आमनिर्वाचनको मुखमा भ्रष्टाचारको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले अझै १५ दिन न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ ।
संघीय सरकारअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा रहेका उनलाई सोमबार दोस्रोपटक म्याद थप गर्दै जेल चलान गरेको थियो । दिल्लीको राउज एवेन्यु कोर्टले ईडीको मागबमोजिम उनलाई न्यायिक हिरासतमा राख्न थप अनुमति दिएको हो ।
ईडीले केजरीवालको घरबाट प्राप्त भएको डिजिटल डिभाइसको अध्ययन भइरहेको र उनले आफ्नो मोबाइलको पासवर्डसमेत नदिएको ईडीले अदालतमा जनाएको छ ।
अदालतको आदेशपछि केजरीवाल अब १५ अप्रिलसम्मका लागि तिहाड जेलमा रहनेछन् । उनी जेल परे पनि दिल्लीको सरकारमा नयाँ नेतृत्व छैन । उनले जेलबाटै सरकार सञ्चालन गरिरहेका छन् । सोही प्रकरणमा आपका नेताहरू मनिष सिसोदिया, सञ्जय सिंह र सत्येन्द्र जैन महिनौंदेखि उक्त जेलमा छन् ।
ईडीका अधिकारीले २१ मार्चको राति केजरीवाललाई उनको सरकारी निवासबाट नियन्त्रणमा लिएको थियो । यता केजरीवाल नेतृत्वको आम आदमी पार्टी र अन्य विपक्षी दलहरूले भने राजनीतिकरूपमा प्रेरित भएर मोदी सरकारले केजरीवाललाई पक्राउ गरेको आरोप लगाएका छन् ।
विपक्षी गठबन्धनले हालै दिल्लीमा विरोध सभा नै आयोजना गरेर चुनावको मुखमा त्रसित भएर भाजपाले यस्तो हर्कत गरेको आरोप लगाएको थियो । सरकारको यस्तो कार्यले मुलुकमा लोकतन्त्र संकटमा परेको उनीहरूको भनाइ छ ।
विपक्षी गठबन्धनले निर्वाचन आयोगलाई चुनावमा सबैलाई समान अवसर सुनिश्चित गर्नसमेत माग गरेको छ । ईडीले यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पनि पक्राउ गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।