logo-img

श्रीराम जन्मभूमि ट्रस्टका महासचिवले भने- सीताविना राम र जनकपुरविना अयोध्या अधुरो
'अयोध्याकाे राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ'

भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले निर्माणाधीन राममन्दिरमा बन्ने ‘रामदरबार’मा नेपालको धनुष राख्न सकिने बताएका छन् । 

नेपाल भ्रमणमा रहेका राय र नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँगको भेटमा उनले धनुषयज्ञमा आधारित अयोध्या र जनकपुर तथा सीता र रामको सम्बन्धलाई जीवन्तता दिन मन्दिरमा सो प्रतीक राख्न आफूले पहल गर्नेसमेत बताए । 
    
'नेपाल र भारतको ऐतिहासिक सम्बन्ध छँदै छ, त्यसैमा अयोध्या र जनकपुरको विशिष्ट सम्बन्ध छ । त्यो सम्बन्ध धनुषयज्ञमा आधारित राम र सीताको विवाहले सम्भव भएको हो,' रायले भने, 'त्यसैले जनकपुरवासीका तर्फबाट धनुष प्रदान गरिएमा त्यसलाई ऐतिहासिक राममन्दिरको दोस्रो तलामा बन्ने रामदरबारमा राख्ने विषयमा मेरो पहल रहन्छ । त्यसले हाम्रो सम्बन्धलाई थप मजबुत बनाउने मेरो विश्वास छ ।'
    
त्यसैगरी उनले नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरी ल्याइएको शिला (देवशिला)बाट रामललाको मूर्ति बनाउने भनिए पनि कालिगढले केही प्राविधिक पक्ष देखाएर प्रयोग नगरेको समेत बताए । हाल सो शिलालाई दैनिक पूजाअर्चना गर्ने गरी रामसेवक पुरममा राखिएको उनको भनाइ छ । 
    
'हामीले मूर्ति बनाउने भनेरै नेपालको कालीगण्डकी नदीबाट शिला लिइएको कुरा सबैको जानकारीमै छ । त्यहाँ मूर्ति बनाउनेक्रममा कालिगढले केही प्राविधिक कारणले प्रयोगमा ल्याउने अवस्था भएन, तर हाल नेपालको पहिचान झल्किने गरी दैनिक हजारौँ भक्तजनले पूजाअर्चना गर्ने ठाउँमा राखिएको छ । त्यसको महत्व, सम्मान र आस्थामा कमी हुन दिएका छैनौँ,' उनले भने । 
    
त्यसक्रममा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका नेता निधिले सीताविना राम र जनकपुरविना अयोध्या अधुरो रहने भन्दै राममन्दिरमा राखिने धनुष नेपालकै हुनु अझ बढी सान्दर्भिक हुने बताए । उनले भने, 'भारतीय पक्षकै मागअनुसार नै हामी धनुषको स्वरुप, धातु, आकार बनाउन तयार छौँ । त्यसैले सीता र रामको सम्बन्धलाई सधैँ स्मरणीय राख्न पनि त्यहाँ नेपालको धनुष राख्नुपर्छ भन्ने हाम्रो मत हो । त्यसमा तपाईं (राय)को भूमिका महत्वपूर्ण छ ।'
    
उनीहरूबीच आगामी अक्टोबरमा द्विपक्षीय छलफल गरेर यो विषयलाई टुंग्याउने सहमति भएको नेता निधिको सचिवालयले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ २, २०८१ बुधबार १८:५३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया