Mon, 22 Apr, 2019


मोहन वैद्यसँग साहित्य संवाद : ‘राजनीति र साहित्यका बाटा फरक होलान्, लक्ष्य एउटै हो’
फरकधार / बैशाख १, २०७६

मोहन वैद्य ‘किरण’ राजनीतिमा मात्र नभई साहित्यिमा समेत क्रियाशील छन् । नेपाली कम्युनिस्ट आन्दोलनका एक अभियन्ता वैद्य विशिष्ट सौन्दर्य चिन्तक हुन् । वैद्य साहित्य, दर्शन र संस्कृतका अद्येता हुन् । उनी प्रायः दर्शनका विषयमा लेख्न रुचाउँछन् ।

वैद्यका हिमाली दर्शन, लाहुरेको रहर खण्डकाव्य, माक्र्सवादी कलादृष्टि र समीक्षा, संघर्षको दर्शन, क्रान्ति र सौन्दर्य, माक्र्सवाद र संस्कृतिलगायत एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् । साहित्यमा चैतन्य उपनामले चिनिने वैद्यसँग साहित्यिक यात्रा र अवस्थाबारे फरकधारकर्मी रमेश दवाडीले गरेको संक्षिप्त कुराकानी :

राजनीतिक संघर्षमा डुबेको मान्छे, साहित्यमा कसरी आकर्षित हुनुभयो ? 

म साहित्यको विद्यार्थी हुँ । साहित्य कोर्न थालेको विद्यार्थीकालदेखि नै हो । साहित्यप्रति मेरो लगाव युवावस्थादेखि नै रह्यो । 

सुरुमा के लेख्नुभयो ? 

कविता लेखेँ । २०१९ सालमा कविता प्रकाशित भयो । 

राजनीतिमा आइसकेपछि साहित्यलाई कसरी अगाडि बढाउनुभयो ? 

साहित्यलाई बढी ध्यान दिँदै, लेख्दै गरेको राजनीतिमा आएपछि नै हो । राजनीतिसँगसँगै साहित्यिक पाटोलाई पनि मैले अगाडि बढाएँ । 

सशस्त्र युद्धकालमा साहित्य लेखन कस्तो रह्यो ? 

थुप्रै लेखेँ । झन् पहिलेभन्दा धेरै लेखेँ । समालोचना बढी लेखेँ । 

राजनीति र साहित्यमा के फरक देख्नुहुन्छ ? 

राजनीति र साहित्य सामाजिक मानवीय चेतनाका भिन्न रूप हुन् । साहित्य सामाजिक चेतनाको एउटा रूप हो । राजनीति पनि सामाजिक चतनाकै अर्को रूप हो । मानव जीवनका दुईवटा पाटा हुन्, राजनीति र साहित्य । यी परस्पर सम्बन्धित छन् ।

फरक के छ भने, साहित्य एउटा विम्बमा अनुभूतिपरक हिसाबले लेखिन्छ । राजनीति बौद्धिक हिसाबले गर्ने हो । राजनीति र साहित्यबीच यो शैलीमा भिन्नता छ । तर, गर्ने काम एउटै हो । राजनीतिले पनि जीवन सुखी, समृद्धशाली बनाउने हो । राजनीति बढी राज्यसत्तातिर जान्छ । साहित्य जीवनका समस्त अनुभूतिलाई एउटा आकार दिँदै समृद्ध र सुखी जीवनतर्फ जान्छ । माध्यम फरक–फरक हुन्, लक्ष्य प्रायः एउटै हो ।  

राजनीति र साहित्यमा लामो समय बिताउनुभयो । समग्रमा तपाईंलाई यी दुवैले के दिए ? 

राजनीतिले मलाई के दियो भन्दा पनि मैले राजनीतिलाई के दिएँ भन्ने महत्वपूर्ण कुरा हो । जीवन, जगत् चिन्न–बुझ्नको निम्ति, देश र जनताको हितमा केही गर्नको निम्ति निरन्तर काम गरिरहेको छु । थुप्रै अनुभूतिहरू राजनीतिमा भइरहेका छन् । राज्यसत्ता अत्यन्तै जटिल रहेछ । जनताको राज्यसत्ता स्थापना गर्ने त झन् जटिल कुरा हो ।

थुप्रै शिक्षा राजनीति र साहित्यले दिएको छ । फेरि शोषण, दमन, उत्पीडनबाट जनतालाई मुक्त गर्नका निम्ति राजनीति अनिवार्य छ । र, त्यो प्रक्रियामा राजनीतिको साम्यवादी आदर्शबाट नै समाजको प्रगति हुन सक्छ । त्यसका निम्ति निरन्तर क्रान्तिको प्रक्रियामा लाग्नुपर्छ भन्ने शिक्षा मलाई राजनीतिले दिएको छ ।  

साहित्यलाई मानिसहरू लहडी जात हो भन्ने ठान्छन् । खासमा साहित्य काल्पनिक, लहडी जात होइन । वास्तवमा भन्ने हो भने साहित्यले शोषण, दमन र उत्पीडनका विरुद्ध आवाज उठाउँछ । साहित्य कलाको सृष्टि नै श्रम प्रक्रियाबाट भएको हो । सौन्दर्य चिन्तनको कुरा गर्नुहुन्छ भने सौन्दर्यको सृष्टि श्रम प्रक्रियाबाट भएको हो । मानिस दुःखी, पीडित किन भएको ? अर्काले श्रम शोषण गर्यो, अनि दुःखी भयो । मुक्त कसरी गर्ने त भन्दा, अब श्रमिकहरू अगाडि आउनुपर्छ । श्रम सौन्दर्य यो हो । 

साहित्यले श्रम सौन्दर्यको गाथा गाउँछ । श्रमिक जनतालाई उन्मुक्ति दिने साहित्यले हो । संगति भन्ने हुन्छ जीवनमा । संगति कसरी कायम हुन सक्छ त ? एउटा सामाजिक रूपान्तरणका बीचबाट हुन सक्छ । मुक्ति पनि, हामी प्रगतिवाद, समाजवादी यथार्थवाद भन्छौँ साहित्यिक धारामा, यो धाराले दुनियाँ बुझ्ने मात्रै होइन, दुनियाँ बदल्ने हो । राजनीतिको काम पनि त्यही हो । दर्शनको काम पनि त्यही हो र साहित्य, कलाको काम पनि त्यही हो । त्यसैले दुनियाँ बदल्न अगाडि बढ्नुपर्छ भन्ने नै मैले साहित्यबाट पाएको शिक्षा हो । 
 



यो पनि नछुटाउनुहोस्