हिजोआज सहरबजारमा प्रशस्त मात्रामा आँप पाइन्छन् । सहरी क्षेत्रमा जता हेरे पनि आँप नै आँप देखिन सुरु भइसकेको अवस्था छ । चोकैपिच्छे टोकरीमा होस् या फलफूल पसलमा हेर्दै रहर लाग्दा आँप प्रशस्त भेटिन थालेको छ । यस्ता आँप देख्नासाथ जोकसैलाई खाऊँखाऊँ लाग्नु स्वाभाविक पनि हो ।
विभिन्न स्वाद र जातका यस्ता आँप खानुअघि उपभोक्ताले एकपटक राम्रै सोच्नुपर्ने अवस्था छ । व्यापारीहरूले विभिन्न रसायन प्रयोग गरेर बेलै नपुगी पकाएर आँप बजारमा ल्याइरहेको गुनासो पनि सुनिँदै आएको छ । यसरी बजारमा उपलब्ध आँप देख्दा जति लोभलाग्दा हुन्छन्, स्वास्थ्यका लागि त्यत्तिकै हानिकारक पनि हुन सक्छन् ।
विशेषगरी आँप खाने उत्तम मौसम जेठको अन्तिम साता र असार महिनालाई बुझिन्छ । यो समयमा आँप प्राकृतिक रूपले नै पाकेर खानयोग्य हुन्छ । जेठ–असारमा खाएको आँपले शरीरलाई जति फाइदा गर्छ, बेमौसममा खाएको आँपले स्वास्थ्यमा त्यति नै धेरै असर पुर्याउने जनस्वास्थ्यविद्हरूको भनाइ छ ।
‘अचेल बजारमा पाइने आँपहरू अप्राकृतिक रूपले रसायनको प्रयोगद्वारा पकाएर बिक्रीका लागि राख्ने गरिन्छ,’ पोषणविद् आयुष अधिकारी भन्छन्, ‘आँपलाई चाँडो पकाउन ‘क्याल्सियम कार्बाइड’जस्ता अखाद्य रसायन राखी पकाउनाले अमृत फललाई विषमा परिवर्तन गराइदिन्छ ।’
जनस्वास्थ्यविद्का अनुसार फलफूलको राजा मानिने आँपमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन तथा कार्बोहाइड्रेट पाइन्छ । आँपमा एन्टिअक्सिडेन्ट तत्त्व हुने भएकाले यसले छालालाई नरम तथा आकर्षक बनाउनसमेत मद्दत गर्छ । विभिन्न पोषण तत्त्वले भरिपूर्ण आँप स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर, आँप पकाउन प्रयोग भइरहेको विषाक्त तत्त्वका कारण हिजोआजका आँपले स्वास्थ्यमा फाइदा पुर्याउनुको सट्टा हानि गर्न थालेको पोषणविद् अनुश्री आचार्य बताउँछिन् ।
उनका अनुसार कुनै पनि खानेकुरा वा फलफूल खाँदा ‘सिजन र रिजन’मा खाँदा उपयुक्त हुन्छ । एउटा ठाउँ वा समयमा पाक्ने फल खाँदा स्वास्थ्यलाई फाइदा पुग्छ । तर, सिजन र रिजनबाहेक खाएको खानेकुराले स्वास्थ्यमा असर गर्छ । उनी भन्छिन्, ‘अप्राकृतिक रूपमा पकाएको खाँदा स्वास्थ्य असर गर्ने नै भयो । यस्ता खानेकुरा निरन्तर खाँदा शरीरमा मन्द विषको रूपमा असर गरिरहेको हुन्छ ।’
यस्तै पोषणविद् अधिकारीका अनुसार आँपलाई पकाउन प्रयोग गरिएको औषधिको टक्सिन शरीरभित्र जाँदा स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ । ‘आँपमा सामान्यतया ‘कार्बाइड’ नामक विषादीको प्रयोग बढी भएको हुन्छ । कार्बाइडमा आसर्निक तथा फस्फोरसको मात्रा बढी हुन्छ,’ उनी भन्छन्, ‘यसले बान्ता हुने, झाडापखाला लाग्ने, पेटको जलन, अनिद्राको समस्यालगायत आपत्कालीन समस्या निम्त्याउनुका साथै पेटको अल्सर, ग्याष्ट्रिक, पाचन प्रक्रियामा समस्या, टाउको दुख्ने, बिर्सने समस्या, क्यान्सर, घाँटीको समस्या आदि दीर्घकालीन असर समेत पुर्याउने गर्छ ।’ त्यसैले कुनै पनि समयमा आँपको सेवन गर्नुअघि विषादीयुक्त आँप हो कि मौसमी एवं विषादीरहित आँप हो भन्ने कुरा पत्ता लगाउनु आवश्यक रहेको उनको भनाइ छ ।
कसरी थाहा पाउने ?
आँपको सिजन प्रायः जेठको तेस्रो साता हो । जेठपछि बजारमा आएको आँप खानु उत्तम हुने पोषणविद्को भनाइ छ । औषधिको प्रयोग गरेर पकाइएको आँप गाढा पहेँलो हुने, फतक्क पाकेको तथा धेरै बास्नादार हुने उनले जानकारी दिए ।
पोषणविद् अधिकारीका अनुसार बेमौसमी आँप नखाएको नै उत्तम हुन्छ । आँप प्राकृतिक तथा अप्राकृतिक कसरी पाकेको भनेर ‘वाटर टेस्ट’ गरेर पनि छुट्याउन सकिन्छ । उनी भन्छन्, ‘एउटा भाँडोमा पानी राख्नुपर्छ । प्राकृतिक रूपमा पाकेको आँप पानीमा डुब्छ । तर, औषधि हालेर पकाएको आँपचाहिँ पानीमा तैरिने गर्दछ । सकभर हामीले बेमौसमी फलफूल खानुहुँदैन ।’ प्रायः जेठको अन्तिमतिर बजारमा आउने आँप स्वास्थ्यका लागि फाइदाजनक हुने पोषणविद्को भनाइ छ ।
उनका अनुसार मौसमी आँप भने प्राकृतिक तरिकाबाटै पाकेको हुन्छ । यस्तो आँप एकनाशले पाक्ने तथा पहेँलो हुने गर्दछ । कुनै पनि प्रकारको रसायन प्रयोग नगरिएको आँप भेट्नोबाट पहेँलो हुँदै तलसम्म पाक्ने गर्छ । यो थिच्नासाथ लचिलो हुनुका साथै सबैतिर एकनासले दब्ने गर्दछ ।
औषधिले पकाएको आँप किन नखाने ?
कार्बाइड नामक रसायन काँचो आँपमा राख्नाले २४ घण्टामा आँप पाक्दछ । जसले व्यापारीलाई फाइदा त हुन्छ, तर उपभोक्ताको स्वास्थ्यमा भने नकारात्मक असर पुग्न जान्छ । कार्बाइड नामक रसायन राखेको आँप खादा पेट दुख्ने, बान्ता हुनेदेखि लिएर फोक्सो, मुटु, मृगौलामा समेत ठूलो असर पार्ने चिकित्सकहरू बताउँछन् ।
यसका साथै विभिन्न अनुसन्धानले औषधि प्रयोग गरिएको आँप खाँदा गर्भ तुहिने र क्याक्सरसमेत हुने सम्भावना देखाएको छ । कार्बाइडले शरीरमा भएको पानीसँग प्रतिक्रिया गरी एक प्रकारको क्षार बनाउँछ । जसले श्वासनली, घाँटी, आँखा र छालामा धेरैखालका समस्या ल्याउन सक्ने ती अनुसन्धानमा देखिएको छ ।
यसले आँखा पोल्ने, पाक्ने मात्रै होइन, आँखाको शक्ति नै गुमाइदिन सक्छ । भारतमा गरिएको एक सर्वेक्षणअनुसार तीनसय ५५ क्याल्सियम कार्बाइड भएको हावामा २५ सेकेण्ड मात्र बस्दा पनि असर देखाउँछ ।
एक मिनेट बस्दा संक्रमण गर्दछ भने ५ मिनेट बस्दा बेहोस बनाउँछ र मृत्युसमेत गराउने सर्वेक्षणको रिपोर्ट छ । मुसामा गरिएको त्यस प्रकारको अनुसन्धानले कार्बाइडको सेवनले फोक्सो र मिर्गाैलामा धेरै असर पारेको देखाइएको छ ।
त्यसैले यस्ता कुरामा हामी आफैँ चनाखो हुनुपर्ने जनस्वास्थ्यविद् बताउँछन् । उनीहरूका अनुसार ‘क्याल्सियम कार्बाइड’को प्रयोगले पकाइएको आँप हामीले सजिलै थाहा पाउन सक्छौँ । आँपको सबैभाग एकनाशले पहेँलो भएको छ भने त्यो आँपमा कार्बाइड राखेको हो भन्ने कुरा जान्न सकिन्छ । किनकि प्राकृतिक रूपले पाकेको आँपमा फलको सबै भागमा एकनाशको पहेँलो अर्थात् पाकेको रंग देखिँदैन । त्यसैले बेमौसमी आँप खाएर बिरामी हुनुभन्दा मौसममा पाइएको फल खाँदा स्वास्थ्य र जिब्रोको लागि काइदा हुने जनस्वास्थ्यविद्को भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।