्था तथा व्यक्तिहरु उद्धार गर्न बारा र पर्सा पुगेका छन् । सामाजिक सन्जालमा उद्धारमा गएकाहरुका तस्वीर निकै छाएका छन् । तीनै उद्धारमा पुगेका भनिएका मध्ये एक हुन्– गायिका अन्जु पन्त । 

तर, उद्धारमा पुगिएकी भनिएकी गायिका अन्जु पन्तबारे चाहिँ सामाजिक सन्जालमा सकारात्मक भन्दा धेरै नकारात्मक प्रतिक्रिया छन् । सामाजिक सन्जालमा भाइरल भएको फोटोमा अन्जु पन्त एउटा गाडीको ह्याचब्याकभन्दा पछाडि उभिएकी छिन् । उनको एउटा हातमा मोबाइल छ । अर्को हातले उनले गाडीमा राखिएका सामानमा छोएकी छिन् । 

विवाद र आलोचना भएको पनि त्यही गाडीमा राखिएका सामानको हो । गाडीमा धेरै मात्रामा कालो प्लास्टिकका झोलाहरु बाँधिएका छन् । अनि त्यसको छेउमा पुस्तकहरु छन् । 

ती पुस्तकहरु बाइबल भएको र अन्जु पन्त बारामा उद्धारको नाममा बाइबल बाँड्न गएको प्रतिक्रिया सामाजिक सन्जालमा पोखिएको छ । केही अनलाइन मिडियले यही विषयलाई लिएर समाचार पनि बनाइरहेका छन् ।

 



हामीले यसबारे बुझ्न अन्जु पन्तलाई फोन गर्यौँ । उनले फोन उठाउने वित्तिकै भनिन्, ‘म रेडियो नेपालको एउटा गायन प्रतियोगिताको जजमा छु, अलिक छिटो कुरा गरौँ ल ।’

उनको यो कुरा आउनेवित्तिकै हामीले सोध्यौँ, ‘सामाजिक सन्जालमा त तपाईं बारामा हुनुहुन्छ भनिएको छ नि, बाइबल बाँड्दै ?’



उनले लामो सास फेरिन् । 

अनि भनिन्, ‘कहाँ बारामा हुनु । बिरामी भएर कहीँ जान सकेको छैन । हो, विपत्तिका बेला मैले सहयोग गर्नु पर्ने हो । म त्यहाँ पुग्नु पर्ने हो । तर, केही अघि निकै धेरै ठाउँमा जाँदा मेरो पिठ्युँ दुखेको छ र म बारा जान सकेको छैन ।’

‘त्यसो हो भने सामाजिक सन्जालमा भाइरल भइरहेको तस्वीर कहाँको हो त ?’  

‘त्यो अस्ति नै मुसहर बस्ती र एचआइभी एड्स पीडित बालबालिकालाई सहयोग गर्न जाँदाको तस्वीर हो । हेर्नुस्, न कहिले कहिलेको तस्वीर ल्याएर अहिले सामाजिक सन्जालमा मेरो बदनाम गर्न खोजिएको छ ।’

‘त्यति बेला चाहिँ बाइबल बाँड्नु भएको थियो ?’

‘होइन, ती सबै कापीहरु हुन् । मैले आजसम्म कतै बाइबल बाँडेकी छैन,’ पन्तले भनिन्, ‘स्टेसनरी सामान र ब्यागहरु लिएर अध्ययनबाट वन्चित नानीबाबुहरुलाई सहयोग गर्न गएकी थिएँ ।’ त्यसपछि उनले जोडिन्, ‘हेर्नुस्, संसारमा परमेश्वर हुनुहुन्छ । अहिले यो सब गरेर मैले केही राम्रो काम गर्न खोज्दा मेरो मोरल डाउन गर्न पो खोजिएको छ ।’

पन्तले अहिले स्वास्थ्यका कारण बारा जान नसकेको र आफू नगए पनि त्यहाँ २ लाख पठाएको बताइन् । ‘केही थान पाल र झुल पनि पठाएकी छु,’ उनले भनिन्, ‘यहाँ जज भएर काम गरिरहेकी मलाई बित्थामा बारामा गएर बाइबल बाँडिरहेकी छे भनेर निरुत्साहित गर्न खोजिएको छ ।’

त्यसपछि अन्जुले यस्ता अफवाह फैलाउँदा केही राम्रो काम गर्न खोज्नेको पनि मोरल डाउन हुने र राम्रा काम पनि कम हुने बताइन् । 

अन्जु पन्तले क्रिश्चियन धर्म अँगालेको चाहिँ केही वर्ष भइसकेको छ ।

  • प्रकाशित मिति : चैत २०, २०७५ बुधबार १२:१७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया