सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा विभिन्न राजनीतिक दलका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।
सत्ता पक्षका सांसदहरुले कार्यक्रमको बचाउ गर्दै सकारात्मक र रुपान्तरणकारी भएको प्रतिक्रिया दिए भने प्रतिपक्षी दलका नेताले परम्परगत र आशालाग्दो नभएको टिप्पणी गरे ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता माधव सापकोटाले नीति तथा कार्यक्रम समग्रमा राम्रो भएको बताए । उनले भने, ‘अहिलेको राजनीतिक परिस्थिति र दलहरुबीचको सम्बन्धलगायत समग्र दृष्टिमा उत्साहजनक छ, कार्यान्वयन गर्नेमा जोड दिनुपर्छ ।’
स्वरोजगारका क्षेत्र र युवा पुस्तालाई आशावादी तुल्याउने देखिएको उल्लेख गर्दै सांसद सापकोटाले नीति तथा कार्यक्रमले समग्रमा सबै पक्षलाई समेटेको प्रतिक्रिया दिए । ‘नीति तथा कार्यक्रम अनुसारको बजेट र त्यसलाई कार्यान्वयन गर्ने सरकारको इच्छाशक्ति मुख्य विषय हो । छलफललाई त्यसमा केन्द्रित गर्नुपर्छ,’ उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम बजेटसँग तादाम्यता हुने गरी सबै क्षेत्रलाई समेटेर ल्याएको बताए । ‘यसपटक ठूला विषय नराखी क्रमिक सुधार हुने गरी ल्याइएको छ । दर्जनौँ क्रमिक सुधारका विषय राखिएका छन्, बजेटसँग यसको सम्बन्ध जोडिने सम्भावना ह्वात्तै बढ्यो । अहिले विचारका रुपमा आयो, बजेटसँगै कार्यान्वयनमा आउँछ,’ उनले भने ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले नियमित रूपमा प्रत्येक वर्ष नीति तथा कार्यक्रम पेस गर्नुपर्ने भएकाले सदनमा पेस गरिएको प्रतिक्रिया दिए । उनले भने, ‘नीति कार्यक्रम जनतालाई उत्साह दिने र वर्तमान राजनीति अवस्थालाई सम्बोधन गर्नेखाले छैन ।’
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा बहुदलीय व्यवस्था आएको ३४ वर्षसम्म उस्तै किसिमका विषयवस्तु समेटेर नीति तथा कार्यक्रम आएको प्रतिक्रिया दिए ।
‘तुर्जमा भएका नीति तथा कार्यक्रम २० प्रतिशत मात्रै कार्यान्वयन भएको भए मुलुकको समृद्धिले फड्को मारिसक्थ्यो,’ उनले भने । नीति तथा कार्यक्रम कार्यन्वयनमा प्रतिबद्ध हुनुपर्नेमा भण्डारीले जोड दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।