logo-img

एनआरएनए विवाद : शर्मा समूहले भन्यो- ‘सर्वोच्चको फैसला मानेर एकताको महाधिवेशन गरौँ’

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा समूहले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै मनमुटाव त्यागेर एकता महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ । 

आइतबार भर्चुअल माध्यमबाट बसेको शर्मा समूहको बैठकले सबैले आ–आफ्नो इगो त्यागेर एकताको महाधिवेशन सफल बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिएको हो । बैठकलाई सम्बोधन गर्दै शर्माले भने, ‘साथीहरू सबैसँग मित्रवत् रूपमा अघि बढेर एकताको महाधिवेशन गर्नुपर्छ ।’   



उनले आफूहरू एनआरएनएमा देखिएको विकृतिविरुद्ध लड्दै आएको र आगामी दिनमा पनि खबरदारी  जारी राख्ने तथा संस्थाको जिम्मेवारी पाए पूरा गरिछाड्ने जिकिर गरे । 

बद्री केसी समूहले आफ्नो गल्तीलाई स्वीकार्न नखोज्दा र १० औँ महाधिवेशनदेखि नै इगो हाबी भएकाले संस्था अहिलेको खराब अवस्थामा पुगेको अड्डी उनले छाडेनन् । 

यसैगरी बैठकमा अभियन्ता महेश श्रेष्ठले जटिल परिस्थितिलाई बुझेर सर्वोच्चले फैसला गरेको र त्यसलाई सकारात्मकरूपमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए । 

‘१० औँ महाधिवेशनमा प्रतिनिधिको विवाद भयो । सोही विवाद मिलाउन सकिने भएपनि इगोले काम गर्‍यो’, उनले भने, ‘सर्वोच्चको फैसलाको मनसाय नै एकता छ । हाम्रो १० औँ महाधिवेशनदेखि नै जुन भावना थियो, त्यही भावना सर्वोच्चबाट आएको छ । इगो त्याग्न सकिएन भने अझै पनि एकता गर्न सकिने अवस्था छैन ।’



संस्थाको नयाँ नेतृत्वमा अहिलेको परिस्थिति निम्त्याउन भूमिका खेलेकालाई ल्याउन नहुनेतर्फ श्रेष्ठले सचेत गराए । यस्तै अर्का अभियन्ता गंगाधर गौतमले बद्री केसी, गौरीराज जोशी, हेमराज शर्मालगायतले अझै पनि अरूलाई दोषारोपण गरेर आफूलाई पानीमाथिको ओभानो देखाउन तल्लीन रहेको बताए । 

सर्वोच्च अदालतले गत बुधबार एनआरएनएको १० औँ र ११ औँ महाधिवेशन अवैध ठहर गर्दै २०७८ माघ १ को अवस्थामा फर्काइदिएपछि एनआरएनहरू यतिबेला तरंगित छन् । दुई दिनअघि बद्री केसी पक्षको बैठकले सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै पुनरावलोकनमा जाने निर्णय गरेको थियो । तर, शर्मा पक्षले भने सर्वोच्चको फैसला स्वीकार्दै एकताबद्ध एनआरएनए बनाउन जोड दिएको हो । 



आधिकारिकतासम्बन्धी विवादमा विनोद कुँवर पक्षको एनआरएनएले दिएको मुद्दामा सर्वोच्चबाट पछिल्लो फैसला आएकाले फैसलाअनुसार शेष घले नेृतत्वको १३ सदस्यीय कमिटीले एकताको महाधिवेशन सम्पन्न गराउनुपर्नेछ । 

  • प्रकाशित मिति : चैत २६, २०८० साेमबार १०:१५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया