logo-img

रविपछि कांग्रेसको नजर अब ओलीतर्फ : गिरिबन्धु टि–स्टेटबारे सर्वोच्चको फैसला कार्यान्वयन गर्न गगनको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गिरिबन्धु टि–स्टेटको जग्गाबारे सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । उनले मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत् सरकारसँग अदालतको फैसला कार्यान्वयन गर्न माग गरेका हुन्।

महामन्त्री थापाले कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकमा पनि सो विषय उठाएका थिए । उनले मंगलबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकमा गिरीबन्धु टि–स्टेट प्रकरण र सर्वोच्च अदालतले गरेको फैसलाबारे संसदीय दलको बैठकमा ब्रिफिङ गरेका थिए ।

महामन्त्री थापाले भूमिसम्बन्धी ऐनको दफा १२ (ङ) बमोजिमको अनुगमन तथा निरीक्षण समितिलाई अविलम्ब क्रियाशील बनाएर छुटको सुविधा लिएर अरू प्रयोजनमा लगाएका, प्रयोग नगरिएका र दुरुपयोग गरिएका जग्गा यकिन गरेर अविलम्ब जफत गरी राज्य मातहत ल्याउन सरकारले तत्काल कार्यप्रारम्भ गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘यसमा सरकारले दायाँ–बायाँ नहेरोस्, आलटाल र बहानाबाजी नबनाओस् ।’ अदालतको फैसलाले अब सरकारलाई जग्गा फिर्ता ल्याउने र दोषीलाई कारबाही गर्ने बलियो आधार मिलेको थापाको भनाइ छ ।

उनले अदालतको फैसलाबाट तत्कालीन सरकारले जबरजस्ती ढंगले गरेको निर्णय र कानुन संशोधन गलत र बदनियतपूर्ण थियो भन्ने पुष्टि गर्नुका साथै नीतिगत बाटोबाट हुने भ्रष्टाचार उदांगो पारेको बताएका छन् । 

महामन्त्री थापाले लेखेका छन्, ‘उक्त निर्णय अनुचित र वदनियतपूर्ण भएकोले यस्तो निर्णय गर्ने गराउने गलत नै हुन भन्नेमा अब द्विविधा भएन। अतः यस्तो वदनियत राखेर निर्णय गर्ने गराउनेमाथि थप अनुसन्धान अपरिहार्य छ ।’
 
यसअघि संसदीय दलको बैठकमा उनले गिरीबन्धु टि–स्टेटको जग्गासम्बन्धी निर्णय गर्ने तत्कालीन सरकारका जिम्मेवार अधिकारीमाथि कारबाही हुनुपर्ने विषय कांग्रेसको अबको एजेन्डा हुनुपर्ने बताएका थिए । 





  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया