‘ग्रेटेस्ट कमब्याक इन स्पोर्ट्स’ : ३९५४ दिनपछि टाइगर उड्स बने च्याम्पियन

काठमाडौं– अमेरिकन गल्फ स्टार टाइगर उड्सले आफ्नो १५औँ मेजर जित्नका लागि ३,९५४ दिन कुरे । ११ वर्षदेखि कुनै मेजर उपाधि नजितेका उड्सले आइतबार अगस्टामा मास्टर्स टाइटल जिते । यो उनको पाँचौँ मास्टर्स उपाधि हो, र १५औँ मेजर । 

१४औँ मेजरका रुपमा उनले सन् २००८ को युएस ओपन जितेका थिए । त्यसयता उनको खेलजीवन उतारचढावपूर्ण रह्यो । 

मास्टर्समा भने यो उनको सन् २००५ देखिकै प्रतीक्षा हो । २००५ मा उनले चौथोपटक मास्टर्स उपाधि जितेका थिए । पछिल्लो समय विभिन्न समस्याले घेरिएका ४३ वर्षे उड्सको खेल करिअर सकिएको अनुमान गर्न थालिएको थियो । 

पछिल्लो ४ वर्षमा उड्स केवल २४ प्रतियोगितामा सहभागी भए । सार्वजनिक रुपमै पत्नीलाई धोका दिएर अरुसँग सम्बन्ध बनाएको स्वीकारोक्ति र त्यसपछि टुटेको वैवाहिक सम्बन्धका बीच उनी खेलजीवनमा सक्रिय हुन सकिरहेका थिएनन् । 

अन्ततः पूर्व विश्व च्याम्पियन उड्स खेलमा त फर्किए, तर फर्किएलगत्तै चोटग्रस्त भए, र उनको ब्याक सर्जरी गर्नुपर्यो । वरीयतामा उनी पछिल्तिर धकेलिँदै गए । 

व्यक्तिगत समस्याको लहरोले पनि उनलाई छोडेन । सन् २०१७ मा नशामा गाडी चलाएको आशंकामा पक्राउ परेपछि त उनले आफ्नो करिअर सकिएको नै ठाने । तर, समयले फेरि कोल्टो फेर्यो । 



४३ वर्षको उमेरमा २००५ यता पहिलोपटक अगस्टामा उपाधि जित्दा दुई छोराका पिता उड्सको खुसीको सीमा रहेन । जितसँगै उनको अनुहारमा भारी मुस्कान देखियो । मैदानपछाडि गएर छोराहरुसँग मजैले खुसी मनाए । 

यतिखेर सामाजिक सञ्जालमा उनको चर्चा चुलिएको छ । उड्सको जितलाई धेरैले खेलजगत्कै सबैभन्दा ठूलो ‘कमब्याक’ भनेका छन् । हलिउड एक्टरहरुदेखि विश्वभरका प्रशंसकले उनलाई बधाई दिइरहेका छन् । 



  • प्रकाशित मिति : बैशाख २, २०७६ साेमबार ९:१०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया