Mon, 22 Apr, 2019


१० वर्षपछि नाटक गर्न लागेका अशेष मल्लको लेखः पहिले नाटक गर्नु यज्ञ गर्नु जस्तै हुन्थ्यो, अहिले हराएको छ
अशेष मल्ल
फरकधार / चैत २१, २०७५

मैले नौ दस वषअघि पछिल्लो नाटक गरेको थिएँ— भिक्षाम देही । अब अर्को नाटकको तयारी गरिरहेको छु– अर्को कुरुक्षेत्र । 

एउटा सर्जक आफ्नो जिन्दगीमा जति सिर्जना गरिरहन्छ, त्यसको जति महत्व छ, त्योभन्दा बढी उसले आफू पछिको सर्जक कति जन्माउँछ ? भन्ने  कुरा महत्वपूर्ण हो । 

बालकृष्ण समले नेपाली रङ्गमञ्चलाई ठुलो योगदान दिनुभएको छ तर उहाँले अर्को बालकृष्ण सम जन्माउन किन प्रयत्न गर्नु भएन ? मलाई यहि प्रश्नले बारम्बार सताइरहन्थ्यो । 

म नाटक लेख्छु, निर्देशन पनि गर्छु । तर, मैले आफैंलाई प्रश्न गर्छु— मैले मात्र कहिलेसम्म गर्ने ? मैले मेरो पछिको नयाँ जनेरेसन उत्पादन गर्ने कि नगर्ने ?

त्यसैले मैले आफूले जानेको कुरा मेरा भाइ पुस्तालाई दिनुपर्छ भन्ने सोचले गर्दा नै मैले नाटक लेख्न र निर्देशन गर्न कम गरेँ । अर्थात्, मैले आफूले जानेको कुरालाई सिकाउनमा नै बढी समय दिएँ । त्यसैले नाटक लिएर दर्शक माझ आउन ढिलो भयो । यसको अर्थ यो होइन कि मैले नाटक लेख्दिनँ, निर्देशन गर्दिनँ । 

यो ८/१० वर्षको समयमा मैले धेरै थिएटरमा चलिरहेका नाटकहरु पनि हेरेँ । पहिलेको नाटक र अहिलेका नाटकमा धेरै परिवर्तन आएकोे महसुस पनि भयो । 

अहिलेको नयाँ पुस्ता निकै सिर्जनशील छन् । प्रस्तुतिका दृष्टिले निकै राम्रा राम्रा नाटकहरु नयाँ पुस्ताले गरिरहेको छ । पहिलाको पुस्तामा नाटकमा मेहनत हुन्थ्यो तर विभिन्न प्राविधिको अभावले गर्दा भने जस्तो नाटक प्रस्तुति गर्न कठिनाइ हुन्थ्यो । अर्को कुरा त्यो बेला विश्वमा चलिरहेका रङ्गमञ्चको प्रवृत्ति, नाटकहरु हेर्ने, पढ्ने मौका नै पाइँदैनथ्यो । 

अहिलेको युग डिजिटल युग हो, हामी संसारभरको नाटक युट्युबमा हेर्न सक्छौँ । त्यति मात्र होइन अहिले विभिन्न अन्तरािष्ट्रय नाट्य महोत्सव भइरहेका छन् यसमा थुप्रै नाटकहरु हेर्न सक्छौँ र आजका नाटकको प्रवृत्ति के छ भन्ने प्रत्यक्ष रुपमा हेर्न र बुझ्न सक्छौँ । पहिले त्यस्तो अवस्था थिएन । एउटा निर्देशकले आफ्नो कल्पना कै भरमा नाटक गर्नुपर्ने अवस्था थियो । त्यसैले नयाँ पुस्ताले गरेको प्रस्तुतिहरु यी अभावबाट मुक्त छन् । 

कुनै पनि सर्जकले सिर्जनाका लागि अरु सर्जकहरुको कृतिहरु पढ्नै पर्छ । नाटकहरु हेर्नै पर्छ । विश्वमा कुन धारका नाटकहरु चलिरहेको छ, त्यसलाई हेर्नैपर्छ । यो अर्थमा अहिलेको पुस्तालाई निकै सजिलो भइरहेको छ । 

अध्ययनको कुनै सीमा नै हुँदैन । त्यसैले अध्ययन सधैं भइरहनुपर्ने चीज हो, गरिरहनुपर्ने चीज हो । र, अहिलेका पुस्तालाई अध्ययन गर्ने बातावरण छ ।

तर, बिर्सनु हुँदैन, अरुको नाटक वा सिर्जनासँग होइन, आफ्नै नाटकबाट पनि फरक हुनुपर्छ । जहाँसम्म मेरो नाट्य प्रस्तुतिको प्रवृत्ति छ ः मितव्ययी रङ्गमञ्च, यसलाई मैले छोड्ने पक्षमा छैन । अब गर्ने नाटकमा पनि मैले मितव्ययी रङ्गमञ्च नै अपनाउँछु ।

मितव्ययी रङ्गमञ्च थोरै सेट, आर्थिक भारको मात्रै प्रश्न होइन । रङ्गमञ्च भनेको मेरो विचारमा कला मात्र होइन । यो विज्ञान पनि हो । यसको सम्बन्ध अर्थशास्त्रसँग पनि छ । यसको महत्वपूर्ण कुरा भनेको व्यवस्थापन हो । एउटा नाटक तयार गर्न कुन हदसम्म व्यवस्थापनलाई प्रयोग गरेका छौँ, त्यो महत्वपूर्ण हुन्छ । यी सबै मिलाएपछि एउटा रङ्गमञ्च बन्छ । नाटक बन्छ । 

अहिलेका नाटकहरुमा निकै भव्य–भव्य सेटहरु निर्माण भइरहेका छन् तर कहिलेकाँही त्यसले अर्को नाटक गर्नका अप्ठ्यारो सिर्जना गर्न सक्छ । आर्थिक दृष्किोणले नेपालमा अहिले भव्य–भव्य सेट गरेर नाटक गर्ने अवस्थामा हामी छैनौं । एउटा नाटकमा भव्य सेट लगाएर तयार गरौंला तर दोस्रो नाटक कसरी गर्ने ? 

त्यसैले रङ्गमञ्चमा न्यून भन्दा न्यून प्रविधिहरु प्रयोग गरेर नाटक गर्ने जुन प्रवृत्ति (मितव्ययी रङ्गमञ्च) छ मैले त्यसलाई नै अपनाउदै आएको छु, अपनाउछु र अपनाउनेछु । 

अर्को महत्वपूर्ण के पनि छ भने एउटा रङ्गकर्मी जीवनमा चौबिसै घण्टा नाटक खेलेर बाँच्न सक्दैन । रङ्गकर्मीले समयको व्यवस्थापन गर्न सकेन भने एउटा नाटकलाई दिएको टाइम अर्को नाटकलाई दिन सक्दैन । मैले ख्याल गर्ने भनेको यही हो अर्थात् रङ्गकर्मीको समय । रङ्गकर्मीको समयलाई ख्याल गरेर मैले नाटक गर्छु, मेरो सिद्धान्त यहि हो । मितव्ययी रङ्गमञ्चको मूल कुराहरुमध्येको यो पनि हो । अर्थात्, सहज रुपमा नाटकको निर्माण हुनुपर्छ भन्ने मेरो मान्यता हो । त्यसैले नाटकलाई कम्प्लिकेटेड बनाउनुहुँदैन भन्ने मेरो मान्यता हो । 

मितव्ययी रङ्गमञ्च अभावले जन्माएको हो । 

यूरोपमा पनि शून्य रङ्गमञ्चमा नाटक हुन्छ । उनीहरुमा धेरै प्रविधिको एक्सेस छ, हामी केही प्रयोग गर्दैनौँ । तर, फरक के छ भने हामीसँग छैन र प्रयोग गर्दैनौ तर उनीहरुसँग भएर पनि प्रयोग गर्दैनन् किनभने उनीहरु नाटकमा नयाँ प्रयोग गर्न चाहन्छन् । 

