समुद्रबाट होइन, तलाउबाट सुरु भएको थियो जीवन !

बोस्टन– ब्रह्माण्डबारे वैज्ञानिकहरु अनेक खोज गरिरहेका छन् । सयौँ प्रकाशवर्ष परका पिण्डहरुबारे समेत यथेष्ट जानकारी मिलिसकेका छन् । तर, यही धर्तीमा जीवनको सुरुआत कसरी भयो भन्नेमा भने वैज्ञानिक जगत् अझै स्पष्ट हुन सकेको छैन । 

वैज्ञानिकहरुको दाबी छ, पृथ्वीमा जीवनको सुरुआत पानीबाट भएको हो । र, अनुमान गरिन्छ कि सबैभन्दा पहिले महासागरमा जीवनको सुरुआत भयो होला । तर, हालैको एक अध्ययनले भने यसअघिको अनुमानभन्दा भिन्नै निष्कर्ष दिएको छ । 

अध्ययनले देखाएको छ कि पृथ्वीमा जीवनको सुरुआतका लागि स–साना तलाउ ज्यादा अनुकूल थिए । अध्ययन रिपोट भन्छ, ‘पानीमा १० सेन्टिमिटरको गहिराइमा नाइट्रोजन अक्साइडको पर्याप्त मात्रा हुन्छ, जसले जीवनको सुरुआतका लागि सही वातावरण निर्माण गर्छ ।’ 

म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) को रिपोर्टअनुसार समुद्रको गहिराइमा नाइट्रोजन सजिलै ‘फिक्स’ हुँदैन । जसका कारण ‘जीवन उत्प्रेरणा’ मुस्किल हुन्छ । 

शोधकर्ता सुकृत रन्जन भन्छन्, ‘जीवनको सुरुआतको लागि नाइट्रोजन फिक्सिङ जरुरी छ र यो समुद्रको गहिराइमा सम्भव छैन ।’ 

पानीमा नाइट्रोजनका अणु हुन्छन्, तर यी अणु टुक्रिनका लागि धर्तीको वातावरण आवश्यक पर्छ । वायुमण्डलमा हुने नाइट्रोजन तीनवटा बोन्डले बाँधिएको हुन्छ । त्यसैले, यो टुट्नका लागि ज्यादा ऊर्जा आवश्यक पर्छ । 



उनी भन्छन्, ‘त्यो समय (जीवनको सुरुआत हुँदाको समय) वायुमण्डलमा बिजुली चम्किँदा नाइट्रोजन फिक्स भएर वर्षाका माध्यमबाट महासागरमा पुगी जीवनको सुरुआत गर्न सक्थ्यो, तर यो यसकारण सम्भव देखिन्न कि महासागरमा तलतिर रहेको आइरनले फिक्स्ड नाइट्रोजनबाट जीवनको कारकलाई नै नष्ट गरिदिन्थ्यो । जीवनका लागि चाहिने सबै आवश्यकता केवल थोरै गहिराइको पानीमा पूरा हुन सक्थ्यो ।’

तलाउमा नाइट्रोजन अक्साइडको राम्रो कन्सन्ट्रेसन बन्न सक्ने उनको भनाइ छ । तलाउमा अल्ट्राभायलेट किरण र आइरनको प्रभाव पनि कम हुन्छ, जसका कारण नाइट्रोजन आरएनएसँग मिलेर जीवनको सुरुआत गर्न ज्यादा सक्षम हुन्छ । 
 



  • प्रकाशित मिति : बैशाख १, २०७६ आइतबार १८:१८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया