logo-img

'यौनिक अल्पसंख्यकलाई एचआइभी संक्रमण जोखिम उच्च'

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई एचआइभी संक्रमणको जोखिम उच्च हुने गरेको सरोकारवालाहरुले जनाएका छन् । आज यहाँ आयोजित नेपाल प्रहरीसँगको सचेतना बैठकमा सरोकारवालाहरुले यौनिक अल्पसंख्यकहरु यौन व्यवसायमा संलग्न हुनुपर्ने बाध्यताका कारण एचआइभी संक्रमणको उच्च जोखिममा रहेको बताएका हुन् । 

कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारकर्मी भूमिका श्रेष्ठले यौनिक अल्पसंख्यकलाई रोजगारीमा समस्या हुने गरेको बताइन् । ‘यो समुदायका मानिसलाई सरकारी तथा निजी क्षेत्रमा काम गर्ने अवसर दिइँदैन, बाध्य भएर उनीहरु यौन व्यवसायमा संलग्न हुने गरेका छन्,’ उनले भनिन्, ‘अन्तरलिंगीहरुमा एचआइभी संक्रमणको दर छ दशमलव तीन प्रतिशत छ भने समग्र यौनिक अल्पसंख्यक समुदायमा एचआइभी संक्रमण दर ११ दशमलव पाँच प्रतिशत रहेको छ ।’ 

नागरिकतामा अन्य समुदायको भनेर पहिचान खुलाइने कारण पनि यो समुदायलाई रोजगारीको अवसर प्रदान नगरिएको श्रेष्ठको भनाइ छ । 

संविधानले आफूहरुको अधिकार स्थापित गरेको भए पनि व्यवहारमा त्यो लागू हुन नसक्दा यौनिक तथा लैंगिक अल्पसंख्यकहरु समस्यामा परेका उनले बताइन् । बाल्यावस्थाबाटै आफूहरुले समाजमा अन्य व्यक्तिहरुको तुलनामा बढी संघर्ष गर्नुपर्ने बताउँदै श्रेष्ठले भनिन्, ‘सुरुमा पढ्न समस्या, पढे पनि बीचमै पढाइ छोड्नुपर्ने बाध्यता, अध्ययन पूरा गरेपछि  अन्तरलिंगी भएकै कारण रोजगार नपाउने अवस्था छ ।’ 

समुदायले गर्ने व्यवहार, सार्वजनिक स्थानमा हुने दुर्व्यवहार तथा यौनिक तथा लैंगिक अल्पसंख्यकमैत्री शौचालय नहुँदा आफूहरुमा मानसिक तनाब बढ्ने उनको भनाइ छ । 

कार्यक्रममा ब्ल्यू डाइमन्ड सोसाइटी नेपालकी कार्यकारी निर्देशक मनीषा ढकालले राष्ट्रिय जनगणना २०७८ ले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको संख्या दुई हजार नौ सय २८ मात्रै देखाए पनि यथार्थमा यो संख्या निकै ठूलो रहेको बताइन् । ‘गणकहरुले जनगणना गर्दा हामीलाई नसोधी हाम्रो लिंग लेखिदिने गरेका छन्,’ उनले भनिन्, ‘कतिपय व्यक्ति परिवार र समाजको डर तथा लाजका कारण खुल्न नसक्दा यथार्थ तथ्यांक आउन सकेको छैन ।’ 



आफ्नो समुदायको मानिसको यथार्थ तथ्यांक निकाल्नका लागि आफूले सरकारलाई नमुना सर्वेक्षण गर्न आग्रह गरेको उल्लेख गर्दै ढकालले केही समयमा नमुना सर्वेक्षण हुने बताइन् । 

यौनिक तथा लैंगिक अल्पसंख्यकहरु घरपरिवारबाटै हिंसाको सिकार हुनुपरेको उनको गुनासो छ । ‘सन् २०२३ मा युएन वुमनले नेपालका सातै प्रदेशमा यौनिक तथा लैंगिक अल्पसंख्यक भएका एक हजार एक सय ८१ जनामा गरेको अध्ययनमा ८१ प्रतिशतले यौनिकताका आधारमा हिंसामा परेको जनाएका थिए,’ उनले भनिन्, ‘त्यस अध्ययनबाट ७१ प्रतिशतले भावनात्मक हिंसा, ४९ प्रतिशतले यौनजन्य हिंसा, ४९ प्रतिशतले शारीरिक हिंसा एवम् ४० प्रतिशतले आर्थिक हिंसा भोगेको जनाइएको छ ।’ 



हिंसाका पीडकहरुमा परिवार, आत्मीय व्यक्ति, प्रहरी, स्वास्थ्य सेवा प्रदायक, समुदाय, विद्यालय तथा कार्यालय रहने गरेका ढकालको भनाइ छ । 

लिंगका आधारमा पुरुष भएर जन्मिएका व्यक्तिको शारीरिक बनावट महिला वा महिला भएर जन्मिएका व्यक्तिको शारीरिक बनावट पुरुष हुँदा उनीहरुले नागरिकता लिँदा समस्या भोग्नुपर्ने उनको भनाइ छ । ‘जन्मदर्तामा भन्दा नागरिकतामा फरक लिंग लेख्नुपर्दा अस्पतालमा गएर चिकित्सकको अगाडि नांगिनुपर्ने अवस्था छ,’ उनले भने, ‘शरीर परीक्षण गराएर वीर अस्पतालले सिफारिस दिएपछि पनि नागरिकतामा पहिचान स्थापित गराउन दुई वर्ष समय लाग्छ, फेरि हामीले चाहेको नाम नागरिकतामा राख्न पाइँदैन,’ उनले अगाडि थपे, ‘हाम्रो नाम जन्मदर्तामा राम छ भने रमा बनाइदिन्छन्, शुभेच्छा भनेर राख्न दिँदैनन् ।’ 

ब्ल्यू डाइमन्ड सोसाइटी नेपालका कार्यक्रम संयोजक देव श्रेष्ठले आफूहरुले समुदायमा जनचेतना फैलाउन विभिन्न कार्यक्रम गर्दै आएको बताए । हिंसामा परेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई संरक्षण गर्न ‘सम्मान गृह’ स्थापना गरेर उनीहरुलाई निःशुल्क आवास, गाँस तथा औषधिउपचारको व्यवस्था गरेको श्रेष्ठले बताए । 

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई एचआइभी तथा एड्सबाट जोगाउनका लागि विभिन्न कार्यक्रम, औषधिसँगै उनीहरुलाई कण्डम र लुब्रिकेन्ट वितरण गर्दै आएको श्रेष्ठले जानकारी दिए । 

  • प्रकाशित मिति : वैशाख २९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया