हेटौंडा सिमेन्ट उद्योगले सिमेन्टको उत्पादन सुरु गर्न अझै एक हप्ताको समय लाग्ने भएको छ । करिब दुई हप्ताअघि उक्त उद्योगका केही उपकरण बिग्रिएर मर्मत सम्भार गर्न उत्पादन कार्य बन्द गरिएको थियो ।
अहिले विभिन्न उपकरणको मर्मत सम्भार गरिने भएकाले तत्काल कोइलाको अभावका कारणबाट उद्योग सञ्चालनमा ल्याउन कठिनाइ उत्पन्न भएको छ । सो उद्योगले अहिले रकम जुटाएर कोइला खरिद गर्न बोलपत्र आह्वान गरी थप कोइला ल्याउने कार्य भइरहेको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार उद्योगमा अहिले १ हजार ८ सय मेट्रिकटन कोइला रहेको छ । कोइला पर्याप्त ल्याइसकेपछि आगामी वैशाखको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन सुरु गर्ने तयारी भइरहेको पनि महाप्रबन्धक पाण्डेले उल्लेख गरे ।
हाल सो उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ चुनढुङ्गा धादिङका जोगीमारा, मकवानपुरको भैँसे खानीबाट दैनिक ढुवानी गरी ल्याइरहेको सो उद्योगका नायव महाप्रबन्धक नवीनकुमार कर्णले बताए ।
अहिले सो उद्योगमा सिमेन्ट प्याकिङको कार्य भइरहेको छ । करिब दुई लाख ७५ हजार बोरा सिमेन्ट काठमाडौं, भैरहवा, काठमाडौं, नेपालगञ्जलगायत विभिन्न सहरमा आपूर्ति गर्ने क्रममा उद्योगबाट कर्मचारी खटाइएको उद्योगका महाप्रबन्धक कर्णले जानकारी दिए ।
सो उद्योगमा साबिक सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको भएता पनि अहिले दैनिक १० हजार बोरा मात्रै उत्पादन रहेको छ । तत्कालीन सरकारले वि.सं २०३३ वैशाखमा हेटौंडाको लामसुरेस्थित उक्त उद्योगको स्थापना गरिएको थियो ।
तत्कालीन सरकारको १ अर्ब ५० करोड रुपैयाँको लगानीमा सो उद्योगको स्थापना गरी २६ मंसिर २०४३ बाट व्यावसायिकरूपमा सिमेन्टको उत्पादन गरिएको थियो । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।