झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले रोग नियन्त्रणका लागि औषधि खुवाउने अन्तिमपटकको अभियान आज सुरु हुँदैछ । कोशी प्रदेशका १४ जिल्लामध्ये झापामा हात्तीपाइलेको समस्या छ ।
झापाका १५ वटै पालिकाको एक सय ३१ वडामा नौ लाख ६१ हजार ८ सय ६१ जनालाई वैशाख १६ देखि ३० गतेसम्ममा औषधि खुवाउने अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले बताए । कोशी प्रदेशका झापाबाहेकका १३ जिल्लामा हात्तीपाइले निवारण भइसकेको छ ।
हाल झापामा दुई सय ८० जनाभन्दा बढी रोगी पहिचान भएका छन् । पहिचान नभएका रोगीको सङ्ख्या अझ धेरै हुनसक्ने उनको अनुमान छ । हात्तीपाइले रोग नियन्त्रणका लागि धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तुमा पनि आजै अभियान सञ्चालन हुँदैछ । सामुदायिकस्तरको सङ्क्रमण नरोकिएकाले झापामा औषधि सेवन अभियान सञ्चालन गरिएको कार्यालय प्रमुख बाराकोटीले बताए ।
यस वर्ष एकपटक, अन्तिमपटक’ नाराका साथ सञ्चालित अभियानलाई सफल बनाउन झापामा ७ सय ५० स्वास्थ्यकर्मी र ६ सय ६ जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । स्वास्थ्य कार्यालयकाअनुसार हालै जिल्लाको दक्षिणी क्षेत्रस्थित झापा गाउँपालिकामा गरिएको एक अध्ययनले लामखुट्टेको शरीरमा हात्तीपाइले रोग सङ्क्रमण गराउने परजीवीको सङ्ख्या एक दशमलव ४४ प्रतिशत पाइएको थियो ।
कचनकबल, अर्जुनधारा, मेचीनगरमा हात्तीपाइलेका रोगीको सङ्ख्या अधिक छ । गत वर्ष झापामा ७८ प्रतिशत जनसङ्ख्याले हात्तीपाइले निवारणका लागि औषधि सेवन गरेको थियो । यसपटक ९५ प्रतिशतलाई खुवाउने लक्ष्य छ ।
वैदेशिक रोजगारीमा गएका झापाका ६ जना त्यहाँ हात्तीपाइले रोगको पहिचान भएपछि रोजगारी गुमाएर स्वदेश फर्कनुपरेको छ । मेचीनगरका तीन, बाह्रदशीका दुई र कचनकबलका एकजना मलेसियाबाट नेपाल फर्किएका हुन् । झापामा १२ वर्षदेखि सरकारले हात्तीपाइलेविरुद्ध औषधि खुवाउने अभियान सञ्चालन गर्दै आएको छ ।
चिकित्सकहरूका अनुसार हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने एक प्रकारको सङ्क्रामक रोग हो । मसिनो धागो आकारको जुकाजस्तै परजीवीको सङ्क्रमणले यस्तो रोग लाग्छ । सङ्क्रमण भएको आठदेखि १३ महिनामा मात्र रोगका लक्षण देखा पर्छ । यो रोग लागेकाको खुट्टा, अण्डकोष र स्तन सुन्निन्छ । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।