Sun, 26 May, 2019


पहिले उनले बोके, अहिले झोलाले बोक्छ
फरकधार / चैत २८, २०७५

काठमाडौं– सधैँ बोकिरहेको झोलामा एक दिन एउटा स्टिकर देखियो । झोलाको भित्रपट्टिको सानो गोजीमा टाँसिएको स्टिकरमा लेखिएको थियो- ‘शिवाकोटी ब्याग उद्योग’ । लामो समयदेखि प्रयोग गरिरहेको झोला नेपालमै बनेको थाहा पाउँदा खुसी पनि लाग्यो ।

झोला किन्दा यो चाइनिज नै होला भन्ने लागेको थियो । हरेक सामानलाई चाइनिज ठान्ने मेरो सोचाइ यहाँ फेल भयो । यो झोलामा त ‘मेड इन नेपाल’ पो लेखिएको थियो ।

०००

शिवाकोटी ब्याग उद्योगको कथा २१ वर्षअघि सुरु हुन्छ । २०५४ सालमा दोलखाबाट काठमाडौँ आएका थिए सुदर्शन शिवाकोटी । रोजगारीको खोजीमा भौंतारिँदा भौंतारिदै उनले सडक किनारमा उभिएर झोला बेच्ने काम थाले ।

ब्याग बेच्दै उनी उपत्यकाका गल्लीगल्ली छिरे । पुराना दिन सम्झिँदै शिवाकोटी भन्छन्, ‘झोला बोकेर चापागाउँ, सातदोबाटो, लगनखेल, कोटेश्वर, भक्तपुर सबैतिर पुगियो ।’

घरको जेठो सन्तान भएका नाताले पनि उनीमाथि सम्पूर्ण परिवारको जिम्मेवारी थियो । त्यही जिम्मेवारी पूरा गर्न उनी १७ वर्षको उमेरमै काठमाडौंका गल्लीगल्लीमा झोला बेच्न हिँडेका थिए । 

सुदर्शन काठमाडौंमा मात्र होइन झोला बेच्नकै लागि पोखरादेखि बाग्लुङसम्म पुगेका छन् । ‘ब्याग बेचेर राम्रै नाफा हुन थाल्यो,’ सुदर्शन भन्छन्, ‘अनि काठमाडौंमा मात्र के बेच्नु भन्दै बेलाबेला बाहिर पनि गएँ ।’

सुदर्शनले दैनिक ८० वटासम्म ब्याग बेचे । तितामिठा अनेक अनुभव सँगाले । उनी चैत महिनाको एउटा दिन अझै सम्झिन्छन् । भन्छन्, ‘दिनभर ब्याग बेचेर साँझ कोठा फर्किएको थिएँ, साथीले कोठामा ताल्चा लगाएको रहेछ ।’ अहिलेजस्तो फोनको चलन थिएन । त्यसपछि उनी गए डल्लु चौतारमा रात बिताउन । त्यो रात उनले ओछ्यान, सिरानी र सिरक पनि ब्यागकै बनाएका थिए ।

सुदर्शन लगातार दुई वर्ष झोलाको भारी बोकेर घर–घर डुले । बेहिसाब हिँडाइले उनको खुट्टामा समस्या देखियो । त्यसपछि उनले बजार प्रतिनिधि भई काम गर्ने सोच बनाए । एक वर्षसम्म उनले झोलाको ‘मार्केटिङ म्यान’को रूपमा काम गरे । 

तीन वर्षको अवधिमा उनले झोला उत्पादनदेखि त्यसको बजारसम्म राम्रोसँग पहिल्याए । आम्दानी पनि राम्रै गरिसकेका थिए । अब उनलाई आफ्नै झोला उद्योग खोल्ने रहर जाग्यो ।

०००

झोला उद्योग खोल्न उनले भाइ खडानन्दलाई पनि साथ लिए । दाजुभाइ मिलेर ५० हजार रुपैयाँको प्रारम्भिक लगानी जुटाए । बागबजारमा दुई कोठा भाडामा लिएर २०५७ चैत १७ गते सुरु भयो ‘शिवाकोटी ब्याग उद्योग’ ।

‘दुई मेसिन र दुई मिस्त्री कोठाभित्र दिनभर चल्थे । हामी दाजुभाइ मार्केटिङमा जान्थ्यौं,’ सुदर्शन बताउँछन् । सुरुका लक्षित ग्राहक थिए विद्यार्थी । ‘स्कुल र कलेजका विद्यार्थीलाई कम मूल्यको झोला चाहिन्छ, हामीलाई पनि कम मूल्यको झोला उत्पादन गर्न सजिलो हुने,’ उनी सुनाउँछन् । 

उद्योग सुरु गरेको चार वर्षपछि सुदर्शनले घरेलु तथा साना उद्योगमा आफ्नो उद्योग दर्ता गराए । ‘नेपाली उत्पादन भनेपछि उपभोक्ताले पनि रुचाउन थाले,’ सुदर्शन सुनाउँछन्, ‘त्यसपछि अनामनगर र कोटेश्वरमा कारखाना विस्तार ग¥यौं ।’

कारखाना थपिएसँगै सुदर्शनको उद्योगले आफ्ना ग्राहकको दायरा पनि बढायो । अब स्कुल–कलेजका लागि मात्र होइन, उनले कारखानाले अफिस ब्याग, स्पोर्टस् ब्याग, लेडिज ब्याग पनि उत्पादन गर्न थाल्यो ।

शिवाकोटी ब्यागले राम्रै बजार लिएपछि उनको नजर अब अन्तर्राष्ट्रिय बजारतर्फ मोडियो । अहिले शिवाकोटी ब्याग भारतमा पनि उत्पादन हुन्छ । भारतमा उत्पादन हुने ब्याग युरोपसम्म पुग्ने बताउँछन् सुदर्शन । भारतको कारखानामा अहिले वार्षिक एक लाखजति ब्याग उत्पादन हुने गरेको सुनाउँछन् सुदर्शन ।

करिब एक दर्जन ‘स्टाइल’का ब्याग उत्पादन गर्ने उद्योगले वार्षिक २५ हजारभन्दा बढी ब्याग उत्पादन गर्छ । चारजना महिलासहित १५ जनाले रोजगारी पाएका छन् । 

५० हजार लागतबाट सुरु भएको उद्योगले अहिले वार्षिक करिब १ करोडको कारोबार गर्छ । कुनै समय झोला बेच्दै हिँड्ने सुदर्शन अहिले उद्योगपति भएका छन् ।

पहिले झोला बोकेर उनी गल्लीगल्ली हिँडे, अहिले झोलाले उनलाई बोकेर हिँडिरहेको छ । फुटपाथ व्यापारीबाट झोला उद्योगसम्मको यात्रामा उनी लगनशीलताका साथ हिँडिरहे, हिँडिरहेकै छन् ।
 


यो पनि नछुटाउनुहोस्