logo-img

संक्रमणकालीन न्याय नटुंगियून्जेल प्रचण्ड प्रधानमन्त्रीमा बस्न मिल्दैन : डा. केसी
'कुनै शीर्षनेताको दबाबमा सत्याग्रह तोड्दिनँ’

धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा रहेको पशुपति मन्दिरपरिसर मृगस्थलीमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी एकपटक पुनः अनशन बसिरहेका छन् । 

मंगलबार मध्याह्न १२ बजेतिर​ पंक्तिकार मृगस्थली पुग्दा डा. केसी आराम गरिरहेका थिए । उनी चार दिनदेखि पानी मात्र पिएर सत्याग्रह गरिरहेकाले केही थकित पनि देखिन्थे । उनले यसभन्दा अघि फरक–फरक समयमा २१ वटा अनशन बसिसकेका छन् । यो अनशन उनको २२औँ हो । 

विगतका सम्झौता कार्यान्वयनको मागसहित डा. केसीले शनिबारदेखि पशुपति मृगस्थलीमा २२औँ अनशन सुरु गरेका हुन् । उनले अन्तिम अल्टिमेटमको अवधिमा पनि माग सम्बोधन नभएको भन्दै शनिबार साँझदेखि अनशन सुरु गरेका हुन् । 

संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्नुपर्ने, सबै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्नेलगायत माग कार्यान्वयन र कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिलाई कारबाहीको माग डा. केसीले अघि सारेका छन् । 

फेरिएको छ परिदृष्य



पहिले डा. केसी अनशन बस्दा उनका मागका विषयलाई लिएर प्रधानमन्त्री, मन्त्री हुँदै तालुकदार निकायका सरकारी अधिकारीहरू रातभर छलफलमा जुट्थे । संसदमा डा. केसीको जीवन रक्षाका विषयमा सांसदहरू औँला उठाउँथे । स्वास्थ्य क्षेत्रको सुधारका लागि केसीले उठाएका विषयले राष्ट्रिय महत्व पाउँथ्यो । तर, हिजोआज परिदृष्य फेरिएको छ । उनी अनशन बसेको चार दिन बितिसक्दा पनि सरकार तथा अन्य कोही व्यक्ति पनि सम्पर्कमा नआएको डा. केसीको भनाइ छ । 

बारम्बार अनशन बस्दा पनि सरकारले उनलाई बेवास्ता गर्न थालेको स्वयं डा. केसीले पनि महसुस नगरेका होइनन् । तर, आफू जनताका हितका लागि बारम्बार अनशन बस्न बाध्य रहेको उनी बताउँछन् । ‘देशको स्वास्थ्य क्षेत्र सुधार गर्नुपर्ने काम मेरो नभएर राज्यको हो । तर, राज्य मौन छ । विभिन्नपटक अनशन बस्दा राखेका धेरै माग सम्बोधन पनि भएका छन् । अझै राज्य, सरकारले स्वास्थ्य सेवालाई आमनागरिकको पहुँचमा पुर्याउन अझै धेरै गर्न बाँकी छ । जसका लागि म निरन्तर रूपमा आवाज उठाइरहन्छु,’ उनले भने । 



हुन पनि मेडिकल शिक्षा सुधारको आन्दोलन थालनी गर्दा स्वास्थ्य क्षेत्रमा बेथितिहरूका चाङ डरलाग्दो थियो । उनकै निरन्तरको आन्दोलनले धेरै नै सुधार भएका सरोकारवाला निकायले बताइरहेका छन् । तर, डा. केसी अझै पनि सन्तुष्ट हुन सकेका छैनन् । त्यसैले सत्याग्रह गर्न छाडेका पनि छैनन् ।

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकका रूपमा कार्यरत रहँदा डा. केसीले मेडिकल शिक्षाको बेथिति बढेको भन्दै ०६९ असार २१ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमै पहिलोपटक सत्याग्रहको घोषणा गरेका थिए । केसीलाई नागरिकले स्वतस्फूर्त साथ दिए । उनका शिष्यहरू गुरुको समर्थनमा उभिए । उनले राखेका माग पूरा गर्ने प्रतिबद्धतापछि चार दिनमा अनशन तोडियो । त्यसयता उनी २१औँपटक अनशन बसिसकेका छन् ।

यसपटकको अनशन पनि डा. केसीले आफ्नो माग आमनागरिकको हितमा रहेको बताउँदै भने, ‘कुनै शीर्षनेताको दबाबमा उठाइएका आवाजको पछि लागेर म सत्याग्रह तोड्दिनँ । म लड्न रोकिनेवाला छैन ।’

डा. केसीले यसपटक अनशनको मागको पहिलो नम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेका छन् । डा. केसीले १० वर्षे सशस्त्र द्वन्द्वकालमा हालका प्रधानमन्त्री दाहाल मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न भएको दाबी गरेका छन् । 

२०५२ फागुन १ देखि २०६२–६३ को जनआन्दोलनसम्म भएको १० वर्षे हिंसात्मक द्वन्द्वमा झण्डै १७ हजार नागरिकको ज्यान गएको थियो । तत्कालीन नेकपा (माओवादी)ले सो द्वन्द्वलाई ‘जनयुद्ध’का रूपमा अघि बढाएको थियो । जनयुद्ध सुरु हुँदा महामन्त्री र पछि अध्यक्ष भएका दाहाल हाल देशका प्रधानमन्त्री छन् । 

यसपटक अनशन बस्दा प्रधामन्त्रीकै राजीनामा किन माग गर्नुभयो ? भन्ने फरकधारको प्रश्नमा डा. केसी भन्छन्, ‘सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ ।’

‘हाल सत्ताको नेतृत्व गरेका प्रचण्ड त पदमा रहँदा सधैँभर आफ्नो दण्डहीनताका लागि सिंगो संक्रमणकालीन न्याय प्रक्रियालाई भद्दा मजाकमा परिणत गरेको इतिहास छ,’ उनी भन्छन्, ‘त्यसैले निष्पक्ष रुपमा र पीडितहरुले न्यायको अनुभूति गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया नटुंगियून्जेल पदमा बस्ने उनको कुनै पनि नैतिक तथा कानुनी धरातल छैन । तसर्थ उनले तुरुन्त राजीनामा दिनुपर्छ ।’ 

स्वास्थ्य र शिक्षामा बढ्दो बेथितिविरुद्ध केसीको सत्याग्रह ‘वाचडग’ हो भन्ने विश्लेषणमा अधिकांशको सहमति छ । तर, पछिल्लो समय डा. केसीको अनशनका एजेण्डा व्यक्ति, राजनीतिक पार्टी लक्षित हुने गरेको आक्षेप पनि बेलाबखत लाग्ने गरेको छ । धेरैले उनलाई बाटो बिराएको पनि भन्न पछि पर्दैनन् । तर, डा. केसी भने स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बढेका कारण आफूले उनीहरूका विरुद्ध बोल्न बाध्य भएको बताउँछन् । 

‘जिम्मेदार नागरिक भएका हिसाबले मैले देशमा भइरहेको गतिविधिमा चासो दिनु, खबरदारी गर्नुपर्ने मेरो कर्तव्य हो । जुन मैले गरिरहेको छु,’ डा. केसी भन्छन्, ‘राजनीतिमा भ्रष्टाचार मौलाउँदा बिचौलिया, माफियाले चलखेल गर्दा शिक्षा र स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परिरहेको छ । स्वास्थ्य क्षेत्र गैरनाफामुलक हो । तर, पार्टीका नेताहरूले शिक्षा र स्वास्थ्यलाई नाफामूलक बनाएर अघि बढिरहेका छन् । जसको मारमा सर्वसाधारण जनता परिरहेका छन् ।’

स्वास्थ्य क्षेत्रमा काम गरिरहेका छौँ भनेर सरकारले बारम्बार जनताको आँखामा छारो हाल्ने काम गरेको उनको भनाइ छ । उनको यसपटकको अनशनका अर्को महत्वपूर्ण माग भनेको सबै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने रहेको छ । सरकारले चाह्यो भने यो काम सहजै हुने उनको भनाइ छ । ‘नेतामा दूरदृष्टि हुन एकदमै आवश्यक छ । स्वास्थ्य क्षेत्रलाई आफ्नो स्वार्थहितका लागिभन्दा पनि आमनागरिकका लागि काम गर्नुपर्यो । यदि नेता दूरदर्शी, जनताप्रति इमानदार र इच्छाशक्ति छ भने निःशुल्क औषधि उपचार सम्भव छ,’ उनी भन्छन्, ‘सरकारले निःशुल्क औषधि दिने भनेको छ । तर, निःशुल्क औषधि पाउन त परै जाओस् चरम महँगो भएको छ । निम्न तथा मध्यम​वर्गका नागरिकले स्वास्थ्य उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था छ ।’ नेताहरूले आफ्नो स्वार्थका लागि पनि स्वास्थ्य उपचार निःशुल्क व्यवस्था गर्न नचाहेको उनको आरोप छ । 

२७ वर्ष शिक्षण अस्पतालमा काम गरेका डा. केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेका छन् । सरकारी कोटामा छात्रवृत्ति पाएर पढेको हुनाले आफूले देश र जनताका लागि केही गर्नुपर्ने सोचका कारण बारम्बार आवाज उठाइरहेको उनको भनाइ छ । स्वास्थ्यले साथ दिएसम्म आफू सरकारलाई बारम्बार घचघच्याइरहने समेत उनको प्रतिबद्धता छ । 

सरकारलाई बारम्बार ताकेता गर्दा पनि आफूलाई नटेरेर आफू अनशन बस्न बाध्य भएको उनी बताउँछन् । ‘सत्यसँग लड्ने, सामना गर्ने सरकारमा क्षमता छैन । जसकारण अहिले सरकार सम्पर्कमै आउन चाहिरहेको छैन । नैतिकता भएको भए सम्पर्कमा आउनुपर्ने हो । तर, उहाँहरूबाट कुनै प्रतिक्रिया नै आउँदैन ।’ सरकारले सामान्य शिष्टाचारसमेत निर्वाह नगरेको डा. केसीको गुनासो छ । 

यो पनि पढ्नुहोस् 

चिकित्साशिक्षा क्षेत्रमा पछिल्लो दशकमा के भयो सुधार ?

२१औँ सत्याग्रहको तयारीमा डा. केसी, २० अनशनले नाफा कि घाटा बेसी ?

माफियाको चंगुलमा स्वास्थ्यमन्त्री कि डा. केसी ?

चेपुवामा बिएन्डसी : सर्वाेच्चकाे हरियाे बत्ती, डा. केसीकाे आपत्ति

  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार २०:६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया