logo-img

मातहतका महाशाखालाई मन्त्री चौधरीको निर्देशन- बजेट तारे होटलमा होइन ग्रासरुटमा पुग्नुपर्छ

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले जनस्तरमा पुग्ने गरी बजेट बनाउनुपर्ने बताएकी छन् । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक अल्पसंख्यकका सवालमा ग्रासरुटमै कार्यक्रम पुग्ने गरी बजेट निर्माण गर्न मन्त्रालय मातहतका महाशाखाहरुलाई निर्देशन दिइन । 

आर्थिक वर्ष २०८१।०८२ को बजेट निर्माण गर्दा विगतको परम्परागत शैलीभन्दा फरक र प्रभावकारी हुनुपर्ने भन्दै मन्त्री चौधरीले मन्त्रालयको बजेट बढाउन आफू लागि परेको बताउँदै महिला, बालबालिका र ज्येष्ठ नागरिक, अपाङ्गताका क्षेत्रमा स्थानीय तहसम्मै पुग्ने गरी कार्यक्रम तयार गर्न निर्देशन दिइन ।



मन्त्रालयमा आयोजित प्रि बजेट छलफलमा बोल्दै चौधरीले मन्त्रालयका सबै शाखा प्रमुखलाई बोलाएर जनताको घरदैलोमा पुग्ने बजेट तयार पार्नुपर्ने बताइन ।  ‘बजेट भनेको जनताको घरदैलोसम्म पुग्ने हुनुपर्छ । गोष्ठी, सेमिनार जस्ता तारे होटलमा खर्च गर्ने कार्यक्रम नबनाउनुस । दूर दराजमा रहेका जनताले प्रत्यक्ष अनुभव गर्ने बजेट आउनुपर्छ ।’ मन्त्रालयको बजेट सिलिङ बढाउन आफूले पहल गरिरहेको भन्दै चौधरीले कर्मचारीहरूले जनताको भावना बुझेर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिइन । 

महिलाहरूलाई समुन्नत बनाउन आफूले छोरी आत्मनिर्भर कार्यक्रम ल्याउने तयारी गरेको र त्यसमा अर्थमन्त्री र प्रधानमन्त्रीले समेत चासो राखेको जनाउँदै देशका ७५३ वटै पालिकामा महिला मन्त्रालय पुग्ने जिकिर गरिन । एक अर्ब ५३ करोडको बजेटले सबै क्षेत्रमा काम गर्न नसकिने भएकोले नयाँ कार्यक्रम तयार पारेको भन्दै मन्त्री चौधरीले महिलाको हक–अधिकार संरक्षण र समतामूलक समाजको निर्माणका लागि विभिन्न कानुनी एवम् नीतिगत प्रयास भइरहेको पनि बताइन ।

राज्यले न्यायमा महिलाको पहुँच हुन नसक्नुका कारणहरूलाई उजागर गर्दै आवश्यक कानुनी तथा संरचनागत प्रयास गरिएको भन्दै मन्त्री चौधरीले जनताले फरकपन महसुस गर्ने गरी बजेट बनाउन सबै विभागीय प्रमुखलाई निर्देशन दिइन । उनले जनताबाट आएका सल्लाह सुझाव, सांसद तथा मन्त्रीहरूबाट आएका योजनाहरूलाई प्राथमिकीकरण गरी बजेट तर्जुमा गर्न निर्देशन दिइन । 





  • प्रकाशित मिति : चैत २६, २०८० साेमबार १४:१९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया