नयाँ वर्षमा प्रधानमन्त्रीकाे सम्बाेधन: अब खुसीकाे वसन्त आउँछ
फाइल तस्वीर ।

काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशवासीका नाममा सम्बोधन गरेका छन् । सम्बोधनमा एक वर्ष अघिको समय र अहिलेको समयलाई उनले तुलना गरेका छन् । 

गएको वर्ष कर्णालीको राराबाट विद्यालय भर्ना अभियान सुरु गरेको भन्दै ओलीले गत वर्ष विधि निर्माणको वर्ष भनिएको पनि बताएका छन् । उनले सडक कालोपत्रे भएको प्रसङ्ग, पक्की पुल निर्माण गरेको प्रसङ्ग, तुइन विस्थापन गरेको, पूर्व–पश्चिम रेलमार्गको डिपिआर तयार भएको र पानी जहाज कार्यालय खोलेको प्रसङ्ग सम्बोधनमा उठाएका छन् । 

सामाजिक सुरक्षा कार्यक्रम, स्वास्थ्य बीमा कार्यक्रम, बैंक खाता कार्यक्रम, नेपालको पानी जनताको लगानीजस्ता कार्यक्रम पनि एक वर्षमा आफ्नो उपलब्धिका रुपमा सम्बोधनमा प्रष्ट्याएका छन् । 

‘अबको नेपाली समाजको मूल प्रवृत्ति शान्ति, एकता र विकास हो । विकासको लागि सरकार के गर्दैछ त ? म ठान्छु, आज नखोजिए, भोलि, भोलि नखोजिए पर्सी– यी प्रश्नहरु आफैं उत्तर बनेर जीवनमा आउँनेछन्,’ ओलीले सम्बोधनमा भने, ‘नयाँ वर्षको आजको दिन म भन्न चाहन्छु, मेरो नेतृत्वको सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिँदैछ ।’

‘हामीलाई थाहा छ, भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतीपूर्ण छ र यसले लामै समय लिन्छ । तर जुनसुकै मूल्य चुकाएर भए पनि र जति समय लगाएर भए पनि भ्रष्टाचारलाई उन्मूलन गरी छाड्ने अभियानमा म प्रतिवद्ध छु,’ सम्बोधनमा प्रधानमन्त्रीले भने, ‘बेथीति र भ्रष्टाचार विरुद्धको यस अभियानमा सबै तह र तप्काबाट पाएको समर्थन र सहयोगप्रति म आभार प्रकट गर्दछु । यसमा सघाउने सबै अभियन्ता, सञ्चारमाध्यम र जागरुक नागरिकहरु विशेष धन्यवादका पात्र हुनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले सरकारले बनाएका लक्ष्यहरुमा पनि पुगेरै छाड्ने बताएका छन् । उनले भने, ‘मैले नेतृत्व गरेको सरकारको यसै कार्यकालमा हामीले हाम्रो मुलुकलाई ‘अति कम विकसित मुलुक’को टिठलाग्दो हैसियतबाट उकास्नै पर्छ । सन् २०३० मा तोकिएको दीगो विकास लक्ष्य भेट्टाउनै पर्छ । यसको लागि हामी÷हामी बीचको दौड– प्रतिस्पर्धा अफ्रिकी सिंह र हरिणको जस्तै हुनु आवस्यक छ। जे गर्नुछ, हामीले यही एक दशकभित्र सम्पन्न गरिसक्नु पर्छ । आउँदो १०÷११ वर्षपछि आजको युवा जनसंख्या बुढ्यौलीतिर ढल्कनेछ र हाम्रो विकासको जनसाङ्खिक लाभ सकिनेछ । हामीसित समयको सीमा छ, गर्नुपर्ने काम भने असिमित छन् ।’



सम्बोधनमा प्रधानमन्त्री ओलीले अबको वर्ष सुख र शान्तिको वसन्त आउने पनि बताएका छन् । उनले भने, ‘प्रकृतिमा जस्तै मानव समाजमा वसन्त आफै आउँदैन, यसलाई हासिल गर्नुपर्छ । मानव समाजमा वसन्त आगमन विभिन्न शक्ति र प्रवृत्तिद्वारा प्रभावित हुन्छ । तर नेपाली समाजमा पनि दीगो शान्तिको, सामाजिक न्यायसहितको समृद्धिको, लोकतन्त्र सहितको विकासको र सुखसहितको खुशीको वसन्त आउने कुरामा हामी ढुक्क छौं ।’



  • प्रकाशित मिति : बैशाख १, २०७६ आइतबार ९:४८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया