एकताका लागि नेकपा नेताहरु गोप्य बैठकमा, माधव नेपाललाई फकाएर अगाडि बढ्ने ओलीको दाउ

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकताका टुङ्ग्याउन जुटेका छन् । केही दिनयता उनीहरुले अन्य नेताहरुलाई साथमा राखेर यसबारे घनीभूत छलफलमा जुटेको नेकपाका एक नेताले बताए । 

तर, यी दुई नेतालाई अर्का नेता माधवकुमार नेपालका सर्तले समस्यामा पारेको छ । दुवै जना माधव नेपाललाई फकाएर अगाडि बढ्नेमा सहमत छन् । तर, नारायणकाजी श्रेष्ठ, वामदेव गौतमलगायत नेताको समर्थन पाएका नेपाल आफ्ना कुराबाट पछाडि नहट्ने अडानमा छन् ।

अर्कोतिर, आफूनिकट नेताहरुलाई समेत बोलाएर माहोल आफ्नो पक्षमा पार्न ओली लाग्न थालेका छन् । वैशाख दश गते पार्टी एकता गरेर सरप्राइज दिने उद्घोष गरेकाले आफू पछाडि हट्नै नहुने उनले सोच बनाएको उनीनिकट एक नेताले बताए । यो कुरामा ओलीले प्रचण्डलाई ‘कन्भिन्स’ गरिसकेको ती नेताले फरकधारसँग बताए । 

पार्टीमा पोलिटब्युरो सदस्य, जिल्ला अध्यक्षहरूको चयनको विषयलाई लिएर चर्को विवाद छ । पार्टी अध्यक्ष पार्टीको विधि, विधान अनुसार काम नगरेको आरोप पनि छ । 

अरु केही नेताहरुको साथ पाएपछि पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल ‘एन्टी’ बनेका छन् । ओलीले आफ्नो ढंगले काम गर्न थालेको आरोप लगाउँदै आएका उनले पछिल्लो समय प्रचण्डमाथि पनि प्रश्न उठाउन थालेका छन् । तर, यी सबै कुराहरु हुँदा पनि पूर्वमाओवादी नेताहरु कसैले पनि केही कुरामा मुख खोलेका छैनन् । 

प्रचण्ड र एकाधबाहेकका पूर्वमाओवादी नेताहरुले ओलीलाई साथ दिएकाले माधव नेपाल रुष्ट बनेका छन् । अर्कोतिर प्रचण्ड र पूर्वमाओवादी अन्य नेताहरु अहिलेलाई पार्टी एकता प्रक्रिया टुङ्ग्याउने विषयमा केही नबोल्नेमा सहमत छन् । ‘उहाँहरु एकता भइसके पछि पार्टीमा आफ्नो लाइन बलियो बनाउने पक्षमा हुनुहुन्छ,’ ती नेताले फरकधारसँग भने, ‘अहिले चाहिँ जसरी हुन्छ एकता प्रक्रिया टुङ्ग्याउँ भन्ने निष्कर्ष माओवादी नेताहरुको हुनसक्छ ।’



तर, प्रचण्डहरुबारे माधव नेपाल समूहले निष्कर्ष निकालेको छ– ओलीकै प्रस्तावलाई समर्थन गर्ने हो भने उहाँहरु आफ्ना नेता बढी कमिटीमा घुसाउन सकिन्छ भन्ने निष्कर्षमा पुगेका छन् । 

नेपाल समूहका नेताहरु केपी ओलीको ज्यादतीमा प्रचण्ड साक्षी बसेको आरोप लगाउँदै प्रश्न गर्छन्– केपी ओली पेल्दै जाने, प्रचण्ड चुप लागेर बस्न मिल्छ कि मिल्दैन ? यसैगरी चुप लागेर बस्ने हो भने उहाँको भूमिकामाथि प्रश्न उठ्छ कि उठ्दैन ? 



तर, यस विषयमा ओली निकट नेताहरुले केही प्रतिक्रिया दिएका छैनन् ।

माधवकुमार नेपाल निकट मानिने स्थायी कमिटी सदस्य वेदुराम भुसालले माधव नेपाल समूहले पार्टी एकताको लागि दुईओटा मान्यता अगाडि सारेको जानकारी दिए । फरक धारसँग कुरा गर्दै उनले भने, ‘दुईवटा मान्यता छ । एउटा मापदण्ड र अर्को व्यक्ति छनोटको कुरा हो । माधव कुमार कमरेडको कुरा भनेको मापदण्डमा जानुपर्छ भन्ने हो ।’ 

अहिले अर्का अध्यक्ष प्रचण्डलाई साथ लिएर केपी ओली ‘स्वेच्छाचारी’ बन्दै गएको नेपाल पक्षको आरोप छ । नेताहरूले पार्टीभित्र एक व्यक्ति एक पद लागु गर्नुपर्ने र अध्यक्ष ओलीले पनि सरकारको मात्रै जिम्मेवारी लिनुपर्ने बताएका छन् । सरकारको नेतृत्व लिने र पार्टीको कुनै पनि ठाउँमा प्रभावकारी रूपमा कार्यसम्पादन गर्न नसकेको आरोप नेपाल निकट अर्का नेताको आरोप छ । 

फरकधारसँग ती नेताले भने, ‘सरकारको नेतृत्व लिने र पार्टीको जिम्मेवारी पनि लिँदा कुनै पनि ठाउँमा प्रभावकारी रूपमा कार्य सम्पादन हुन सकेको छैन, अब ओली कमरेडले पार्टी नेतृत्व छोड्नेबारे सोच्दा हुन्छ ।’ प्रधानमन्त्री भएकाले ओलीले पार्टी नेतृत्व छोड्दा हुने नेपाल निकट नेताहरुले माग राख्न थालिसकेका छन् । नेपाल निकट एक नेताले भने, ‘एक व्यक्ति एक पद तलदेखि माथिसम्म लागु गरिनुपर्छ, सरकारको मात्रै जिम्मेवारी लिएर पार्टीको कामकारवाही अर्का अध्यक्षलाई सुम्पनुपर्छ ।’ 

अर्कोतिर यी सबै मुद्दाहरु छलफलबाट नै टुङ्गोमा पुर्याउन सकिने निष्कर्ष अन्य नेताहरुको छ । ‘एकतामा अहिलेसम्म नमिलेका विषयहरुलाई टुङ्गोमा पुर्याउन अध्यक्षद्वयले काम गरिरहनु भएको छ, यो अब छिट्टै टुङ्गिन्छ,’ स्थायी कमिटी सदस्य सुभास नेम्वाङले फरकधारसँग बताए । 

तर, अहिले कमिटी मर्ज गर्दा जिल्लाको नेतृत्वमा आफ्नो वर्चश्वमा राख्न प्रयासरत रहेकाले नेपाल समूहले विधि, वरियताको कुरा उठाएकोले एकता ओलीले भनेजस्तै १० वैशाखअगाडि नै सकिएला भन्नेमा आशङ्का उब्जिएको छ । 

अर्कोतिर, ओली जिल्लाहरुमा आफूलाई कमजोर बनाएर अगाडि बढ्न चाहँदैनन् । अहिले एकता प्रक्रिया सकेलगत्तै महाधिवेशनको चर्चा चल्न थाल्ने र त्यसमा आफूलाई कमजोर महसुस गर्ने ढंगबाट अहिले अगाडि बढ्न चाहँदैनन् ओली । 

त्यसैले पार्टी एकतामा थप भद्रगोल हुँदै गएको नेकपाका उच्च तहका नेताहरुले आभास गर्न थालिसकेका छन् । 

  • प्रकाशित मिति : चैत २९, २०७५ शुक्रबार १३:५८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया