logo-img

ओलीलाई शेखरको जवाफ- एमालेको धम्कीले कांग्रेस डराउँदैन

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्रीलाई कांग्रेसले संसदको रोस्टममा बोल्न नदिने भन्ने कुराको प्रतिवाद गरेका छन् । उनले बोल्न समय दिन्छौँ भन्दा गृहमन्त्री स्वयम र नेकपा एमालेले त्यसलाई अवज्ञा गरेको दाबी गरे । 

साथै डा. कोइरालाले एमाले अध्यक्ष ओलीको धम्कीले कांग्रेस नडराउने प्रतिक्रिया पनि दिए । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले गृहमन्त्री रवि लामिछानेलाई आफूहरूले बोल्नै नदिएको भन्ने हल्ला गलत भएको जिकिर गरे ।

कोइरालाले सहरकारीको रकम अपचलनमा मुछिएका रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेलाई आफूहरूले धारणा राख्न अनुरोध गर्दा स्वयं लामिछाने र नेकपा एमालेले अस्वीकार गरेको बताए । 

उनले भने, ‘हामीले बोल्न नदिने भनेर भनेका छैनौँ । यो कुरामा तपाईँहरू क्लियर हुनुपर्‍यो । हामीहरूले के भनेका छौँ भने गृहमन्त्रीले आएर रोस्टममा बोल्नुहुन्छ । बोल्न पाउनु हुन्छ, बोल्नुस् । हामीहरूलाई चित्त बुझ्यो भने ठिक छ, चित्त बुझेन भने हामी बोल्छौँ भनेका हौँ । गृहमन्त्रीले त्यसलाई न त स्वीकार्नु भएको छ नत एमालेले त्यसलाई स्वीकारेको छ । तपाईँहरू (मिडिया) क्लियर हुनुभएन भने अप्ठ्यारो पर्छ । वास्तविकता यही हो ।’

उनले गृहमन्त्रीको राजीनामा समेत कांग्रेसले नमागेर संसदीय छानबिन समितिको माग गरेको उल्लेख गर्दै संसद् अवरुद्ध गर्नुपर्ने कारण अरू नभएको बताए । यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको बुधबारको अभिव्यक्तिप्रति लक्षित गर्दै राजाको धम्कीमा नडराएको कांग्रेस अब पनि नडराउने भन्दै जवाफ फर्काए । 

‘जुन धम्कीको भाषा आइराखेको छ त्यो मान्य छैन । राजाको धम्कीमा नेपाली कांग्रेस डराएन । अब पनि कुनै पनि राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौ,’ कोइरालाले भने ।  





  • प्रकाशित मिति : जेठ ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया