सोमबार सत्ता समीकरणमा फेरबदल आएसँगै राजनीतिक दलहरू एकले अर्कोलाई आफ्नो पक्षमा लिन दौडधूप गरिरहेका छन् । संसदको पहिलो ठूलो दल नेपाली काँग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको दोस्रो ठूलो दल नेकपा (एमाले) सँग सत्ता सहकार्य गरेसँगै यसबारे अनेक टीकाटिप्पणी भइरहेका छन् । प्रस्तुत छ, नयाँ राजनीतिक समीकरणलाई नागरिक समाजले कसरी हेरिरहेको छ भन्ने सम्बन्धमा वाम विश्लेषक श्याम श्रेष्ठसँग गरिएको कुराकानी :
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन गर्नुभयो, प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) र नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी समेतलाई लिएर, यसअघि यही गठबन्धन छोडेर काँग्रेससँग गठबन्धन बनाउनुभएको थियो, यो परिवर्तित राजनीतिक परिस्थितिलाई कसरी लिनुभएको छ ?
यो देखिँदाखेरी अकस्मात् देखियो । अप्रत्याशित जस्तो लाग्नेगरी पनि देखियो । तर घटनाक्रम हेर्दाखेरी यो अकस्मात् घटेको घटना होइन । यो भन्दा धेरै अगाडिदेखि खिचडी पाक्दै थियो । पाकेको खिचडी अहिले थालमा पस्किएको मात्रै हो । तर, योभन्दा अगाडि नै गृहकार्य नभइकन् अकस्मात् यस्तो खालको कुरा हुने गर्दैन । त्यसकारणले यो अकस्मात् भएको घटना होइन । दोस्रो कुरा, माओवादी र एमाले पहिला पनि मिलेको । एउटै पार्टी पनि बनाएको । पार्टीपनि फुटेको । फेरि उहीसँग एकीकरणको प्रयत्न पनि गरेको । फेरि फुटेको घटना हो । अहिले उहीसँग जोडिने खालको कुरा आएको छ । के असन्तोष भयो कांग्रेससँग त्यो हामीलाई थाहा हुने कुरा भएन । तर कुनै न कुनै असन्तोष भएर यस्तो भएको देखिन्छ ।
वाम गठबन्धन गरेर जाने भनेका छन्, के त्यो सम्भव छ ?
त्यो नामाकरण चाहिँ उनीहरू गरून् । कति वामपन्थी छन् यि अहिले भएका पार्टीहरू ? एमाले कति वामपन्थी छ ? माओवादी कति वामपन्थी छ ? वामपन्थी भनेको त आमूल रूपान्तरणकारी हो । आमूल रुपान्तरणको कुनै एजेन्डा यि पार्टीसँग बाँकी छ ? बाँकी छ भने वामपन्थी हुने हो । नभए वामपन्थी भन्न मिल्दैन । वामपन्थी शब्दलाई दुरुपयोग गर्नुहुन्न । वामपन्थी शब्द अर्थपूर्ण शब्द हो । जहाँनेर पार्टीहरू, दलहरू, कुनै शक्तिहरू तात्विक महत्वको परिवर्तनमा तयार हुन्छ र हुन्छ वामपन्थी । को वामपन्थी यहाँ ? त्यसकारणले यो वामपन्थी भन्ने शब्द त मलाई लाग्दैन । यो देशका सुधारवादी शक्तिहरूको बीचको गठबन्धन भन्यो भने ठिकै होला ।
प्रधानमन्त्रीले विश्वासको मत पाउनु होला ? कि घात, प्रतिघातको सुरुवात विश्वासको मतबाटै सुरु हुन्छ ?
त्यो त म भन्न सक्दिनँ । किनकी म ज्योतिष होइन । पाउन पनि सक्छ । नपाउन पनि सक्छ । तर अब भर्खरै एकता गरेको छ, एमालेले भर्खरै आफ्नो गोडामा आफैंले बन्चरो हान्ने काम नगर्ला । त्यहाँसम्म त जाला कि भन्ने एउटा अनुमान हो । तर अहिले नेपालमा एक क्षणमा, एउटा कुरा नमिल्ने बित्तिकै फुट्नेहरू हुन् यिनीहरू । अघिल्लो पार्टी फुट्नुपर्ने कारण नै थिएन । त्यसकारणले अहिले भन्न सकिँदैन त्यो ।
मान्छेहरूले निकट भविष्यमा पुनः काँग्रेस–एमाले गठबन्धन अथवा काँग्रेस–माओवादी गठबन्धन हुनसक्छ भनेर टिप्पणी पनि गरेका छन् । त्यस्तो कमजोर जगमा छ यो गठबन्धन ? त्यस्तो सम्भावना हुनसक्छ ?
सम्भावना त राजनीतिमा जे को पनि हुन्छ । तर काँग्रेसको सबैभन्दा ठूलो प्रतिपक्ष एमाले हो । एमालेको सबभन्दा ठूलो प्रतिपक्ष काँग्रेस हो । यि दुईथरी मिल्ने सम्भावना ज्यादै कम छ । खानेकुरा पनि त एउटै बोरामा दुईवटाले मुख जोत्नुपर्ने कुरा भयो । त्यसकारणले मिल्ने सम्भावना असाध्यै कम हुन्छ । मिल्दै मिल्दैनन् भन्न पनि सकिँदैन । मिल्न सक्छन् । किनभने कुरा मिले पछाडि त, स्वार्थ मिले पछाडि त नमिल्लान् भन्न सकिँदैन । तर मिल्ने सम्भावनाको कुरा गर्नुहुन्छ भने त्यो सम्भावना ज्यादै नै कम छ । फेरि पनि काँग्रेस–माओवादी मिल्ने सम्भावना अथवा एमाले–माओवादी मिल्ने सम्भावना ज्यादा छ । किनभने सबैले हन्डर, ठक्कर खाएर, एमालेले हन्डर ठक्कर खाइसकेको छ । माओवादीले पनि । त्यो हन्डर ठक्कर पछाडिको यो गठबन्धन हो ।
यो गठबन्धनलाई ‘चाइना फ्याक्टर’ को रूपमा पनि अर्थ्याइएको छ, ‘बिआरआई परियोजना’ कार्यान्वयनसँग पनि जोडिएको छ, के चाइना फ्याक्टरले नै काम गरेको हो त ?
नेपालमा जे भएता पनि कुनै फ्याक्टर जोड्ने एउटा चलन नै भइसकेको छ । नेपाल सार्वभौम देश होइन, यहाँ चाइनाले मिलाउँछ, अमेरिकाले मिलाउँछ या त भारतले मिलाउँछ भन्ने एउटा सोच छ । तर यो सोचलाई चिरेर जानुपर्छ जस्तो लाग्छ नेपालीहरूले । यो कुनै फ्याक्टरले गर्दाखेरी भएको होइन कि आफ्नो सत्ताको आवश्यकताको फ्याक्टरले गर्दा चाहिँ भएको हो । चाइनाले त पहिला पनि पार्टीहरूलाई जोड्नै कोशिश गरेको थियो नि । तरपनि फुट्यो । फेरि पनि जोड्न कोसिस गरेको फेरि पनि फुट्यो । चाइना फ्याक्टर लाग्ने भए त त्यतिखेरै लाग्थ्यो नि ।
चार राजनीतिक दलहरूले आठबुँदे सहमति गरेका छन्, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउने, संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानून निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने लगायतका बुँदा छन्, यि कुराहरुलाई टुंग्याउन प्रधानमन्त्रीलाई काँग्रेससँग भन्दा एमालेसँग काम गर्न सजिलो हुने भएकाले यसो भएको हो त ?
पार्टीगत रुपमा भन्नुहुन्छ भने एमालेलाई माओवादी सजिलो पर्नुपर्ने हो । तर व्यक्तित्वले पनि भुमिका खेल्छ । व्यक्तित्वको मनोविज्ञानले भूमिका खेल्छ । अहिले कस्तो देखिन्छ भने प्रचण्डलाई देउवासँग कुराकानी गर्न ज्यादा सजिलो ओलीसँग कुराकानी गर्न ज्यादा अप्ठ्यारो । यो देखिन्छ । उनीहरुको बडिल्याङ्वेजलाई हेर्दाखेरी । पार्टीगत रुपमा भन्नुपर्दा त्यो कुरा नभएर एमाले र माओवादी उस्तै उस्तै पार्टी भए । संसदीय पार्टी । सुधारवादी पार्टी । दुवैको स्वभाव पनि मिल्ने । दुवै वामपन्थी पृष्ठभूमिबाट आएको । दुवै पार्टीले एक समयमा हतियार उठाएको । माओवादीले पनि धेरै मात्रामा हतियार उठाएको । एमालेले पनि उठाएको थोरै मात्रामा । तर उठाएको त हो नि त उसले पनि । त्यस कारणले इतिहास हेर्दाखेरी कम्युनिस्ट पार्टीको धङधङी पनि बाँकी छ । बेसार नै नभएपनि बेसार बाँधेको टालो बाँकी छ । पार्टीगत रुपमा यता सजिलो । व्यक्तिगत रुपमा उता सजिलो हो ।
चार राजनीतिक दलहरूले गरेको आठबुँदे सहमतिलाई कार्यान्वयन गर्न कत्तिको इमानदार होलान् यि दलहरू ?
नेपालमा सबभन्दा समस्या नै सहमति कार्यान्वयन हो । यि नेपालका सबै दलहरूको स्वभाव के हो त भन्दाखेरी सहमति भनेको तोड्नका लागि गर्ने हो भन्ने खालको स्वभाव हो । सहमति भनेको कार्यान्वयनका लागि होइन कि आज सहमतिमा हस्ताक्षर गर्यो । सहमति गरेको भोलिपल्ट नै तोड्नका लागि कहाँ कहाँ तोड्न मिल्छ ? त्यसको प्वालहरू कहाँ छ ? भनेर खोज्ने खालको पार्टीहरू परे । त्यसकारण नेपालमा सहमति राम्रोसँग कार्यान्वयन हुन्छ भन्ने कुरा विगत इतिहास हेर्ने हो भने कसैले पनि सहमतिलाई राम्रोसँग कार्यान्वयन गरेको देखिँदैन । मात्रामा कोही धेरै कोही थोरै होला । सहमति भनेको अधिकांश रुपमा तोडेकै देखिन्छ । तोड्न त यि माहिर मान्छेहरू परे ।
नयाँ राजनीतिक दलको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी गठबन्धनमा समावेश हुनुलाई कसरी हेर्ने ?
जुन खालको अहिले गठबन्धन छ, रास्वपाको एमाले, माओवादीसँग के कुरा मिल्छ ? रास्वपा त अहिले बन्दै गरेको पार्टी हो । न त उसको सिद्धान्त बनिसकेको छ । न त कुनै ठोस विचार बनिसकेको छ । बनाउने दिशातिर छ । भर्खरै बनेको पार्टी हो । उ त नेतृत्व कसरी बनाउने, संगठन कसरी बिस्तार गर्ने, विचार कसरी बनाउने, विचारलाई कसरी व्यावहारिक रूप दिने भन्ने कुराको चरणमै छ त । यसलाई पार्टी इन मेकिङ भन्छन् । पार्टी इन मेकिङको चरणमा छ रास्वपा । त्यसकारणले उसको के हो, के होइन भन्ने कुरा अहिले भन्न सकिँदैन । तर उसले जे बोलिरहेको छ । जे गरिरहेको छ, त्यहाँ नेताहरू एउटा कुरा बोलिराखेको छ । कार्यकर्ताहरू अर्को कुरा बोलिराखेको छ । कुनै कुनै मान्छेले वामपन्थीले बोल्नेभन्दा पनि धेरै राम्रो कुराहरू संसदमा बोलिराखेको देखिन्छ ।
कुनैले असाध्यै प्रतिक्रियावादी कुरा पनि बोलिराखेको छ । बोलाइमा एकरूपता आएको देखिँदैन । कुनैले सबैले भन्दा राम्रो बोलेको छ संसदमा । अर्को मान्छे अर्कै कुरा गर्छ । त्यसकारणले पार्टी वैचारिक एकरूपतामा नआइकन पार्टी बनेको भनिँदैन । पार्टी इन मेकिङमा त्यो सुविधा दिनु पनि पर्छ । जनमत, नागरिक उन्मुक्ति पार्टी पनि बनिरहेका पार्टी हुन् । यिनले ठोस आकार लिन बाँकी छ । वैचारिक रुपमा आकार दिन बाँकी छ । त्यसकारणले अहिले यि पार्टीको के कुरा मिल्छ त ? सत्तामा जानुपर्छ भन्नेकुरा मिल्छ । अघिल्लो सरकारलाई भत्काउनुपर्छ भन्नेकुरा मिल्छ । मिलेको यत्ति हो । बाँकी के के कुरा मिल्छ त भनेर हिसाबकिताब राम्रोसँग गर्न बाँकी छ ।
काँग्रेस महासमिति बैठकले आगामी निर्वाचनमा गठबन्धन नगर्ने, हिन्दु राष्ट्रको विषय उठाउनु नै गठबन्धन भत्किनु कारण हो त ?
माओवादीहरूको जनयुद्धलाई विध्वंशकारी भनेको एकदमै नकारात्मक रुपमा प्रस्तुत गरेको कुराले माओवादीलाई सबभन्दा ज्यादा छोएको हुनुपर्छ । तपाईले भनेका कुरा पनि होलान् । तर, महासमितको बैठकले माओवादीलाई झस्काएको पक्कै हुनुपर्छ । त्यहाँ माओवादीले तीनचोटी सोध्नुपर्ने खालका निर्णयहरू छन् नि त । भोलि यदि माओवादीको यात्रा टुट्ने हो भने त्यो यात्रा अहिले किन नटुटाउने भनेर माओवादी गएको पो हो कि ? यो त अनुमान हो फेरि । हामीले राजनीतिक रुपमा अनुमान गर्ने हो । महासमितिमा भइरहेको कुरा माओवादीसँगको यात्राको सामञ्जस्यता मिल्दैन थियो ।
अब काँग्रेसको रणनीति के होला ? नयाँ समीकरण बनाउन चलखेल गर्ने वा चुपचाप बसेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने ?
काँग्रेसका युवा नेताहरूले नयाँ बाटो तय गर्नेतिर जालान् । जुन गइ नै रहेका छन् । काँग्रेसका बुढा पुराना मान्छेहरूले चाहिँ हेरौँ एकचोटी भित्रै कहीँ फाटो पार्न सकिन्छ कि हेरौँ, फाटो पार्न सकिन्छ भने फेरि एकचोटी गठबन्धन किन नगर्ने ? जे कुरा एमालेले अफर गरेको छ, त्यो भन्दा बढ्ता कुरा काँग्रेसले अफर गर्यो भने त आउला कि ? भन्ने खालको हिसाबकिताब पनि गर्ला । त्यहाँ भित्र पनि युनिफर्म ढंगले कुरा जाला भन्ने लाग्दैन । युवाहरू एकापटी होलान् । बुढाहरू अर्कोपटी होलान् जस्तो लाग्छ ।
नयाँ गठबन्धनलाई केही सुझाव छन् ?
घरीघरी गठबन्धन फेर्ने कुराले आम जनतामा ठिक म्यासेज गइरहेको छैन । यिनीहरू सत्ता जता पायो त्यता त्यता कुद्ने खालको हो । जहाँनिर सुप पाकेको छ त्यहीँनिर हाम फाल्ने कुरा भयो भन्ने सन्देश भइराखेको छ । त्यसकारणले गठबन्धन यही बनाउने हो भने यसैलाई टिकाउ । घरीघरी गठबन्धन फेर्नु छ भने कारण जनतालाई खुलस्त रुपमा बताउ । मैले यो कारणले गठबन्धन फेरेँ । जनताले तर्कसंगत ढंगले ठिक, बेठीक भन्ला ।
अहिले नेपाललाई रूपान्तरण चाहिएको छ । नेपालमा संविधान भन्दा नेताहरू ज्यादै पुड्को देखियो । संविधानमा धेरै राम्रो कुराहरू छन् । त्यो व्यवहारमा कार्यान्वयन नै भएन । शिक्षा, स्वास्थ्य, रोजगारीको कुरा, बासको कुरा धेरै कुरा लेखिएको छ । जुन यदि कार्यान्वयन हुने हो भने नेपाल स्वर्ग जस्तो बन्छ । संविधानमा सर्वसम्मत ढंगले लेखेको छ, त्यो त कार्यान्वयन गर्नु । जनतालाई आश्वस्त पार्नु, संविधान कागजको खोस्टो होइन । लेखेको कुरा अक्षरश कार्यान्वयन हुन्छ भन्ने कुरा मेरो सुझाव हो । दलितसम्बन्धी, बधुवा श्रम सम्बन्धी सबै बारे छन् । संविधानको धाराहरुलाई कार्यान्वयनमा ल्याउनुपर्यो ।
अहिलेसम्म रूपान्तरण भन्नेकुरा सिंहदरबार वरिपरि मात्रै घुम्यो । शहर, बजार वरिपरि मात्रै घुम्यो । यो गाउँमा गएन । गरिब वर्गकोमा त जाँदै गएन । गरिखाने वर्गलाई छुँदै छोएन । परिवर्तन शहरमा मात्रै घुमिराख्ने परिवर्तनलाई जनताले गणतन्त्र भनेको होइन । गणतन्त्र भनेको त्यहाँ पनि पुग्ने परिवर्तन हो । गरिब जनताको जीवनमा हेरफेर आउने परिवर्तन खोजेको हो । भूमिसुधार गरेर, कृषि क्रान्ति गरेर, औद्योगिक सुधार गरेर त्यहाँ पुग्नुपर्यो । संघीयता भनेको छ काम सबै केन्द्रीयताको भइराखेको छ ।
परिवर्तन गरिबलाई आवश्यकता परेको हो । गरिखाने वर्गलाई, गाउँलाई आवश्यक परेको हो परिवर्तन त्यहाँ पुग्नुपर्यो । नेताहरूको नैतिक चरित्र उदाहरणीय हुनुपर्यो । आम जनताको के छ भने नेताहरूको भन्ने शब्द सुन्नासाथ गाली सुरु हुन्छ । त्यो किन भएको ? त्यसलाई उल्ट्याउनु पर्यो नि । नेताहरू उदाहरणीय नभएर भएको हो । दश वर्ष अगाडि त्यस्तो थिएन । त्यसकारण, नेताहरु उदाहरणीय भएर प्रस्तुत हुनुपर्यो । नैतिकवान, चरित्रवान् हुनुपर्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।