राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६औँ आवधिक योजनाले विद्यमान अवस्था, समस्या र चुनौतीको गहिराइको साथ विश्लेषण गरेको उल्लेख गर्दै उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन् । उनले यो योजना पूर्ण कार्यान्वयन हुने पनि दाबी गरे ।
‘हामीले १६औँ योजनाको लक्ष्य महत्वाकांक्षी नराखेर त्यसलाई कसरी पूरा गर्न सक्ने बनाउने र कसरी योजनालाई पूर्ण कार्यान्वयनमा लैजाने कुरालाई धेरै ध्यान दिएका छौँ । त्यसकारण यो योजनामा राखिएको कुरालाई कसरी कार्यान्वयन गर्ने भनेर त्यसतर्फ धेरै जोड दिएका छौँ,’ उपाध्यक्ष श्रेष्ठले भने ।
उनले सोह्रौँ योजनाले उत्पादन र रोजगारीलाई महत्व दिएको पनि बताए । सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६) को सार्वजनिक गर्दै उनले यो योजना पन्ध्रौंभन्दा फरक भएको पनि बताए । सोह्रौँ योजनाले पाँच वर्षमा औसत ७.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ ।
‘अहिले तीन तहको सरकार आएपछि सरकारको प्राथमिकता पूर्वाधारमा फोकस हुँदा सामाजिक सूचक कतै खस्कन थालेको छ कि भन्ने देखिएको छ । त्यसकारण अब आयोजनालाई तीन वर्गमा वर्गीकरण गरिने छ,’ उपाध्यक्ष श्रेष्ठले भने ।
त्यस्तै, पाँच वर्षमा प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको अन्तरवस्तुमा उल्लेख गरिएको छ । हाल नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर रहेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको उक्त १६औँ योजनामा नेपाली नागरिकको औसत आयु ७१ वर्षबाट ७३ वर्ष पुर्याउने लक्ष्य राखिएको छ । यस्तै, उपाध्यक्ष श्रेष्ठले १६औँ योजनाले विकास र समृद्धिका विद्यमान अवस्था र सम्भावना पहिचान गरेको बताए ।
‘राजनीतिक नेतृत्व तह आर्थिक विकास र समृद्धिको मुद्दामा केन्द्रित छन् । तीन तहका सरकार आर्थिक–सामाजिक तथा पूर्वाधार विकासमा संलग्न छन्,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।