logo-img

विदेशी सम्बन्धनप्राप्त कलेजको गोरखधन्दा : १२ कक्षाको नतिजा नआउँदै धमाधम विद्यार्थी भर्ना
नेपाली शैक्षिक सत्र, वार्षिक परीक्षा र नतिजा प्रकाशनसँग मतलब राख्दैनन् यी कलेज

विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूले अहिले स्नातक तहमा धमाधम विद्यार्थी भर्ना लिइरहेका छन् । नेपाली शैक्षिक सत्रलाई बेवास्ता गर्दै ती कलेजहरूले आफूखुसी ढंगले स्नातक तहमा भर्ना गर्ने गरेका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नियमन गर्न नसक्दा विदेशी सम्बन्धन प्राप्त कलेजहरूमा विकृति मौलाउँदै गएको जगजाहेर छ ।

सामान्यतया नेपाली शैक्षिक संस्थाहरूमा परीक्षाको नतिजा प्रकाशन भएपछि मात्रै भर्ना खुलाउने प्रचलन छ । तर, विदेशी सम्बन्धन लिएका कलेजहरूले त्यसलाई बेवास्ता गर्दै मनलाग्दी रूपमा भर्ना खुलाउने गरेका छन् । ती कलेज नेपाली शैक्षिक सत्र, वार्षिक, परीक्षा र नतिजा प्रकाशनसँग कुनै मतलब नै राख्दैनन् भन्दा फरक नपर्ने देखिन्छ ।

उनीहरूले मनपरी ढंगले विद्यार्थी भर्ना गर्ने गरेका छन् । कतिपय विदेशी सम्बन्धन प्राप्त कलेजले हरेक दुई–दुई महिनामा नयाँ विद्यार्थी भर्ना लिने गरेका छन् । १२ कक्षाको वार्षिक परीक्षा भर्खर सम्पन्न भएको छ । जसको नतिजा सार्वजनिक हुन अझै दुईदेखि तीन महिना लाग्छ । तर, विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजले भने अहिलेदेखि नै विद्यार्थी भर्ना गर्न थालिसकेका छन् । विभिन्न इन्टेकका लागि भन्दै ती कलेजले भर्ना खुलाउन थालेका हुन् । 

कक्षा १२ को नतिजा सार्वजनिक नहुँदै भर्ना खुला गर्नेमध्येमा काठमाडौंको तीनकुनेस्थित गैरिगाँउमा रहेको इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी(आइएसएमटी) कलेज पनि रहेको छ । बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धनप्राप्त यस कलेजले अप्रिल–मे इन्टेकका लागि भन्दै स्नातक तहको भर्ना खुलाइसकेको छ ।

मलेसियाको इन्फ्राइन्स्टक्चर विश्वविद्यालयबाट सम्बन्धन लिएको काठमाडौंको कमलपोखरीमा रहेको हिमालयन कलेज अफ म्यानेजमेन्टले त झन् गत फागुन महिनादेखि नै स्नताक तहको भर्नाका लागि प्रचारप्रसार सुरु गरेको देखिन्छ । यो कलेजले भर्ना खुलाउँदा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका भर्खर सार्वजनिक गरेको थियो ।

यसैगरी, ललितपुरको ग्वार्कोेमा रहेको काठमाडौं कलेज अफ म्यानेजमेन्ट(केसिएम)ले एडमिसन ओपन फर–२०२४ भनेर स्नताक तहको बिबिए मार्केटिङ, बिबिए फाइनान्स एण्ड इन्भेस्मेन्ट र बिएससी सिएसआइटीको लागि भर्ना खुलाएको छ । यस कलेजले थाइल्यान्डको सायाम विश्वविद्यालयबाट सम्बन्धन लिएको छ ।



त्यस्तै, काठमाडौंको मध्यबानेश्वरमा रहेको केएफए बिजनेस स्कुलले पनि स्नातक तहको बिएचएम र बिबिएमा भर्ना खुलाएको छ । हामीले उल्लेख गरेका यी कलेजहरू केही प्रतिनिधि मात्र हुन् । नेपालमा विदेशी शैक्षिक संस्थाबाट सम्बन्धन लिएर सञ्चालन भएका कलेज तथा स्कुलको संख्या ८७ रहेको छ । जसमध्ये अधिकांश शैक्षिक संस्थाले मनलाग्दी ढंगले भर्ना, परीक्षा र शुल्क लिने गरेका छन् । करिब ३० हजार विद्यार्थी अध्ययनरत यी संस्थालाई सरकारले नियमन गर्न नसक्दा विकृति बढ्दै गएको छ ।

नेपालमा सञ्चालित यस्ता कलेजहरूको शैक्षिक सत्र कहिले सुरु भएर कहिले समाप्त हुन्छ भन्ने नै यकिन गर्न सक्ने अवस्था छैन । शिक्षा मन्त्रालयल नियमन नरेकै कारण यी कलेजहरूमा बाह्रै महिना विद्यार्थी भर्ना गर्ने मनोवृत्ति बढ्दै गएको छ ।



विद्यार्थी र अभिभावकलाई विभिन्न प्रलोभन देखाएर मनोमानी ढंगले विद्यार्थी भर्ना गरिरहेका यस्ता कलेजको गोरखधन्दामा शिक्षा मन्त्रालयले अंकुश लगाउन जरुरी छ । विदेशबाट सम्बन्धन लिए पनि नेपाली शैक्षिक सत्रलाई नै चुनौती दिएर सञ्चालन भइरहेका यस्ता कलेजको शैक्षिक सत्र, वार्षिक परीक्षा, नतिजा प्रकाशन र शुल्क पारदर्शी हुन जरुरी छ ।

कलेजको मनपरी भर्ना : शिक्षा समितिमा पुग्यो कुरा

विदेशी सम्बन्धनप्राप्त कलेजहरूले मनोमानी ढंगले विद्यार्थी भर्ना गर्न थालेपछि प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उक्त विषयलाई समितिका सदस्यहरूले गम्भीरतापूर्वक उठाएका छन् । विदेशी सम्बन्धनप्राप्त कलेजहरूको मनोमानीलाई रोक्नुपर्ने भन्दै शिक्षा समितिका सदस्यहरूले यी कलेजहरूले कक्षा १२ को नतिजा प्रकाशन नहुँदै स्नातक तहमा भर्ना गर्ने गरेकाले त्यसलाई रोक्नुपर्ने उल्लेख गरेका छन् ।

आइतबार बसेको समितिको बैठकमा समितिकी सदस्य ईश्वरी घर्तीले विदेशी सम्बन्धन प्राप्त कलेजले कक्षा १२ को नतिजा प्रकाशन नहुँदै विद्यार्थी भर्ना गर्न थालेको विषयलाई बैठकमा गम्भीरतापूर्वक उठाएकी थिइन् । कक्षा १२ को नतिजा प्रकाशन नहुँदै विद्यार्थी र अभिभावकलाई विभिन्न प्रलोभनमा पारेर ती कलेजले स्नातक तहमा भर्ना गराउन थालेको भन्दै सरोकारवाला मन्त्रालयले त्यसलाई रोक्नुपर्ने उनको भनाइ थियो ।

‘सम्बन्धन प्राप्त कलेजहरू कसरी चलिरहेका छन् भन्ने कुराको निगरानी गर्ने निकाय कुन हो ?’ उनले समितिको बैठकमा प्रश्न गरिन् । विदेशी सम्बन्धनप्राप्त कलेजले भर्ना गर्दा प्रवेश परीक्षासमेत लिनुनपर्ने र ती कलेजमा विद्यार्थी फेल नै नहुने अवस्था रहेकाले किन सरकारले निगरानी गर्न सकेन भनेर समीक्षा गर्नुपर्ने बेला आएको बताइन् । कक्षा १२ को नतिजा प्रकाशन नहुँदै ती कलेजले विद्यार्थीलाई कब्जा गरेको उनको भनाइ छ ।

नतिजा प्रकाशन भएपछि मात्र भर्ना खुलाउनुपर्छ : शिक्षा मन्त्रालय

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दहालले नतिजा प्रकाशन भएपछि मात्र भर्ना खुला गर्नुपर्ने बताए । उनका अनुसार विद्यालय र उच्च शिक्षा तहमा नतिजा प्रकाशन भएपछि मात्र भर्ना खुला गर्ने प्रचलन रहेको छ ।

शिक्षा मन्त्रालयअन्तर्गतको उच्च शिक्षा महाशाखाका अनुसार विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरूले सम्बन्धन दिने शैक्षिक संस्थाको मापदण्डअनुसार सञ्चालन हुने भए पनि नतिजा प्रकाशन भएपछि मात्रै भर्ना लिन पाइन्छ ।

अनुगमन तयारी भइरहेको छ : शिक्षामन्त्री श्रेष्ठ

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विदेशी सम्बन्धनप्राप्त कलेजमा अनुगमन गर्ने तयारी भइरहेको जानकारी दिएकी छिन् । शिक्षा समितिको बैठकमा उनले कलेजहरूको अनुगमनका लागि खाका र टोली बनाउने काम भइरहेको जानकारी दिएकी हुन् ।

शंकर कोइरालाको अध्यक्षता बनेको समितिले विदेशी सम्बन्धनप्राप्त कलेजहरूमा पोलेसी ग्याप के छ भनेर अध्ययन गर्ने काम गरिरहेको उनले जानकारी दिइन् । यी कलेजलाई नियमन गर्ने जिम्मेवारी मन्त्रालयको भएको र हालसम्म राम्रोसँग अनुगमन नभएकाले अनुगमनका लागि पठाउने तयारी भइरहेको जानकारी मन्त्री श्रेष्ठले दिइन् ।

यो पनि पढ्नुहोस् 

विदेशी सम्बन्धनप्राप्त कलेज : यसरी बन्दैछन् बेथितिको वाहक [भिडियोसहित]

वैदेशिक सम्बन्धनका नाममा शिक्षामा विकृति, अनुगमनमा कहिले पुग्ला मन्त्रालयको ध्यान ?

विदेशी सम्बन्धन प्राप्त कलेजको अनुगमन गर्दै मन्त्रालय, यस्ता छन् कलेजका बदमासी

  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया