logo-img

अनमोल केसी भन्छन्- ‘फर्की फर्की’ मा मलाई अझ राम्रो कलाकार देख्नुहुनेछ

अभिनेता अनमोल केसी यतिबेला करियरको १० औं वर्षको दौडमा छन् । अभिनयमा दशक यात्रा गर्दै गर्दा उनी १० औं फिल्म ‘फर्की फर्की’ लिएर यही १० जेठमा दर्शकमाझ आउँदै छन् ।

दशकको यात्रामा अनमोलले आफूलाई लभरब्वाई, खेलाडी, ग्याङस्टारका रूपमा दर्शकमाझ उभ्याए । यिनै अनमोल टाइम ट्राभलको कथा रहेको फिल्म ‘फर्की फर्की’मा म्याडी चरित्रमा देखिँदै छन् । 

फिल्मको सार्वजनिक ट्रेलरमा उनले आफूलाई ‘भगवान’ मानेका छन् । अनमोल फिल्मको संवादअनुसार आफूले आफूलाई भगवान भनेको बताउँछन् । 

‘वास्तविकतामा म आफूलाई भगवान मान्दिनँ । जो मान्छेले समयलाई नियन्त्रण गर्न र अघिपछिको जीवनलाई परिवर्तन गर्न सक्छ, त्यो सन्दर्भमा उसले आफूलाई भगवान महसुस गर्ने हो । यो रामायण वा महाभारतको जस्तो भगवान होइन । फिल्ममा म्याडीले आफू भगवान हो भन्ने कुरामा विश्वास गर्छ’, अनमोल भन्छन् ।

मानिसले कुन बेला आफूलाई भगवान महसुस गर्छ त यो प्रश्नमा अनमोलको बुझाइ आफ्नै छ । ‘कसैलाई आफूलाई यो दुनियाँ आफ्नै कब्जामा छ भनेर महान अनुभव गर्छ । उसले आफूले गरेका जे कुरा पनि सही नै हो भन्ने ठान्छ । तब आफूलाई भगवानको महसुस गर्छ’, अनमोल भन्छन् ।

उनका अनुसार फिल्मको स्क्रिप्टमा ‘भगवान’ आए पनि दर्शकले म्याडीको समयमा उसको संघर्षदेखि उसको गलत समय, सही समय, परिवारसँग र साथीभाईसँगको सम्बन्धको कुरा हेर्न पाउनेछन् ।



अनमोलका लागि वर्ष २०८० सुखद रहेन । उनी अभिनित फिल्म ‘छड्के २’ बक्सअफिसमा फ्लप भएपछि सामाजिक सञ्जालमार्फत फिल्म असफल भएको स्वीकारेका थिए । त्यसै वर्ष एक निर्माताले ‘आपराधिक विश्वासघात’को आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि उनी तीन दिन प्रहरी हिरासतमा बसेर रिहा भएका थिए ।

यी दुई घटनालाई आफूले नराम्रो सपनाका रूपमा लिने गरेको अनमोल सुनाउँछन् । ‘भनिन्छ, सबै मानिसको जीवनमा एकचोटी साढे ७ को दशा आउँछ । शिवजीको जीवनमा पनि त्यस्तै भएको थियो रे । यी दुई कुरालाई एउटा नराम्रो सपनाको रूपमा लिन्छु’, उनी भन्छन्, ‘छड्के २ को असफलताले मलाई जीवनमा ‘एउटा विन्दुमा पुगेर मिहिनेत गर्नुपर्छ । मिहिनेत अझ पुगेको छैन’ भनेर हौसला दिएको छ । यो नै मेरा लागि महत्वपूर्ण पाठ हो ।’



अनमोलका लागि ‘फर्की फर्की’ मानसिक रूपमा चुनौतीपूर्ण रहेछ । ‘म गत वर्ष मानसिकरूपमा कमजोर पनि थिएँ । मेरो शक्तिलाई पुनः बाहिर ल्याउनका लागि मानसिक दबाबका बाबजुद पनि फर्की फर्कीमा काम गर्नु ठूलो चुनौती थियो । त्यहीकारण धेरै प्रोजेक्टमध्ये मैले फर्की फर्की नै छानेँ,’ उनी भन्छन् ।

दर्शकले आफूलाई ‘फर्की फर्की’मा ‘बेटर एक्टर’का रूपमा देख्न पाउने अनमोलको दाबी छ । ‘जुन बेला अभिनय थाहा थिएन, त्यो समयमा मैले ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’मा अभिनय गरेँ । यी फिल्मलाई दर्शकले मन पराउनुभयो । अहिले कलाकारका रूपमा समय, अनुभव र दक्षताले पनि धेरै कुरा सिक्ने मौका पाएको छु । मलाई ‘फर्की फर्की’मा अझ बेटर एक्टर देख्न सक्नुहुनेछ’, उनले भने ।

रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोलले अभिनेत्री जसिता गुरुङसँग अनस्क्रिन रोमान्स गर्दैछन् ।

फिल्ममा निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याल लगायतको पनि अभिनय छ ।

  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार १०:१६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया