सिंहदरबारमा बजेटको चटारो

काठमाडौं– सिंहदरबारमा बजेटको चटारो सुरु भएको छ । संविधानमा तोकिएअनुसार आगामी आव ०७५÷७६को बजेट सार्वजनिक गर्न अब ५६ दिन मात्रै बाँकी छ । त्यसैले पनि अर्थ मन्त्रालका कर्मचारी बजेटको तयारीमा जुटेका छन् । 

अहिले अर्थ मन्त्रालयका कर्मचारी बजेटको तयारीका लागि विभिन्न तालिम तथा कार्यक्रममा व्यस्त छन् । मन्त्रालयको माहोल नै फेरिएको छ । ‘बजेट निमार्णकै तालिम र कार्यक्रमका लागि अहिले धेरै सरहरूबाहिर जानुभएको छ,’ अर्थ मन्त्रालयअन्तर्गतकोे बजेट महाशाखाका एक कर्मचारीले भने, ‘अब बजेट आउने वेलासम्म सरहरूलाई भेट्न गाह्रो छ ।’

मन्त्रालयमा बजेटको सुरक्षाका लागि भन्दै ढोकामा ‘लक’ राखिएको छ । पार्किङबाट छिर्न मिल्ने सानो ढोका पनि बन्द छ । मूल गेटबाट छिर्न पाए पनि अब केही महिना सीधै चाहेको कोठामा जान पाइँदैन । दायाँ र बायाँ जाने दुवै गेटमा अहिले कार्ड लक राखिएको छ । ‘अब त कार्ड देखाएर मात्रै भित्र जान पाइन्छ,’ मन्त्रालयकै एक अधिकारीले भने, ‘बजेटको तयारी गर्दा मान्छेको आवत–जावत बढ्छ, भिड हुन्छ भनेर ढोका हालिएको हो ।’

‘हामीलाई पनि कार्ड दिइएको छैन, सबैलाई कार्ड दिएपछि अरूलाई सोझै छिर्न नदिने होला,’ अर्का एक कर्मचारीले भने । लक सिस्टम भएपछि भने कार्ड रिड गरेपछि मात्रै ढोका खुल्ने व्यवस्था गरिएको छ । मन्त्रालयले सबै कर्मचारीलाई कार्ड उपलब्ध गराइसकेको भने छैन ।  

योजना आयोग पनि मन्त्रालयगत छलफलको तयारीमा रहेको छ । राष्ट्रिय परिषद्को बैठक सकिएपछि योजना आयोगले मन्त्रालयगत छलफलमा बोलाउने अर्थमन्त्रालयका कर्मचारीले भने । 

योजना आयोगले एक महिनासम्म विभिन्न मन्त्रालयसँग छलफल गरेर बजेटको खाका बनाउनेछ । त्यसैको आधारमा अर्थमन्त्रालयले बजेट तर्जुमा गर्छ ।
उता, अन्य मन्त्रालयमा समेत बजेटका विषयमा छलफल चलिरहेको छ । ‘अहिले मन्त्रालयमा विभिन्न विभागसँग बजेटबारे छलफल चलिरहेको छ,’ कृषि मन्त्रालयका एक कर्मचारीले भने, ‘केही दिनमा योजना आयोगसँग मन्त्रालयको छलफल गर्ने तयारी छ ।’



उनका अनुसार अहिले सबै मन्त्रालयले सम्बन्धित विभागसँग छलफल गरिरहेका छन् । योजनासहितको छलफलका लागि १५ चैतमा तयार हुन योजना आयोगले सबै मन्त्रालयलाई सूचना पठाएको उनले दाबी गरे । 

‘आज २० गते भइसक्यो, उनीहरूले १५ चैतभित्रै योजना रेडी बनाउन भनेका थिए, तर अहिलेसम्म छलफलका लागि भने बोलाएको छैन,’ उनले भने ।
‘योजना आयोगले हरेक मन्त्रालयको पनि सिलिङ तोकेको हुन्छ, त्यही सिलिङभित्र रहेर, कार्यक्रम र बजेटसहितको योजना पेस गर्छन्,’ अर्थका एक कर्मचारीले भने, ‘त्यसैको बीचमा योजना आयोगमा छलफल हुन्छ ।’ 



योजना आयोगले भने दुईदिने विकास परिषद्को बैठकपछि बजेटमा लाग्ने बताएको छ । पन्ध्रौँ योजनालाई अन्तिम रूप दिन बुधबारदेखि सोल्टी क्राउन प्लाजा होटेलमा विकास परिषद्को बैठक चलिरहेको छ । 

आयोगले आगामी आर्थिक वर्षको लागि बजेटको सिलिङ यसअघि नै तय गरिसकेको थियो । मध्यकालीन खर्च संरचनामा १५ खर्बको बजेट सिलिङ निर्धारण गरेको थियो । स्रोत समितिले पनि १४ खर्ब ९३ अर्बको बजेटको सिलिङ अर्थ मन्त्रालयलाई पठाइसकेको छ । 

चालू आर्थिक वर्षको परिमार्जन पछिको बजेटभन्दा यो १५ प्रतिशतले बढी हुने गरी सिलिङ निर्धारण गरेको हो । अर्थ मन्त्रालयले सुरुमा छुट्याएको बजेटभन्दा यो १३ प्रतिशतले बढी हो । 

  • प्रकाशित मिति : चैत २०, २०७५ बुधबार १७:४०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया