logo-img

संसद् खुलाउन प्रधानमन्त्रीको पहल : बालुवाटारमा कांग्रेस नेतासँग छलफल

सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संसद् सञ्चालन हुन नदिने अडान लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल थालेका छन् ।

कांग्रेसले संसदमा सरकारको नीति तथा कार्यक्रम नै प्रस्तुत गर्न नदिने अडान लिएपछि प्रधानमन्त्री दाहालले आइतबार बिहानै कांग्रेससँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री दाहालले छलफलका लागि बोलाएपछि केहीबेर अघि कांग्रेस नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । 



भेटका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कांग्रेस राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन् । 

गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको विषयमा आरोप लागे पनि प्रधानमन्त्री, सत्ता गठबन्धन र राज्यका संरचना लागेर लामिछानेलाई चोख्याउने प्रयास भएको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ । तर, छानबिन समिति बनेपछि पदबाट राजीनामा दिनुपर्ने भयले रास्वपाका सभापति समेत रहेका गृहमन्त्री लामिछाने भने त्यसलाई जसरी पनि टार्ने जोडबलमा छन् ।  

कांग्रेसले यसअघि शुक्रबारको बैठकमा संसदीय छानबिन समिति नबनाएसम्म सदन चल्न नदिने अडान प्रस्तुत गरेको थियो । सरकारले १ जेठ अर्थात् आगामी मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । तर कांग्रेसले भने संसदीय छानबिन समिति नबने नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्न नदिने अडान अघि सारेको छ ।  





  • प्रकाशित मिति : वैशाख ३०, २०८१ आइतबार ९:५३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया