अभिनेत्री करिना कपुर खानद्वारा लिखित पुस्तक ‘करिना कपुर खान बाइबिलः द अल्टीमेट मेन्युल फर मम्स टु बी’मा उल्लेखित ‘बाइबिल’ शब्दलाई लिएर अदालतले कारण माग गरेको छ ।
करिना ती अभिनेत्रीमा पर्छिन्, जसले आफ्नो गर्भावस्थालाई कहिल्यै गोप्य राखिनन् र उनले खुलेरै गर्भावस्थाका बारेमा सबै जानकारी फ्यानमाझ बाँडिन् । यहाँसम्म कि उनले यो अनुभवलाई एक पुस्तकमा नै समेटिन् ।
उनले सन् २०२१ मा प्रेग्नेन्सी पुस्तक ‘करिना कपुर खान बाइबिलः द अल्टीमेट मेन्युल फर मम्स टु बी’ सार्वजनिक गरेकी थिइन् । यो पुस्तकमा करिनाले तैमूर र जेह गर्भमा रहँदाको अनुभव समेटेकी थिइन् । तीन वर्षपछि यही पुस्तक कानुनी विवादमा परेको छ ।
पुस्तकले अदालतबाट लिगल नोटिस पाएको छ । मध्य प्रदेशको हाई कोर्टका न्यायाधीश गुरपाल सिंह अहलूवालियाको एकल इजलासमा करिना र बुक बिक्रेताविरुद्ध उजुरी दर्ता गराउने वकिल क्रिस्टोफर एन्थोनीको निवेदनमा नोटिस जारी भएको छ ।
‘जब वी मेट’ अभिनेत्रीलाई नोटिस पठाउने प्रमुख कारण पुस्तकको शीर्षकमा प्रयोग भएको ‘बाइबिल’ हो । अदालतले अभिनेत्रीलाई पुस्तकमा ‘बाइबिल’ लेख्नुको कारण माग गरेको छ । उजुरीकर्ताले किताबको बिक्रीमा रोक लगाउन माग गरेपछि प्रकाशकलाई पनि अदालतले नोटिस जारी गरेको छ ।
मध्य प्रदेशको जबलपुरका सामाजिक अभियन्ता क्रिस्टोफर एन्थोनीले पुस्तकको नाममा प्रयोग गरिएको ‘बाइबिल’ शब्दले इसाई समुदायको भावनामा चोट पुर्याएको दाबी गरेका छन् । ‘बाइबिल विश्वभर इसाई धर्मको पवित्र किताब हो र करिना कपुर खानको प्रेग्नेन्सीको तुलना बाईबलसँग गर्नु गलत हो’ उजुरीमा उल्लेख छ ।
यसअघि पनि ‘बाइबिल’ शब्द प्रयोग गरिएपछि आपत्ति जनाइएको थियो । उजुरी गर्ने व्यक्तिले प्रहरीसमक्ष करीनाविरुद्ध एफआईआर दर्ता गराएका थिए, तर प्रहरीले त्यो दर्ता गर्न अस्वीकार गरेको थियो । पुनः ती व्यक्तिले तल्लो अदालतमा उजुरी दर्ता गराएका थिए । तल्लो अदालतले पनि उक्त उजुरी खारेज गरेको थियो । अहिले हाई कोर्टले करिनासँग जवाफ मागेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।