logo-img

समाजवादको आधार तयार गर्न सत्ता उलटफेर गरेँ : प्रधानमन्त्री

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार गर्नका लागि आफूले सत्ता उलटफेर गरेको टिप्पणी गरेका छन् । 

समाजवादी मोर्चाको ‘नेपाली विशेषताको समाजवाद’ विषयक राजधानीमा मंगलबार आयोजित अन्तरक्रियामा उनले विगतको गठबन्धनबाट सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सम्भव नदेखेपछि सत्ता फेरबदल गरेको टिप्पणी गरेका हुन् । 

दाहालले हालै कांग्रेससँगको समीकरण टुटाएर एमालेसहितका चार दलीय गठबन्धन गरेका थिए । उक्त गठबन्धनमा सरकारको नेतृत्व गरेको माओवादीलाई एमाले, जसपा र रास्वपाले सघाएका छन् । अहिलेको गठबन्धनमा प्रभावशाली एमाले र माओवादी नाममा कम्युनिष्ट भएका पार्टी हुन् । नयाँ गठबन्धन आवश्यक रहेकोमा दाहालले जोड दिए ।

उनले भने, ‘नेपालको आर्थिक विकास र समृद्धि साथै जनतालाई दिएको आशा पूरा गर्न जुन गतिका साथ जानुपथ्र्यो, त्यो गति विगतको गठबन्धनबाट सम्भव नदेखेपछि मैले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसँगै समाजवादको आधार तयार गर्न गठबन्धन परिवर्तन गरेको हुँ । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि, यी तीन वटा विषयलाई गहिरिएर अध्ययन गर्ने हो भने नेपाली विशेषताका आधारमा समाजवाद तयार गर्ने कुरा अन्तरनिहित छ ।’

विभिन्न चुनौतीका बीच आफू प्रधानमन्त्री भएको उल्लेख गर्दै दाहालले विद्यमान धेरै सीमा र बाध्यताका बाबजुद भ्रष्टाचारविरुद्धको अभियान चलाउने जमर्को गरेको उल्लेख गरे । 

उनले भने, ‘थुप्रै चुनौतीका बीचबाट यो पटक म प्रधानमन्त्री भएर सुशासन, सामाजिक न्याय र समृद्धिको कोणबाट कामको सुरुवात गरेको थिएँ । सरकारी जग्गा व्यक्तिको नाममा लैजाने प्रवृतिलाई प्रहार गर्ने, तस्करीको प्रवृतिलाई प्रहार गर्ने जमर्को मैले गरेँ ।’



समाजवादको आधार तयार पार्ने विषय कम्युनिष्ट एकताबाट मात्र सम्भव रहेको उनको जिकिर थियो । 



  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया