होलीमा जथाभाबी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो ।
गए राति छाडिएकामा एक सय दुई पुरुष र तीन जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।
उनले भने, ‘फागु पूर्णिमाका दिन नियम विपरीत काम गर्ने उनीहरू नियन्त्रणमा लिएका थियौँ, उनीहरूको अवस्था हेरेर एक सय पाँच जनालाई गए राति उनीहरूको परिवारको जिम्मा लगाइएको छ । राति थप केही पक्राउ परेका छन्, उनीहरू सबैको हकमा छानबिन भइरहेको छ ।’
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई पाङ्ग्रे सवारी तीन सय वटा र चार पाङ्ग्रे सात वटा सवारी साधनलाई नियन्त्रणमा लिई ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ ।
लापसे, मापसे गरी सवारी साधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाइ सवारी चलाएको अभियोगमा उनीहरूलाई सवारी साधन नियन्त्रणमा लिइएको हो ।
फागु पूर्णिमा अर्थात् होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले हिजो आइतबार उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागू गरेको थियो । विभिन्न ठाउँमा ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।