शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ठूला राजनीतिक दलले राजनीतिक हस्तक्षेप नरोके त्रिभुवन विश्वविद्यालयमा सुधार नहुने बताएकी छन् । उनले शीर्ष दलले विश्वविद्यालयमा ‘नो मोर पोलिटिक्स’ भनेर प्रतिबद्धता जनाएरै त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।
आइतबार संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री श्रेष्ठले त्रिविको शैक्षिक क्यालेन्डर लागू गर्न दलका भ्रातृ संगठनको अवरोध रहेको र त्यसमा आफूहरूले चाहेर मात्र सुधार गर्न नसकिने उल्लेख गरिन् ।
उनले विश्वविद्यालयको क्यालेन्डर लागू गराई सुधार गराउन आफूहरूले अनौपचारिक पहल गरिरहेको जानकारी गराइन् । तर, अनौपचारिकरूपमा संवादलाई अघि बढाए पनि त्यो सफल हुने नदेखिएकाले औपचारिकरूपमै पत्रमार्फत त्रिवि सुधारका लगि दलका शीर्ष नेतासँग छलफल प्रयास गर्ने बताइन् ।
उनले दलगतरूपमा आबद्ध कर्मचारी संगठन र प्रशासनले निचोड निकाल्नुपर्ने भन्दै उनले थपिन्, ‘टियू रिफर्मको लागि जबसम्म शीर्ष नेताहरूले कमिटमेन्ट दिँदैनन् यो अगाडि बढ्दैन । हामीले प्रशासन र संगठनको सुधारको प्रयास गरिरहेका छौँ । समय नै दिएनन् भने अब शीर्ष दललाई पनि पत्राचार गरेर एकै ठाउँमा ल्याएर नो मोर भन्ने कमिटमेन्ट उहाँहरूबाट ल्याउन सक्छौँ होला ।’
विश्वविद्यालय सुधारका लागि पहिला राजनीतिक दलका भातृ संगठनको सुधार गर्नुपर्ने भन्दै उनले उपकुलपतिले टियूमा हुने राजनीतिकरण सुधारका लागि शीर्ष दलका नेतृत्वसँग छलफल गर्न कोसिस गरिरहेको उल्लेख गरिन ।
भ्रातृ संगठनका विद्यार्थी र शिक्षक, कर्मचारी संगठनको डरका कारण उपकुलपतिलाई पीएसओ राख्नुपर्ने अवस्था आएको मन्त्री श्रेष्ठले बताइन् ।
‘पोजिशन होल्डर्सको नियुक्ति हुँदादेखि नै टियूको भिसी सरलाई धम्कीले गर्दा पीएसओको बन्दोबस्त गर्नुपर्ने अवस्था छ । त्यसैले सबैले टियूलाई दलीय राजनीतिमुक्त बनाउँछौँ भनेर प्रतिबद्धता गरे धेरै कुरा सम्भव छ,’ मन्त्री श्रेष्ठले भनिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।