logo-img

प्रधानमन्त्रीलाई डा. बाबुरामको कटाक्ष : बेत बसिसकेका गाईबाट दूध आशा गर्नु आशा गर्नेकै दोष !

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले​ आफ्ना पूर्वसहकर्मी एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘बेत बसिसकेको गाई’को संज्ञा दिएका छन् । सरकारको नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । 

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको केही घण्टापछि उनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । ‘सामान्यतः ५ वर्ष निम्ति निर्वाचित सरकारले आफ्ना पहिला दुई वर्षमा रूपान्तरणकारी नीति तथा कार्यक्रम र बजेट ल्याएर गुणात्मक परिवर्तनको प्रत्याभूति गराउने प्रयत्न गर्,’ उनले लेखेका छन्, ‘तर प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको दुई वर्षको दिशाहीन यात्रा र कछुवा गतिको पारा हेर्दा यसले देशका गम्भीर संरचनात्मक समस्या हल गर्न सक्दैन भन्ने प्रष्ट हुन्छ।’



हिजो ठाउँ कुठाउँ ‘क्रमभंग’ र ‘छलाङ’को गफ दिने प्रचण्डले नेतृत्व गरेको सरकारको नीति–कार्यक्रममा देशलाई भ्रष्टाचार, गरिबी, बेरोजगारी, परनिर्भरताको दुष्चक्रबाट निकालेर केही दशकभित्र स्वाधीन र विकसित अवस्थामा फड्को हान्ने कुनै दूरदृष्टि, प्रतिबद्धता र कार्यक्रम नभएको उनको आरोप छ । खालि सामान्य मात्रात्मक सुधार वा १९ बाट २० गर्ने कुरा मात्र रहेको उनले उल्लेख गरेका छन् । 

‘उदाहरणको निम्ति, आर्थिक रूपान्तरणको सबभन्दा महत्वपूर्ण क्षेत्र कृषिमा दश लाख हेक्टर भन्दा बढी जमीनमा सिँचाइ सुविधा पुर्याउनु छ, तर सरकारको वार्षिक लक्ष्य नै पाँच हजार हेक्टर छ,’ उनले थपेका छन्, ‘त्यस्तै देशमा बर्सेनि ५–७ लाखभन्दा बढी नयाँ रोजगारी आवश्यक छ, तर सरकार केही हजारको मात्र कुरा गर्छ ।’

उनले अन्त्यमा भनेका छन्, त्यसैले बेत बसिसकेका गाईहरूबाट दूध आशा गर्नु आशा गर्ने कै दोष हुन्छ कि ?’





  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार २३:२१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया