logo-img

घले गाउँ कसरी बन्यो ‘टुरिस्ट हब’ ? [भिडियोसहित]

करिब तीन दशकअघि स्याङ्जा सिरुबारीबाट सुरु भएको थियो– गाउँ पर्यटन अर्थात् होमस्टे । घले गाउँको सफलताले अहिले होमस्टे थपिनेक्रम बढेको छ । ग्रामीण प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको होमस्टे पछिल्लो समय लोकप्रिय बन्दै गएको छ ।

हाल नेपालमा ग्रामीण पर्यटन (होमस्टे) ‘कल्चर’ बढ्दोक्रममा छ । हिमाल, पहाड र तराईका दूरदराजमा पनि धमाधम होमस्टे सञ्चालनमा आइरहेका छन् । सिरुबारीलाई हेरेर होमस्टेको विकास गर्ने धेरै गाउँ छन् । त्यसमध्येको एक हो– लमजुङको घले गाउँ ।

घले गाउँको नाम नसुनेको सायद कमै छन् । नेपालमा ग्रामीण पर्यटनको कुरा गर्नेबित्तिकै अग्रपङ्क्तिमा घले गाउँकै नाम आउँछ । लमजुङको उत्तरपश्चिममा पर्ने क्व्होलासोथार गाउँपालिकामा अवस्थित घले गाउँ नेपालकै पहिलो स्मार्ट भिलेज पनि हो । घले गाउँ सार्क राष्ट्रको ‘नमूना गाउँ’ को रूपमा समेत परिचित छ । 

कसरी बन्यो घले गाउँ ‘पर्यटनको हब’ ?

समुन्द्री सतहदेखि २ हजार १ सय मिटर उचाइमा रहेको घले गाउँलाई होमस्टेको रूपमा विकास गर्ने श्रेय प्रेमबहादुर घलेलाई जान्छ । उनले सिरुबारी हेरेर घले गाउँलाई होमस्टेको रूपमा विकास गरेका हुन् । समाजमा अहिले पनि लाहुरेलाई विशेष नजरले हेरिन्छ । उनीहरूलाई इज्जत, पैसा, बहादुरीसँग तुलना गरिन्छ ।



बुढेसकालमा पेन्सन आउँछ । परिवार पाल्न सजिलो हुन्छ । नातिनातिना पढाउन सजिलो हुन्छ भन्ने मान्यता छ । घले गाउँ पनि त्यसबाट अछुतो थिएन । घले गाउँका मानिस रोजगारीका लागि भारतीय सेनामा भर्ती हुन्थे । प्रेम पनि भारतीय सेनामा भर्ती हुन पुगेर फर्केका थिए । उनले स्याङ्जाको सिरुबारीमा घरमा पाहुना राख्ने गरेको सुने । गाँस र बास दिएबापत पैसा लिने गरेको सुनेपछि प्रेमको मनले मानेन र उनी त्यो विषयमा बुझ्न सिरुबारी नै पुगे । 



सिरुबारीमा होमस्टेको बारेमा बुझिसकेपछि गाउँ फर्केर उनले घले गाउँमा पाहुना राख्ने योजना बनाए । ‘सिरुबारीको हेरेरै मैले घले गाउँलाई होमस्टेको हब बनाएको हो,’ प्रेम भन्छन्, ‘टाढाको पाहुना बोलाउँछु । घरमा बसाउँछु र गाउँलाई ५ पैसाको मुख देखाउँछु भन्ने सोच आयो ।’ उनले गाउँलेसँग सल्लाह गर्न खोजे तर गाउँले उनको योजनामा सहमत भएनन् । गाउँले सहमत नभए पनि उनले हार मानेनन् । प्रेमले गाउँमा पाहुना बोलाउन थाले । काठमाडौं, पोखराका सरकारी कर्मचारी घले गाउँ आउन थाले । खाना र बस्न दिएबापत केही पैसा दिएर जान्थे ।

समुद्री सतहदेखि २१ सय मिटर उचाइको घलेगाउँमा विस्तारै पाहुना आउन थाले । यहाँ गाउँमा घले, गुरुङ र विक समुदायको बाहुल्य छ । प्रकृति, संस्कृति र रहनसहन देखाएर, गाउँमै उत्पादित खाद्य पदार्थ खुवाएर उनीहरूले आम्दानी गर्न थाले । घले गाउँबारे देशविदेशमा प्रचार हुँदै गयो । प्रेमकै पहलमा २०६४ फागुनमा घले गाउँलाई दक्षिण एसियाको नमूना गाउँ (सार्क भिलेज) घोषणा भयो । घले गाउँ २०७० मा पनि सार्क भिलेज बन्न सफल भयो । उनका अनुसार घले गाउँमा सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायतको आधारभूत सुविधा पुगेका छन् । सोहीअनुसार घले गाउँलाई १७ मंसिर २०७६ मा स्मार्ट भिलेजको सुरुवात भएको घोषणा गरियो । 

वर्षा ऋतुले बिदा लिएर शरद ऋतुको प्रवेशसँगै घले गाउँमा पाहुनाको लर्को लाग्न थाल्छ । प्राकृतिक सुन्दरता नियाल्न, ग्रामीण जीवन र जीवनशैली अनि घले–गुरुङ संस्कृतिको अवलोकन गर्न पर्यटक घले गाउँ पुग्ने गरेका प्रेम बताउँछन् ।  

उनका अनुसार गाउँमा आएका पर्यटकलाई स्वागत तथा सम्मान र बिदाइमा सेतो टीका, फूल, फूलको माला, गुच्छा र  खादा लगाइन्छ । पर्यटकलाई गुन्द्रुक, मकै, भटमास, कोदोको सेलरोटी, चियालगायत लोकल परिकार खुवाइन्छ । साथै पर्यटकका लागि गुरुङ संस्कृति झल्किने गीत तथा नाच प्रस्तुत गरी भरपूर मनोरञ्जन दिलाइन्छ । पाहुना तथा पर्यटकलाई समाज घरमा लगेर गुरुङ सँस्कारमा आधारित कृष्णचरित्र नाच, घाँटु, घ्याब्रे, लामा, सोरठीलगायत विभिन्न परम्परागत नृत्य प्रस्तुत गर्नु घले गाउँवासीको परम्परा हो ।

होमस्टे अर्थात् प्रकृति र संस्कृतिलाई जोगाउने थलो

होमस्टे विश्व पर्यटनको एक महत्त्वपूर्ण अंशको रूपमा विकास हुँदै गएको छ । यसलाई ग्रामीण क्षेत्रका मानिसलाई सचेत गराउने र नागरिकको आर्थिक अवस्था सुधार गर्न यसलाई औजारको रूपमा लिने गरिएको छ ।  नेपालमा घले गाउँजस्ता धेरै गाउँ छन्, जसलाई पर्यटकीय गाउँको रूपमा विकास गर्न सकिन्छ । घलेगाउँबाट सिकेर नेपालका गाउँमा होमस्टे सञ्चालन गरेर प्रचारप्रसार गर्न सके नेपालको पर्यटनको लागि ठूलो टेवा पुग्ने प्रेम बताउँछन् । 

हुन पनि होमस्टेले पर्यटनको विकास मात्र नभएर नागरिकलाई स्वरोजगारको बाटो पनि देखाएको छ । नेपालको पर्यटनको सम्भाव्यता र आकर्षण भनेको प्रकृति र संस्कृति नै प्रमुख हुन् । यसलाई बचाउने र संरक्षण गर्ने कार्य होमस्टेबाट मात्र सम्भव भएको प्रेमको तर्क छ ।

होमस्टेमा देखिएका कमीकमजोरीलाई पनि सुधार गर्दै लैजाने र नियमित अनुगमन गर्ने हो भने अबको समृद्धि होमस्टेबाट सम्भव छ । यसलाई बहुआयामिक विकासको औजारका रूपमा प्रयोग गर्न सकिनेमा उनको जोड छ ।  

नेपालमा मात्रै होइन, अमेरिका, अस्ट्रेलिया, युरोपलगायत शक्तिशाली देशमा व्यापार र मनोरञ्जन उद्देश्यले होमस्टेलाई विकास गरेको पाइन्छ । त्यसकारण जहाँ विकास आवश्यक छ, त्यहाँ होमस्टे पुग्नुपर्छ मान्यता राख्छन्, होमस्टेका अभियान्ता घले । उनका अनुसार होमस्टे विकास र समृद्धिको बलियो आधार हो ।

प्रस्तुत छ, प्राकृतिक सौन्दर्यका साथै मौलिक कला, परम्परा र सांस्कृतिक पक्षले धनी घले गाउँको पृष्ठभूमि, होमस्टे कसरी ग्रामीण विकासको औजार बन्छलगायत विषयमा केन्द्रित रहेर फरकधारका लागि रेखा श्रेष्ठले ग्रामीण पर्यटन (होमस्टे) का अभियन्ता प्रेमबहादुर घलेसँग गरेको कुराकानी :

  • प्रकाशित मिति : वैशाख २१, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया