नयाँदिल्ली– भारतमा लोकसभा चुनावको चटारो छ । सात चरणमा हुने मतदानको पहिलो चरण सकिएको छ । बाँकी चरणमा मतदान हुने क्षेत्रका उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा भोट हाल्ने बनाउन अनेक हतकन्डा अपनाइरहेका छन् । चुनावी अभियानका दौरान पार्टीहरुबीच खिचातानी र छेडछाड चलिरहेकै छ ।
भोट माग्न विभिन्न वाचा र प्रलोभन देखाउने चलन त पुरानै हो । आफूलाई भोट नदिए, गलत मान्छेलाई जिताए दुःख पाइन्छ भनेर घुर्कयाउनु पनि सामान्य हो । तर, उत्तर प्रदेशका एक उम्मेदवारले भने मतदातालाई अचम्मको धम्की दिएका छन् ।
उन्नाव जिल्लाका भाजपा उम्मेदवार साक्षी महाराजले आफूलाई भोट नदिने मतदातालाई ‘आफ्नो पाप दिएर जाने’ भन्दै चेताएका छन् ।
‘म एक संन्यासी हुँ । जब संन्यासी ढोकामा आउँछ त भिक्षा माग्छ, याचना गर्छ । यदि कसैले उसको याचना पूरा गर्दैन भने तपाईंलाई थाहै छ, संन्यासी गृहस्थीको पुण्य लिएर जान्छ, र आफ्नो पाप उसलाई दिएर जान्छ,’ उन्नावको जनसभालाई सम्बोधन गर्दै भाजपा सांसद तथा लोकसभा उम्मेदवार साक्षी महाराजले भने, ‘म सम्पत्ति माग्न आएको हैन, जमिन–पैसा माग्न आएको हैन, केही अरु वस्तु माग्न आएको हैन । केवल तपाईंको एक भोट माग्न आएको हुँ । यदि दिनुहुन्न भने आफ्नो पाप तपाईंलाई दिएर जानेछु ।’
उन्नावमा चौथो चरण (२९ अप्रिल) मा मतदान हुँदै छ ।
यसअघि, सुल्तानपुरमा मुस्लिम समुदायलाई सम्बोधन गर्दै केन्द्रीय मन्त्री मेनका गान्धीले यदि उनको जित मुसलमानको भोटविना भयो भने उनीहरुको समस्या नसुन्ने चेतावनी दिएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।