अत्यधिक गर्मी हुने शहरको पहिचान बनाएको नेपालगञ्जमा अहिले ‘कुलिङ सेन्टर’ निर्माण प्रारम्भ भएको छ । वागेश्वरी मन्दिरको पूर्वपट्टि ‘चिल्ड्रेन पार्क’मा कुलिङ सेन्टर निर्माण थालिएको हो ।
तातो हावा लु प्रतिकार्य योजना कार्यान्वयनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन गरेको छ । नेपालगञ्जको बसपार्क, धम्बोझी र रामलीला मैदान क्षेत्रमा पनि कुलिङ सेन्टर बनाउने योजना छ ।
अमेरिकी रेडक्रसको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित तातो हावाको लहर ‘लु’ जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम अघि सारिएको हो । अत्यधिक गर्मी हुने तराईका अन्य शहरमध्ये धनगढीमा पनि यो कार्यक्रम सुरु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले ‘लु’लाई प्रकोपका रूपमा लिई त्यसविरुद्ध जुध्न ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइएको बताए । रेडक्रस क्लाइमेट सेन्टरका सहरी क्षेत्रविज्ञ रमिज खान, अमेरिकन रेडक्रसकी कार्यक्रम संयोजक उपमा ओझाले नेपालगञ्जले तातो हावाको लहर जोखिम न्यूनीकरणका लागि नेपालमै पहिलोपटक उल्लेखनीय र उदाहरणीय काम गरिरहेको भन्दै तराईका अन्य तीन सहरमा पनि उक्त कार्यक्रम लागू हुने प्रक्रियामा रहेको बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाले लु प्रतिकार्य योजना कार्यान्वयनका लागि कार्यविधि बनाउँदैछ । नेपालगञ्ज उपमहानगरपालिका लु प्रतिकार्य योजना लागू गर्ने देशको एक मात्र स्थानीय सरकार हो । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।