पहिलाको रङ्गमञ्च र अहिलेको रङ्गमञ्चमा धेरै भिन्नता छ । पहिला वर्षमा  एउटा दुइटा नाटक मात्र गरिन्थ्यो । त्यो नाटक भनेको एउटा कठीन काम हो भने जस्तो, नाटक भनेको मन्दिर, पूजा हो । मन्दिरमा पूजा गरेजस्तो, अनुष्ठान गरेजस्तो, ओमरुद्री गरे जस्तो त्यसैले एउटा नाटक रिहर्सल गर्न महिनौँ दिनको तयारी हुन्थ्यो । त्यहाँबाट पैसा आउने र पाउने त प्रश्नै छैन । त्यसलाई एउटा साधनाको रुपमा लिइन्थ्यो । अहिले पनि नाटक गरिन्छ तर अहिले नाटक व्यवसायतिर ढल्केको छ । व्यवसायिकता हुन सकेको छैन तर पनि व्यवसायतिर ढल्केको छ । त्यसैले अहिलेको समयमा साधनाको रुपमा धेरै कम देखिन्छ । अहिले प्रसस्त अध्ययन पनि छ । प्रविधिको पर्याप्त सम्भावना पनि छन् तर साधनाको तुलनामा एकदमै कम छ ।

पहिला नाटकलाई यज्ञ गर्नु, अनुष्ठान गर्नु जस्तो रुपमा लिइन्थ्यो भने अहिले त्यसरी पूरा समर्पित भएर नाटकमा लागिदैन । पहिला पनि अहिले पनि नाटकमा कलाकारहरुको निरन्तरता छैन । निरन्तर रुपमा नाटकमा लाग्ने कलाकारहरुको कमी छ । यसका पनि आफ्नै कारण छन् । अहिले एउटा राम्रो पक्ष के छ भने रङ्गमञ्चका कलाकारहरुलाई सिनेमामा स्थान दिन थालिएको छ । यसले गर्दा कलाकार बाँच्ने आधार निर्माण भएको छ । 

हामीमा थिएटर कल्चरको रुपमा बसिसकेको छैन । रङ्गमञ्च संस्कृति बसेको छैन । विकसित मुलुकमा रङ्गमञ्च संस्कृति सयौ वर्षदेखि स्थापित छ । एउटा व्यापारी व्यापारबाट थाकेर आएपछि नाटक हेर्छ, एउटा इन्जिनियर, डाक्टर, वकिल आदि सबै आप्mनो काम सकेर नाटक हेर्ने गर्छन् । तर हामीमा अझै पनि त्यो कल्चर बसिसकेको छैन । यूरोपतिर सिनेमाको टिकट एकदमै सस्तोमा पाइन्छ तर नाटक हेर्नु भनेको निकै महङ्गो पैसा तिरेर हेर्नुपर्छ । कैयौं महिनादेखि टिकट बुकिङ् गर्नुपर्ने हुन्छ । किनभने त्यहाँको समाजले त्यसलाई सम्मान गर्ने स्थिति भइसकेको छ । तर हामीमा त्यो अवस्था छैन ।

नेपालमा अहिले भर्खर नाटक हेर्ने कल्चर बस्दैछ । त्यो पनि यूवाहरुमा मात्रै सीमित छ । जबसम्म सपरिवार नाटक हेर्न आउँदैनन्, तबसम्म यो व्यावसायिक हुन सक्दैन । यो कल्चरका रुपमा बसाउनका लागि गरिने एउटै उपाय हो – निरन्तर रुपमा नाटक गर्नु । यसको प्रचार प्रसार गरेर पनि हुँदैन । त्यसैले नाटकलाई कल्चरको रुपमा र व्यवसायिक रुपमा विकास गर्ने एउटा मात्र काम हो निरन्तर रुपमा नाटक मन्चन ।



यो पनि नछुटाउनुहोस्