लगानी सम्मेलनको एक सातासम्म थपिएन आवेदन

काठमाडौं– सरकारकाे अायाेजनामा सम्पन्न लगानी सम्मेलनको एक हप्ता बित्दासम्म लगानी बोर्डले सोकेस गरेका परियोजनामा लगानीकर्ताको आवेदन थपिएको छैन । गत चैत १५ र १६ गते भएको सम्मेलनको दुई दिनमा नै १७ विभिन्न परियोजनामा लगानीकर्ताले आवेदन दिएका थिए । 

तर, सम्मेलनपछिका दिनमा एउटा पनि आवेदन नपर्नुले लगानी सम्मेलनले लक्ष्यअनुरूप नतिजा प्राप्त हुन नसक्ने देखिएको छ । लगानी बोर्डले सम्मेलनमा नेपाल सरकारका तर्फबाट ५० र निजी क्षेत्रका तर्फबाट २७ गरी कुल ७७ परियोजना सोकेस गरेको थियो । बोर्ड आफैँले पहिलो चरणको अध्ययन गरेर अनुमानीत लागतसहित परियोजना सोकेस गरेको थियो ।

कृषि, शिक्षा तथा स्वाथ्य, ऊर्जा, औधोगिक पूर्वाधार, पर्यटन, यातायात र सहरी विकास गरी ७ क्षेत्रको विभिन्न परियोजना सोकेसमा राखिएको थियो । जसमा यातायात क्षेत्रमा ७, ऊर्जामा ४, कृषिमा ३, शिक्षा र स्वाथ्यमा २ तथा लजिस्टिकको एउटा परियोजनामा लगानीकर्ताले आवेदन दिएका थिए । तर, सम्मेलन सकिएपछि कुनै पनि आवेदन नआएको लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।
 
‘हामीले सम्मेलनमा आवेदन दिन केही सजिलो बनाएका थियौँ, केही पेजको आवेदन पनि स्वीकार भयो, त्यसैले धेरै आवेदन परेको देखियो । हामीले उनीहरूसँग परियोजनाको डिटेल पनि मागिरहेका छौँ,’ अधिकारीले भने, ‘अहिले निवेदनमा परियोजनाको डिटेल प्रपोजलसहित आउनुपर्ने भएकाले केही समय लगेको हुन सक्छ ।’ 

‘समयसीमा अझै बाँकी छ, अन्तिम चरणमा आवेदन आउँछ भन्ने लागेको छ,’ उनले थपे । बोर्डले अप्रिल २० सम्म सोकेस गरिएको कुनै पनि परियोजनामा लगानीका लागि आवेदन दिन पाइने समयसीमा तोकेको छ ।

यसअघिको लगानी सम्मेलनमा जस्तो, यसपटक भने सरकारले लगानीको प्रतिबद्धता स्वीकार गरेको थिएन । तर, आफैँले परियोजनाको अध्ययन गरेर लगानीकर्ताका लागि सहज बनाएको थियो । यसले अन्तर्राष्ट्रिय लगानीकर्ताको आर्कषण बढ्ने बोर्डको विश्वास थियो । तर, सम्मेलन सकिएसँगै लगानीकर्ताको चासो पनि घटेको छ ।

यी हुन् आवेदन परेका १७ आयोजना 



लगानी सम्मेलनको अन्त्यसम्म निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३ र तमोर जलविद्युत् आयोजना र काठमाडौंको बाहिरी चक्रपथका लागि २–२ आवेदन परेका थिए । 

यस्तै, काठमाडौंको मेट्रो रेल, पश्चिम सेती जलविद्युत्, बस र्यापिड ट्रान्जिट (बिआरटी) काठमाडौंका लागि १–१ आवेदन परेका थिए । यस्तै, एकीकृत कृषि परियोजना उर्लाबारी, एकीकृत कृषि परियोजना बनेपा–चितवन र एकीकृत कृषि परियोजना हेम्जाका लागि पनि १–१ आवेदन परेका थिए  । 



यसबाहेक धुलिखेल मेडिसिटी र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका लागि पनि १–१ आवेदन परेको बोर्डले बताएको छ । सम्मेलनमा सोकेस नगरिएको लजिस्टिक बल्क टर्मिनल र ५५० मेगावाट सोलार प्लान्टका लागि पनि लगानीकर्ताले आवेदन दिएका थिए । 

  • प्रकाशित मिति : चैत २४, २०७५ आइतबार १७:२४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया