logo-img

गहिरिँदै पानीको संकट, सुक्दै मुहान

चैत सकिएर वैशाख लाग्दैछ । नयाँ वर्षले हर्षोल्लास ल्याउनुपर्ने बेला गत फागुन अन्त्यदेखि नै बढ्दै गरेको पानीको हाहाकार झन् चर्किँदै गएपछि महोत्तरीका बासिन्दा चिन्तित बन्न थालेका छन् । 

अहिले नै पानी नपाइँदा अब वैशाख, जेठको प्रचण्ड रापमा के होला भन्ने चिन्ताले यहाँ सर्वसाधारण पिरोलिएका छन् । जरुवा सुके, इनारमा पानीको सतह गहिरिँदै छ । खानेपानीका धारा चल्न छाडेका छन् ।

यहाँ सदाकाल भुलभुल गर्दै पातालको पानी निकाल्ने भूल (जरुवा पानीका मुहान) वरपर कमिलाका ताँती देखिन्छन् । जिल्लामा भुल्के पानीको प्रसिद्धि पाएका बर्दिवास–१२ को जुडी र भङ्गाहा–४ पलारको जोकाहा भूल (जरुवा) सुकेका त चार/पाँच वर्ष नै भइसक्यो । जुडी र जोकाहाको भुलको पानीको सिँचाइ हुने भनेपछि धान, गहुँ उत्पादनमा नम्बरी (उम्दा) मानिएका खेत अब बर्खाको पानी नभेटुञ्जेल गखरक्क रहन्छन् ।  

‘यो उही जुडीटोल हो भन्ने पत्याउन पनि खै के खै के जस्तो हुन्छ, बाह्रैमास पानी चल्ने जुडी जरुवामा अब नयाँ पुस्तालाई यहाँ पानीको मूल (भूल) थियोभन्दा उदेक मान्छन्,’ बर्दिवास–१२ का सामाजिक, राजनीतिक कार्यकर्ता ७५ वर्षीय प्रमोदकुमार सिंह भने, ‘यही जुडी भुलको परिचयले यहाँका खेत उम्दा मानिन्थे, अब कथाजस्तो भयो ।’ 

यसैगरी जोकाहा भुल (जरुवा) सुकेको पनि पाँच वर्ष नाघिसकेको पलारका ८० वर्षीय चौठी बाँतर बताउँछन् । ‘जोकाहा भूलकै बाँधबाट एक सय बिघाभन्दा बढी जग्गामा सिँचाइ पुग्थ्यो, जोकाहा जरुवा थाहा पाएका बटुवा यहाँको पातालबाट भुल्कने पानी खान तिर्खा साँचेर यहाँ आउँथे, देख्दादेख्दै सबै कथाजस्तो भयो’, उनले भने ।  

यी जस्तै जिल्लाका जिबछी, कुटमेश्वरी, पानीखोल्सी, हर्दी, झिल र भुताहासहितका भुलभुले पानीका जरुवा सबै मरे । कतै पानी देखिन्न । पोखरी, तलाउको धनी मानिने जिल्लाका धेरैजसो यस्ता स्रोत सुकेका छन् । जिल्लाका दक्षिणी भेगका पोखरीमा अझै केही पानी देखिएपनि उत्तरी क्षेत्रमा नामनिशान देखिँदैन । 



‘पोखरी, डबरा (खाल्डा) सबै सुके, पशुवस्तुलाई नुवाइधुवाइ गराउन छाडियो’, भङ्गाहा–४ रामनगरका ६० वर्षीय महारुद्र चौधरी थारूले भने, ‘अब कठिन दिन आउँदैछन् जस्तो लाग्छ ।’ 

यसैगरी अहिले चैत नसकिँदै खानेपानीका स्रोतका मुहान पनि सुक्दै जाँदा खानेपानीको सङ्कट बढ्दो छ ।  ‘हेर्नुस् न, धारामा पानी झर्नै छाड्यो’ घरआँगनको खानेपानी धाराको टुटी खोल्दै बर्दिबास–२ की गृहिणी नगिना महतोले भनिन्, ‘अब नुवाइधुवाइ, सरसफाइको कुरै छाडौँ, घाँटी भिजाउने पानी पनि पाइने छाँट देखिँदैन ।’ चैत नबित्दै बनेको यो अवस्थाले वैशाख/जेठको दुबो मर्ने तापमा के होला ? भन्ने नगिनाको थप चिन्ता छ । दिनहुँजसो बिहानपख धारा मर्ने गरेको नगिना बताउँछिन् ।  



बर्दिवासका खानेपानी धारा जडित वस्तीमा सबैतिर पानीको अभाव बढेको छ । चुरे शृङ्खलाका खोचबाट निस्कने नदी, खोल्साखोल्सी र जरुवा पानीका मुहानबाट पाइप ओछ्याएर पानी भण्डारण गरी  धाराबाट वितरण गरिँदै आइएका वस्तीमा अहिले पानी आउन छाडेको हो । ‘धारामा कतिखेर पानी आउला भनेर बाटो हेरिन्छ,’ बर्दिबास–१४ की सुनिता साहले भनिन्, ‘पानी बढी चाहिने बिहानपख नै धारा मा पानी आउँदैन ।’ अरू आवश्यकता जे जसरी टारिए पनि पानी नै नपाइँदा त सास अल्झाउनै नपाइने पो हो कि भन्ने चिन्ताले पिरोल्न थालेको सुनिता बताउँछिन् । 

जतिखेर पनि पानी आइरहने धारामा अब त कतिबेला पानी आउँछ भनेर ताक पर्खनु पर्ने भएको गृहिणी बताउँछन् । बर्दिवास नगर क्षेत्रका १, २, ३, ४, ५, १०, ११ र १४ का वडावस्ती खानेपानी धारामा आश्रित छन् । वडा नम्बर ६, ७, ८, ९, १२, १३ मा यसरी टङ्कीमा भण्डारण गरेर धाराबाट वितरण गरिएसँगै इनार पनि विकल्पमा प्रयोग गरिन्छन् । अहिले नदी, खोल्साखोल्सी र जरुवा पानीका मुहान सुक्दै गएर पानी भण्डारण घट्दा वितरणमा समस्या आएको हो । यसैगरी इनारको पानीको सतह पनि दिनदिनै गहिरिँदै गएपछि मोटरले पानी तान्न छाडेको बर्दिबास–१२ का रामविलास सिंह कुशवाहा बताउँछन् । 

‘मोटरले त तान्न छाड्यो, अब त डोल पनि डुब्दैन’, कुशवाहाले भनिन् । मोटरले पानी तान्न छाडेर डोल (बाल्टिन) झार्दा त्यो पनि डुब्न छाडेको बिजलपुराबासी बताउँछन् । जिल्लाभरि नै पानीको सतह गहिरिँदै गए पनि उत्तरीक्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रका एक सयभन्दा बढी टोलवस्तीमा अहिले खानेपानीको समस्या बढेको छ । नदी, खोल्साखोल्सी र जरुवाका मुहान सुक्दै गएपछि पानी निकै कम भण्डारण भइरहेको हुँदा पहिलेजस्तो पर्याप्त पानी धारामा आउन छाडेको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष भोजप्रसाद फुयाँल (शङ्कर) स्वीकार गर्छन् । 

यद्यपि वस्तीवस्तीमा पालो मिलाएर धारामा पानी दिँदै आइएको उनको भनाइ छ । ‘पानीका स्रोतका मुहान नै सुकेका छन्, यसले गर्दा पानी कम हुनु त स्वाभाविक नै भयो’, फुँयालले भने, ‘हामी मुहान सफा गर्ने र वैकल्पिक उपायको अवलम्वनमा लागेका छौँ ।’ 

सामान्यतया प्रत्येक वर्षजसो वैशाख/जेठमा पानीको सङ्कट झेल्दै बेहोर्दै आएका जिल्लाको उत्तरी क्षेत्रका बासिन्दा यसपालि भने फागुन अन्त्यदेखि नै पानी कम हुन थालेपछि ठूलो खडेरी पर्नसक्ने चिन्ताले पिरोलिएका छन् । नदी, पानीखोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि यसपालि वैशाख लाग्दा नलाग्दै खानेपानीको हाहाकार पर्नसक्ने यस भेगका सर्वसाधारणको चिन्ता छ । 

भङ्गाहा–४ मा विगतमा खानेपानीको मुख्य स्रोत रहँदै आएको चापाकल पछिल्ला पाँच/छ वर्षदेखि कवाडी बनेका रामनगर वस्तीका ३० वर्षीय रामईश्वर ठाकुर बताउँछन् । ‘चापाकल त चल्नै छाडे, सबै खिया लागेर कवाडी बनेका छन्,’ ठाकुरले भने । 

बर्दिबास नगरपालिका क्षेत्रका धेरैजसो वस्तीमा नदी, खोल्साखोल्सी र जरुवाको पानी सङ्कलन गरेर भण्डार गरिएको पानी धाराबाट सर्वसाधारणलाई वितरण गरिँदै आइएको छ । यसपालि हिउँदे वर्षा नहुँदा नदी, खोल्सी र जरुवाका मुहान चाँडै सुक्दा फागुन अन्त्यदेखि नै घर–घरमा वितरण गरिएका धारामा पानी घटेको हो । 

‘हाम्रो धारामा आउने पानीको स्रोतका मुहान सुक्दै गएका छन् , त्यसैले यसपालि अलि चाँडै धारामा पानी घटेको हो,’ बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भुलनबहादुर सेनले भने, ‘तर, हाहाकारकै स्थिति चाहिँ बनेको हैन ।’ 

बर्दिबास नगर क्षेत्रका बिजलपुरा, भेडियारीटोल र मेघरोलसहितका केही वस्तीमा खानेपानीको स्रोत चापाकल, पशुपतिनगर, बिजलपुरा, प्रेमनगर, किसाननगर र हाथीलेटका केही वस्तीमा इनार प्रयोग हुँदै आएका छन् । अहिले धमाधम चापाकल सुक्दैछन् भने इनारमा पानीको सतह निकै गहिरिएको छ ।

त्यसैगरी भङ्गाहा र गौशाला नगरक्षेत्रका दक्षिणी भेगमा खानेपानीका स्रोत इनार र चापाकल रहँदै आएका छन् । यहाँका चापाकल र इनार पनि सुक्दै गएका गौशाला–९ भरतपुरका शिवशरण राय बताउँछन् । ‘चापाकल धमाधम सुक्दैछन्,’ आफ्नो आँगनको चापाकल देखाउँदै रायले भने, ‘अब यसपालि पछिपछि पानी ओसार्न बयलगाडा जोत्नु पर्लाजस्तो छ ।’ यता पानी पाइन छाडेपछि बयलगाडा जोतेर टाढाटाढाबाट ड्रममा पानी ओसार्ने पुरानै चलन हो ।

भङ्गाहाका दक्षिणी भेगका वस्तीमा अहिले नै पानीको हाहाकार नपरे पनि वडा नम्बर–४ र ५ का १० भन्दा बढी वस्तीमा पानीको सङ्कट चुलिँदै छ । वडानम्बर–४ का प्रेमनगर, रामनगर, टोका, पलार र वडा नम्बर–५ का धतियाटोल, राजपुर, भूचक्रपुर, कुम्हालटोल र चौधरीटोलमा चापाकल कुनै कामलाग्ने स्थितिमा नरहेका धतियाटोलका सामाजिक कार्यकर्ता सुपतलाल यादव बताउँछन् । ‘अब यी वस्तीमा चापाकल फेल (असफल)  भयो, अहिलेलाई इनारले बचाइ राखेको छ,’ यादवले भने, ‘इनारमा पनि माथिबाट हेर्दा पानी देखिन छाडेको छ ।’ यसैगरी रामनगर, प्रेमनगर र टोकाटोलका चापाकल यसअघि नै कवाडी बनेका स्थानीय बताउँछन् ।

भङ्गाहा नगर क्षेत्रका ४ र  ५ नम्बर वडा बस्तीहरूमा बर्सेनि गर्मी याममा खानेपानीको सङ्कट पर्दै आएको छ । ‘लगभग दुई दशकअघि होला, १५/१६ हातभन्दा बढी इनार खन्न सकिँदैनथ्यो, पानीको मूल भेटिन्थ्यो, अब ती पुराना इनार सबै सुके,’ भङ्गाहा–४ रामनगरका ५८ वर्षीय गङ्गाराम महतो भन्छन्, ‘अब त ६० हात नपुर्‍याइ पानी भेटिँदैन, किन यस्तो भएको होला ?’

यसैगरी चुरे पहाडी वस्तीमा पनि खानेपानीको समस्या बढेको छ । जरुवा पानीका मुहान सुक्दै गएपछि समस्या बढेको काछबासी बताउँछन् । चुरे पाहाडि काछमा बर्दिबास नगरपालिका–३, ४, ५, १० र ११ नम्बर वडामा ४० भन्दा  बढी बस्ती छन् । पाखा वस्तीका सबैको गर्मीयाममा खानेपानी सङ्कट झेल्नु समान पीडा बनेको छ । ‘पहिलेपहिले यहाँका खोल्सी र जरुवा कहिल्यै सुक्दैनथे, सधैं सदाबहार पानी चल्थ्यो,’ बर्दिबास–४ माइस्थान शिरका ७० वर्षीय रामबहादुर रानाले भने, ‘पछिल्ला केही दशकयता नदी, पाखा र बगर पर्ति जग्गामा बालु ढुङ्गा झिक्न ठूलठूला यन्त्र चल्न थालेपछि अनुकूल वर्षा हुन छाडेर पानीका मुहान सुकेका जान्ने बुझ्ने बताउँछन् ।’

वन उजाडिँदै जानु र अवैध उत्खनन् नियन्त्रण हुन नसक्दा पानीका मुहान सुक्ने गरेका विज्ञको भनाइप्रति आफू सहमत रहेको राना बताउँछन् ।  त्यसैगरी खानेपानीको स्रोत इनारमात्र भएका बर्दिबास–८ को हाथीलेटमा पर्ने विजयवस्तीमा इनारको पानी सुक्दै गएपछि त्यहाँका बासिन्दा समस्यामा परेका छन् । यसबाहेक हाथीलेट वस्तीमा पनि खानेपानीका धारामा पानी निकै कम झर्न थालेको स्थानीय बासिन्दा भोला श्रेष्ठ बताउँछन् । यस्तै गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिंया र रामनगरमा धमाधम इनार सुक्न थालेपछि  चैत सकिनअघि नै खानेपानीको सङ्कट बढेको छ ।

खानेपानीका स्रोतका मुहानसँगै वस्तीवस्तीका सार्वजनिक पोखरी र डबरी (साना पोखरी) सबैजसो सुकेपछि बस्तुभाउको नुवाइधुवाइ र पानीघाटको सुविधा पाइन छाडेको छ । इनारको पानीबाहेक सिँचाइको अरू सुविधा नहुँदा आफूहरूको बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत सङ्कटमा परेको भङ्गाहा–४ रामनगर वस्तीकै किसान चन्देश्वर राय दनुवार बताउँछन् । 

जिल्लाका गाउँ नगर वस्तीमा अचेल २०३० सालयता पहिलेका वन मासेर रोपिएका इक्युलिप्टिस (मसला, सपेता) ले पनि पानीको मुहान सुकाउँदै लगेको सर्वसाधारणको अड्कल छ । मसला सघन रोपिएका क्षेत्रमा त्यसअघि रहेका सदाबहार भूल (जरुवा) सबै सुकेका बर्दिबास–८ हाथीलेटका शेरबहादुर तामाङ बताउँछन् ।   

यसपालि हिउँदे वर्षा राम्ररी नभएको, यसै चैतको दोस्रो साताको क्षणिक वर्षाले पानीका मुहान रसाउन नसकेका र नदी क्षेत्रमा बालुढुंगा उत्खनन् गर्नेहरूले ठूलठूला गहिरा खाल्डा बनाउँदा पानीको संकट बढेको हो । यसैगरी चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिँदै जाँदा इनार र चापाकलमा पानीको सतह गहिरिँदै गएर चैत नसकिँदै पानीको संकट बढेको विज्ञ बताउँछन् ।   

‘हामी प्राकृतिक सम्पदाको उपयोग र संरक्षणको कुरामा धेरै लापरवाह भयौँ,’ महोत्तरीमा वर्षौंदेखि जलाधार क्षेत्र र चुरे संरक्षण अभियानमा जोडिँदै आएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादवले भने, ‘नदीहरूको अनियन्त्रित दोहन रोक्न, चुरे क्षेत्र र यहाँका जलाधार क्षेत्रको संरक्षण गर्न नसक्ने हो भने दिनदिनै यो संकट झनझन बढ्दै जानेछ ।’ 

वि.सं २०७४ यता स्थानीय तहमा जनप्रतिनिधिले काम गर्न थालेपछि खानेपानीका थुप्रै योजना बनेर धमाधम इनार खनिए पनि खानेपानीको समस्या भने झन्झन् बढ्दै गएको छ । इनार धमाधम खनिए पनि खानेपानीका स्रोत र मुहानको संरक्षण हुन नसक्दा नयाँ खनिएका इनार चाँडै सुक्ने गरेका भङ्गाहा–७ मेघरोलका बासिन्दा चुरेविज्ञ डा. विजयकुमार सिंह बताउँछन् ।  

चुरे क्षेत्रका खोल्साखोल्सी, वन क्षेत्र, नदी, सिमसार क्षेत्र र पोखरी (तलाउ) पानीका मुख्य स्रोत भएका र खनिने इनारमा पनि यिनै स्रोतको प्रभाव हुने भएकाले यिनको संरक्षण एवं उपयोग नीति नबनेसम्म पानीको हाहाकार नटुङ्गिने डा. सिंह ठोकुवा गर्छन् । 

विगतमा राष्ट्रपति चुरे मधेश संरक्षण तथा विकास समितिमा आबद्ध रहनु भएका डा. सिंहले यस भेगका सबै स्थानीय तहको नेतृत्वलाई प्राकृतिक सम्पदाको उपयोग र संरक्षण नीति स्पष्ट बनाउन अपिल गर्दै आएका छन् । पछिल्ला केही वर्षयता जिल्लाका बाँके, मरहा, जङ्घा, भब्सी, रातु, बडहरीसहितका नदीबाट बालु, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वन विनाश बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा पानीका मुहान चाँडै सुक्न थालेका विज्ञको भनाइ स्थानीय तहले भने बेवास्ता गरेका सर्वसाधारणको गुनासो छ । यता स्थानीय तहका प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षण र उपयोग नीतिको स्पष्ट खाका बनाउन बेखबर नभएको बताएका छन् । 

‘हामी नदीनाला, नदीउकास जग्गा र अन्य प्राकृतिक सम्पदाको संरक्षण र तिनको दीर्घकालीन उपयोगका नीति कसरी बनाउँदा राम्रो हुन्छ भन्ने सघन छलफल गरी रहेका छौँ,’ भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साह भन्छन्, ‘विकास निर्माणका योजना र पूर्वाधार विकासका योजना छनौट गरिदा र कार्यान्वयमा लगिदा प्राकृतिक सम्पदाहरूको संरक्षणलाई ध्यान दिएका छौँ, यस्ता विषयमा पर्याप्त गम्भीरता अपनाइएको छ ।’ 
 
स्थानीय तहका प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान दिइएको र पानीका समस्या समाधान हुने बताउँदै आए पनि प्राकृतिक सम्पदाको उपयोग नीति स्पष्ट नपारेसम्म समस्या समाधान हुन नसक्ने चुरे, जलाधार तथा वन विज्ञको मत पाइन्छ । रासस

  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार १४:१४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया