नयाँदिल्ली– भारततीय लोकसभा चुनावअन्तर्गत पहिलो चरणको मतदान सुरु भएको छ । पहिलो चरणमा १८ राज्य र दुई केन्द्र शासित प्रदेशमा मतदान हुँदै छ, जहाँ १४ करोड २० लाख ५४ हजार ९ सय ७८ मतदाताले १ हजार २ सय ७९ प्रत्यासीमध्ये ९१ जनालाई सांसद चुन्नेछन् । १ लाख ७० हजार मतदान केन्द्रमा बिहानैदेखि मतदाताहरु लामबद्ध भएका छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।
पहिलो चरणमा आन्ध्रप्रदेश, अरुणाचल, मेघालय, उत्तराखण्ड, मिजोरम, नागाल्याण्ड, सिक्किम, लक्षद्वीप, अन्डमान र निकोबार द्वीप समूह र तेलंगनाका सबै लोकसभाका सिटमा मतदान जारी छ । यसै चरणमा असम, बिहार, छत्तिसगढ, जम्मु–कस्मिर, महाराष्ट्र, मणिपुर, ओडिसा, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका केही लोकसभा सिटका लागि पनि मतदान भइरहेको छ ।
चार प्रदेशमा विधानसभाको चुनाव पनि आजै हुँदै छ । आन्ध्रप्रदेशका १७५, अरुणाचल प्रदेशका ६०, सिक्मिका ३२ र ओडिसाका १४७ मध्ये २८ सिटमा विधानसभाका लागि मतदान हुन थालेको हो ।
आज मतदान भइरहेका ९१ लोकसभा सिटमध्ये ३३ सिटमा भाजपाको एनडिए र कांग्रेसको युपिए गठबन्धनबीच सोझो भिडन्त हुने राष्ट्रिय मिडियाहरुले गरेका सर्वेक्षणले देखाएका छन् । ३५ सिटमा तीनदेखि चार मुख्य राजनीतिक दलका प्रत्यासीबीच भिडन्त हुनेछ ।
आन्ध्रप्रदेशका २५ सिटमा तेदेपा, वाइएसआरसिपी, भाजपा र कांग्रेसबीच प्रतिस्पर्धा हुने सर्वेक्षणहरुले देखाएका छन् । उत्तर प्रदेशका ८ सिटमा भाजपा र कांग्रेससँगै अखिलेश यादवको सपा, मायावतीको बसपा र अजित सिंहको रालोदले उठाएका संयुक्त उम्मेदवारबीच त्रिपक्षीय टक्कर हुने देखिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।