काठमाडौंमा आजदेखि विद्यार्थी महोत्सव हुँदैछ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने भन्दै विद्यार्थी महोत्सवको आयोजना गरेको हो ।
विद्यार्थी आन्दोलनको छवि सुधार गर्ने र नयाँ दिशा दिने उद्देश्यले महोत्सवमार्फत् बहस गर्ने प्रयास गरिएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए ।
महोत्सवको पहिलो दिन मंगलबार तीनवटा सत्र हुँदैछन् । महोत्सवको दिउँसो १२ बजे नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महोत्सवअन्तर्गत विभिन्न १९ वटा सत्रहरू हुँदैछन् । मंगलबार विद्यार्थी आन्दोलनको ६ दशक र अबको कार्यभार विषयमा माधव ढुंगेल, गुरुप्रसाद घिमिरे र लेखनाथ न्यौपानेबीच बहस हुँदैछ । बिहान ९ बजेदेखि ११ बजेसम्म हुने सो सत्रमा वाइपी आचार्यले सहजीकरण गर्नेछन् ।
दोस्रो सत्र बिहान ११ः३० बजेदेखि १ः३० बजेसम्म सञ्चालन हुनेछ । कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहानले सहजीकरण गर्ने सो सत्रमा एमाले महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका नेता एनपी साउद र जनमत पार्टीका अध्यक्ष सिके राउत वक्ता छन् ।
मंगलबारको तेस्रो सत्रमा कसरी सम्भव छ राजनीतिक स्थायित्व ? विषयक छलफल सत्रमा एमाले सचिव योगेश भट्टराई, कांग्रेस नेता प्रदीप पौडेल र माओवादी केन्द्रका मानुषी यमी भट्टराईले बोल्नेछन् । सो सत्रमा अनलाइनखबरका सम्पादक बसन्त बस्नेतले सहजीकरण गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।