सडक आन्दाेलनमा रहेकाे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । राप्रपा राजसंस्था र हिन्दूराज्य पुनस्थापनासहित ४० बुँदे माग राखेर मंगलबार आन्दोलनमा उत्रिएकाे छ ।
साे आन्दोलनमा आफूहरुमाथि दमन गरेको भन्दै राप्रपाले गृहमन्त्रीको राजीनामा माग गरेको हो । प्रदर्शनपछि आयोजित कोणसभामा सो पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आजबाट गृहमन्त्रीकाे राजीनामाको माग पनि थपेर लैजाने बताए ।
आजको प्रदर्शनमा भएको प्रहरी दमनको विरोध गर्दै उनले भने, ‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनामा राख्ने छौँ । आजबाट गृहमन्त्रीले राजीनामाको माग पनि थपेर लैजान्छ । आजबाट ४० बुँदेमा एक बुँदा थपियो ।’
भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीसहित नेता कार्यकर्ता पक्राउ परेका छन् ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी काण्डमा संलग्न रहेकाे भन्दै गृहमन्त्री लामिछानेकाे राजीनामा माग गर्दै आएकाे छ । लामिछानेकाे ठगी आराेपबारे छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले संसद अवराेध गर्दै आएकाे छ । सदनमा कांग्रेस र सडकमा राप्रपाकाे दबाब थेग्न गृहमन्त्री कति सक्षम हाेलान्, त्याे आगामी दिनमा देखिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।