logo-img

कसरी चल्नेछ आज संसदको संयुक्त सदन ?

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । संसद् सचिवालयले प्रकाशित गरेको कार्यसूचीमा राष्ट्रपतिबाट अपरान्ह ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उल्लेख छ । 
 
संसदको संयुक्त बैठक सकेपछि साँझ ६ बजे प्रतिनिधि सभाको बैठक सुरु हुनेछ, जहाँ प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको प्रतिसहित राष्ट्रपतिलाई धन्यवाद दिन प्रस्ताव टेबुल गर्नेछन् । त्यसपछि कार्यव्यवस्था समितिले तयार गरेको तालिकाअनुसार नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

साँझ बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धीपत्रको ब्यहोरा पढेर सुनाउनेछन् । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धीपत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ । 

त्यसपछि सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्ने छन् । सभामुख देवराजले ‘सम्माननीय राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई संवत् २०८१ जेठ १ गते मंगलबारका दिन गर्नुभएको सम्बोधनको लागि प्रतिनिधि सभाको यो बैठक सम्माननीय राष्ट्रपति महोदयमा धन्यवाद ज्ञापन गर्दछ’ भन्ने ब्यहोरा पढेर सुनाउनेछन् ।  

मंगलबारकै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
 





  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया