Mon, 22 Apr, 2019


केन्याकाे बारमा १२ नेपाली महिला पक्राउ
फरकधार / बैशाख १, २०७६
साङ्केतिक तस्वीर ।

एजेन्सी– केन्याकाे बारमा नेपाली महिला पक्राउ परेका छन् । त्यहाँकाे प्रहरीले छापा मार्दा १२ महिला पक्राउ परेका हुन् । उनीहरु त्यहाँ कसरी पुगे भन्ने खुलेकाे छैन । तर, प्रहरीले उनीहरुलाई तस्करी गरेर त्यहाँ पुर्याइएकाे हुनसक्ने अनुमान गरेकाे छ । 

त्यहाँको प्रहरीअनुसार प्रहरीले न्यु रंगिला बार एन्ड रेष्टुरेन्टमा छापा मारेको थियो । न्याली भन्ने ठाउँमा रहेको यो बारमा विदेशी महिलाहरु काम गरिरहेको प्रहरीलाई सुचना मिलेपछि प्रहरीले छापा मारेको केन्याको न्युज वेबसाइट डेली नेसनले लेखेको छ । 

बारका मालिक असिफ अमिराली अलिभाइ जेजेठा पनि पक्राउ परेका छन् । प्रहरीले उनीसँग क्यानडाको राहदानी भएको जनाएको छ । तर, त्यो राहदानी नक्कली भएकाले बारका मालिक असिफ नै महिला तस्करमा संलग्न भएको हुनसक्ने अनुमान गरेको छ ।

केन्याकाे समाचार वेबसाइट डेली नेसनले पक्राउ परेका नेपाली युवतीकाे तस्वीर छापेकाे छ ।

त्यहाँका प्रहरी प्रमुख जोसेफ सेबीले पक्राउ परेका महिला अवैधानिक रुपमा केन्यामा काम गरिरहेको र उनीहरुले यौन धन्धा चलाइरहेको बताएका छन् । ती महिलाहरु अन्तर्राष्ट्रिय गिरोहले तस्कर गरेर त्यहाँ पुर्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 

‘ती महिलाहरुसँगको सोधपुछमा उनीहरु लुङ्गाको सीमाबाट छिरेर केन्या आएको बुझिएको छ तर उनीहरु नेपालबाट केन्यासम्म कसरी आइपुगे भन्नेबारे अझै खुल्न सकेको छैन,’ प्रहरीले स्थानीय मिडियालाई बताएका छन् । प्रहरीले बारका मालिक असिफको क्यानेडेली राहदानीमाथि पनि अनुसन्धान गरिरहेको छ ।

 



यो पनि नछुटाउनुहोस्