Sun, 16 Jun, 2019


[कविता] ‘धरतीको प्रसवपछि घामको सङ्कल्प’
भारती न्याैपाने दाहाल
फरकधार / बैशाख १, २०७६

नियालिरहेको 
अन्तिम झुल्को घाम 
आकाशको कुनोमा
क्षितिजले सर्लक्कै निलेको थियो हिजै मात्र। 



पश्चिमी वायु बिदाइको 
एक सुस्केरो श्वास ओकेलेर क्षुब्ध नयनले 
धरतीमा बिस्तारै प्रस्थान गरे झैँ लाग्यो। 
हात हल्लाएर बिदाइको साइतमा
सगुनको बिगुल बज्दै 
नादहरू सङ्गीत भर्दै ,
रङ्गीन साँझ झुमिरहेको थियो।

ओहो !
धरतीको गर्भिणी शरीरबाट 
प्रसूतिको पूर्वतयारी भव्य रहेछ।
पर्खाई अनन्त समयको समृद्धि र सुशासनको 
अनि थियो त्यहाँ पर्खाइ अन्धकारपछिको रोशनीको,
शङ्खनाद भयो भव्य भीडबाट सुनसान रातमा
जन्म दिएर शान्त थिइन् उनी ,
तर 
घडीको सुई बिस्तारै 
अन्त्यबाट प्रारम्भतिर लम्किरहेको बेला
शिशुहरू बालकथा लेखिरहेका थिए 
घामको पहिलो झुल्को आउनुअगावै।

अँगालोमा कसेर उही रातलाई राखौँ भने 
नयाँ दिनको उत्पात प्रतीक्षा थियो मभित्र पनि।
मुटु मिचेर बिदा दिएँ 
किञ्चित टिल्पिलाएनन् आँखा 
बरु खुसी र उमङ्ग भरिए।

आहा ! नयाँ बिहानी ! कति धेरै
खुसियाली बोकेर आएको होला
पहिलो किरण !
कलिलो झुल्को सन्झ्यालबाट भित्र चियाएर 
मलाई स्पर्श गर्दै छ अहिले।
नयाँपन, नयाँ स्वाद, नयाँ सोच
र नयाँ भावनाको सङ्घारमा।

बालकथासँगै घामले पनि
सङ्कल्प गर्दै रहेछ,
‘म हरेक बिहानीमा नयाँ रङ भरेर आउने छु
सबैको नयाँ वर्ष बनेर पोहोरभन्दा भिन्न भएर ।’


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्