भारतमा जारी १७औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो चरणको खेल सकिनै लाग्दा सर्वाधिक रन बनाउने सूचीमा विराट कोहलीले अग्रता कायमै राखेका छन् ।
रोयल च्यालेन्जर्स बेंगलुरुबाट लिग खेलिरहेका कोहलीले १२ खेल खेल्दा सर्वाधिक पाँच अर्धशतक र एक शतकको सहयोगमा ६ सय ३४ रन बनाएका छन् । उनले यसपालि ओरेन्ज क्याप जित्ने सम्भावना बलियो छ ।
आइपिएलमा सर्वाधिक रन बनाउने खेलाडीलाई ओरेन्ज क्याप अवार्ड प्रदान गर्ने चलन छ । बेंगलुरुले अझै दुई खेल खेल्न बाँकी छ । कोहलीले सानदार ब्याटिङ गरिरहे पनि बेंगलुरुले अपेक्षाकृत प्रदर्शन भने गर्न सकेन । सिजनको सुरुवात खराब रहेकाले उसलाई अहिले प्लेअफमा पुग्न ठूलो संघर्ष गर्न परिरहेको छ ।
बेंगलुरु अहिले १० अंकका साथ सातौं स्थानमा छ । यस्तै, जारी सिजनमा ओरेन्ज क्याप दौडमा कोहलीलाई चेन्नई सुपर किंग्सका कप्तान रुतुराज गायकवाड र सनराइजर्स हैदराबादका ट्रभिस हेडले पछ्याइरहेका छन् ।
गायकवाडले अहिलेसम्म ११ खेलमा चार अर्धशतक र एक शतकको सहयोगमा ५४१ रन बनाएका छन् । यस्तै, हेडले ११ खेलमा चार अर्धशतक र एक शतकको मद्दतमा ५ सय ३३ रन बनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।