logo-img

सन्दीपलाई सफाइ : समर्थकको हाइहाइ, अधिकारवादीको चित्त दुखाइ

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । उनलाई उच्च अदालत पाटनले सफाइ दिएको हो । आफूमाथि सन्दीपले बलात्कार गरेको भन्दै एक युवतीले गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। 

उक्त जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले ०७९ पुस १३ मा लामिछानेलाई दोषी ठहर गरेको थियो । लामिछानेको सजाय निर्धारण भने पुस २५ गते तोकिएको थियो । लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको थियो ।

उक्त फैसलाविरुद्ध लामिछाने उच्च अदालत पुगेका थिए । बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौं जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो ।

यसअघि के भएको थियो सन्दीपको मुद्दामा ?

आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटेलमा बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।

भदौ २३ मा काठमाडौ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएपछि लामिछाने विदेशमा रहेका लामिछाने करिब एक महिना उतै बसेर फर्किने क्रममा असोज २० गते त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका थिए ।



कात्तिक १४ मा प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि लामिछाने कारागार चलान भएका थिए । तर उच्च अदालत पाटनले उनलाई पुस २८ मा २० लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए ।

थुनामुक्त भएपछि उनले नेपाली टोलीको तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पनि खेले । उक्त मुद्दाको सुनुवाइ पटकपटक जिल्ला अदालतमा हेर्दाहेर्दैकै सूचीमा परेर लम्बिँदै आएको थियो ।



न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको थियो ।

सन्दीपलाई धरौटीमा छाड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको थियो भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी गर्न पनि निषेध गरेको थियो । 

उच्च अदालतले लामिछानेलाई पीडितको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्न बन्देज लगाएको थियो । 

आदेशमा भनिएको थियो, ‘पीडितको परिवारको सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्ने वा दुरुत्साहन दिने वा सोसम्बन्धी कुनै कार्य नगर्नु, नगराउनु भनी प्रतिवादीलाई निषेधात्मक आदेश दिइएको छ ।’

अदालतले लामिछानेलाई उपत्यका छाड्न पनि रोक लगाएको थियो । उपत्यका छाड्नुपर्ने भए जिल्ला प्रहरी परिसर, काठमाडौंलाई लिखित जानकारी दिनुपर्ने भनिएको थियो । सर्तहरुको प्रभावकारिताका लागि लामिछानेको गतिविधिमाथि निगरानी राख्न प्रहरीलाई निर्देशन दिइएको थियो । 

‘उनको मोबाइल, टेलिफोन नम्बरमा सेवा प्रदायक संस्थामार्फत पहुँच राखी सोसँग सम्बन्धित सामग्री वा विवरणको सञ्चार अभिलेख गर्नको लागि प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्नेछ’, आदेशमा भनिएको थियो, ‘त्यसरी पहुँच राखिएका र अभिलेख गरिएका सामग्री वा विवरणको गोप्यता भंग नहुने व्यवस्था मिलाउनुपर्नेछ ।’

कतै समर्थन कतै विरोध

सन्दीपले सफाइ पाएसँगै उनका समर्थकले अदालतबाहिर खुसी मनाएका छन् । देशको गहनामाथि अनर्गल आरोप लगाइएको र अदालतको आदेशले सन्दीप मात्रै होइन, क्रिकेट समर्थक करोडौं नेपालीमाथि न्याय मिलेको उनीहरुको प्रतिक्रिया थियो । 

सामाजिक सञ्जालमा पनि सन्दीप समर्थकले खुसी व्यक्त गरेका छन् । सन्दीपले अझ खेलका माध्यमबाट नेपाललाई चिनाउने उनीहरूले आशा व्यक्त गरेका छन् । ट्विटरमा सुनिता रेग्मी लेख्छिन्– ढिला भए पनि सत्यको जित भएको छ । न्याय नमरेको रहेछ हाम्रो देशमा । बधाई छ सन्दिप लामिछानेलाई ! यो जित सन्दिपको मात्र नभएर नेपाल र नेपालीको जित हो ।

त्यस्तै अर्की समर्थक सीता अधिकारीले पनि सन्दीपलाई शुभकामना दिँदै लेखेकी छिन्– अब पाटन अदालतले नै निर्दोष साबित गरेपछि कसैले केही भन्न नै परेन । अब छिट्टै अमेरिकी पुगी विश्वकपको तयारी गर्नु होला । 


   
अदालतको आदेशप्रति समर्थन मात्र होइन, विरोधका स्वरहरू पनि उत्तिकै सुनिएका छन् । अदालतको पछिल्लो निर्णयले नेपालमा छोरीचेलीलाई असुरक्षित बनाएको प्रतिक्रिया दिएका छन् ।  

समाजशास्त्री निर्मला ढकालले ट्विटरमा लेखेकी छिन्– देशका गहनालाई अब घर घरबाट छोरी चेली फकाएर होटल पुर्याउने बाटो खुल्या । अब ‘बाहन’हरुका घरमा त झन् दुःखै गर्न परेन, आफैँ बोकेर भेटी चढाउन जाने होलान् । भेडो भेडो नै हुन्छन् ।

अदालतको आदेशप्रति असन्तुष्टि पोख्दै लेनिन बन्जाडेले लेखेका छन्– दुई थान अन्यायधीशले सन्दीपलाई सही र गौशाला–२६ लाई गलत साबित गरिदिए । रुँदै न्याय माग्न अदालतको शरण परेकी गौशालालाई कालो पट्टीले आँखा छोपेको त्यही अदालतले कहिल्यै नपुरिने अर्को चोट दियो । त्यस्ता अन्यायधीशहरूलाई जीवनभर गौशालाको आँसुले सुत्न नदेओस् !


त्यस्तै पत्रकार केपी ढुंगानाले पनि अदालतपिच्छे फरकफरक निर्णय आउने गरेको भन्दै विरोध गरेका छन् । उनले ट्विटरमा लेखेका छन्– जिल्लाले बालिग तर बलात्कार भएको ठहर्यायो । बालिग कि नबालिग त छाडौँ, उच्च अदालत पाटनले त सन्दीपले बलात्कार गरेको पनि स्वीकार नगरी निर्दोष ठहर गरिदियो । अब सर्वोच्चले त्यो होटलमा जाने सन्दीप नक्कली हो भन्न मात्र बाँकी रह्यो ।

केहीले भने गौशाला २६ को पक्षमा फैसला आए न्याय हुने, सन्दीपको पक्षमा आएचाहिँ अन्याय हुने ? भन्दै अदालतको आदेशको सम्मान गर्न आग्रह गरेका छन् । 

कविन्द्र कोइरालाले ट्विटरमा लेखेका छन्– गौशाला २६ को पक्षमा फैसला आएचाहिँ न्याय हुने, सन्दिपको पक्षमा आएचाहिँ अन्याय हुने भन्ने दोगला चरित्रको न्यायधीश बन्न छोडौँ । अदालतको फैसला जे हो, त्यही सही हो अहिलेको लागि । तर जे भए क्लोज क्याम्पमा रहेको मान्छे नगरकोट घुम्न जानु चाहिँ एउटा अनुशासनहीन खेलाडीको पहिचान नै हो ।

क्यानले विश्वकप खेल्न पठाउने 

उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएसँगै सन्दीपले विश्वकप खेल्न पाउने भएका छन् । उच्च अदालतबाट सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई आइसिसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । 

विश्वकपमा २५ मे सम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्ने आइसिसीको नियम छ । सन्दीपलाई विश्वकपमा पठाउनका लागि अन्तिम १५ बाट एकजना हटाउनुपर्छ । 

कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईले कसलाई हटाउने निर्णय गर्न पाउँछन् । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ ।

क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार क्यानले सन्दीपको खर्च ब्यहोरेर उनलाई विश्वकपमा पठाउने तयारी गरेको छ । 

‘भोलिसम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँछौँ,’ उनले भने, ‘हामी शतप्रतिशत सन्दीपलाई खेल्न पठाउँछौँ ।
 

  • प्रकाशित मिति : जेठ २, २०८१ बुधबार २१:४४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया