मदन भण्डारी, जसलाई नेपाली राजनीतिमा बहुदलीय जनवादका व्याख्याता भनियो । संसारका धेरै मुलुकको सत्ताबाट कम्युनिस्ट पार्टीहरूले धक्का खाइरहेकै बेला नेपालमा भने कम्युनिष्टहरूको जगजगीको बेला थियो, त्यो । यसको केन्द्रमा थिए,मदन भण्डारी ।
२०४६ मा नेपालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि मदन भण्डारी भूमिगतबाट खुला राजनीतिमा आए । २०४९ मा एमालेको पाँचौँ महाधिवेशनले मदन भण्डारीको बहुदलीय जनवादको कार्यक्रम पारित गर्यो । महासचिवमा निर्वाचित पनि भए । यसपछि उनले पछाडि फर्किएर हेर्नु परेन । उनी नेपालको सबैभन्दा ठुलो कम्युनिस्ट पार्टीको नेताको रूपमा स्थापित भए । आफ्नो भाषण शैली,विचार र प्रस्तुति तथा निडर स्वभावका कारण खुला राजनीतिमा आएको तीन वर्षमै देशभित्र र बाहिर पनि उनको प्रतिष्ठाको पारो ह्वात्तै बढ्यो । तर मदन भण्डारीको मुत्युसँगै ती सबै एकाएक एकादेशको कथा भए ।
३१ वर्षअघिको त्यो घटना । दासढुङ्गा दुर्घटनामा मदन भण्डारीको मृत्यु भएको त्यो दिन आजै थियो । ३ जेठ २०५० ।
मदन–आश्रित चढेको जिप चितवनको दास ढुङ्गाको आडैमा बगेको त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा दुवैको मृत्यु भयो । दुर्घटनाका एक मात्रै साक्षी जिप चालक अमर लामालाई दोषी ठहर गर्दै जेल हालियो । घटना भएको १० वर्षपछि लामा जेलबाट छुटे । तर लगत्तै कीर्तिपुरमा गोली हानी उनको हत्या भयो । उनलाई किन मारियो ? कसले मार्यो ? यो प्रश्न पनि उत्तिकै रहस्यमय छ । यसले पनि दास ढुङ्गा दुर्घटना योजनाबद्ध हत्या थियो भन्ने एक थरीको बुझाइलाई बल प्रदान गर्यो । जसले मदन भण्डारीको हत्या गराएको थियो, त्यसले नै लामाको हत्या गरायो र सबै प्रमाण नष्ट गर्यो भन्ने अनुमान पनि गरिन्छ ।
जिप दुर्घटना रहस्यमय भएको भन्दै तत्कालीन समयमा पनि विभिन्न छानबिन समितिहरू बने । यसबीच एमाले शीर्षस्थ नेताहरू राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म बनेर सत्तामा पुगे । तर पनि दास ढुङ्गा दुर्घटनाको छानबिन ओझेल पर्दै गयो । त्यो दुर्घटना थियो वा हत्या ? यो प्रश्नले अहिलेसम्म प्रस्ट जवाफ पाउन सकेको छैन ।
सायद यही भएर होला, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता किन नलागेको भन्दै एमालेमाथि नै प्रश्न गरेका छन् ।
गत वैशाख १० का दिन नेपाल कम्युनिस्ट पार्टीको हीरक महोत्सवका अवसरमा एमाले नेताहरूकै सामुन्ने देउवाले प्रश्न गरे–‘मदन भण्डारी किन मरे भनेर किन भन्न सक्दैन एमाले ? मदन भण्डारीको रहस्यमय मृत्यु खोज्न कसले रोकेको छ ?, मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन ?’
देउवाले जस्तै देशले पनि यो जिज्ञासाको जवाफ खोजेको छ ।
एक पटक दास ढुङ्गा दुर्घटनामा मदन भण्डारीको मृत्यु हुनुभन्दा पाँच साता अघि अर्थात् २४ चैत २०४९ मा पुगौँ । त्यो दिन केहीको स्मृर्तिमा ताजै हुनसक्छ । त्यस दिन प्रतिनिधिसभाको चौथो अधिवेशनको ३३ औँ बैठक चल्दै थियो । जुन बैठकमा भण्डारीले टनकपुर बाँध परियोजनासँग सम्बन्धित दुवै सदनको संयुक्त बैठकको क्षेत्राधिकारको विषय भएकोले प्रतिनिधिसभामा छलफल नगरियोस् भन्ने विषयमा विचार प्रस्तुत गरेका थिए ।
भएको के थियो भने सन् १९२८ मा बनाइएको शारदा वनवासा ब्यारेजलाई प्रतिस्थापित गर्न भारतले सन् ८० को दशकमा एकपक्षीय रूपमा टनकपुर ब्यारेज निर्माण सुरु गर्यो । तर भारतलाई त्यस बाँधका लागि नेपाली भूमि आवश्यक देखिएपछि तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले २०४८ जेठ ३ मा नेपालको सहयोगको अपेक्षा गरे । त्यसपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विवादास्पद टनकपुर सन्धिद्वारा भारतलाई देब्रे तटबन्ध बनाउने र भारततर्फ पानी मोड्ने प्रयोजनका लागि ११.९ हेक्टर जमिन प्रयोग गर्ने अनुमति दिए ।
तर नेपाल फर्किएपछि उनले टनकपुरको मामिलामा गरिएको समझदारी संसदबाट अनुमोदन गर्न आवश्यक छैन भने । त्यस बेला प्रमुख प्रतिपक्ष एमालेले सदन र सडकमा समेत यो विषयलाई विरोधको मुद्दा बनायो । टनकपुरमा समझदारी होइन,सन्धि नै भएको हो र त्यसको अनुमोदन दुवै सदनको संयुक्त बैठकको दुई तिहाइ बहुमतबाट मात्र हुन सक्दछ भन्ने अडान लियो । मदन भण्डारीले सदनमा यही कुरा राखेका थिए ।
आखिर सदन,सडक र सर्वोच्च अदालतको आदेशका कारण टनकपुर सन्धि संसदबाट पारित भएन । तर त्यसको चार वर्षपछि २०५३ असोज ४ गते राती संसद्को दुवै सदनको संयुक्त बैठकबाट दुई तिहाइ बहुमतकासाथ टनकपुरलगायतको परियोजनालाई समेटेर बनाइएको महाकाली सन्धि पारित भयो । त्यही दिन यही मुद्दालाई लिएर एमाले पनि फुट्यो । यस बेला मदनको निधन भएको तीन वर्ष भइसकेको थियो ।
लेखक कुन्दन अर्यालले आफ्नो पुस्तक ‘जननेता मदन भण्डारी र राष्ट्रियता’ मा टनकपुर सन्धिलाई साधारण बहुमतबाट अनुमोदन नगर्न दबाब दिनेमा मदन भण्डारीलाई साथ दिनेमा त्यस बेला कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह पनि रहेको उल्लेख गरेका छन् । लेखक अर्यालले पुस्तकमा त्यस बेला कांग्रेसका सभापति रहेका कृष्णप्रसाद भट्टराईलाई सम्बोधन गर्दै लेखिएको पत्रबारे पनि उल्लेख गरेका छन् । त्यस बेला उक्त पत्रलाई गणेशमानको लेटर बम समेत भनिएको थियो ।
अर्यालले पुस्तकमा लेखेका छन्–०४९ फागुन २५ गते नेपाली कांग्रसका सर्वमान्य नेता गणेशमान सिंहले समेत टनकपुर सन्धिलाई साधारण बहुमतबाट अनुमोदन नगर्न कांग्रेसका सांसदहरूलाई आह्वान गर्नुभयो । त्यस दिन यही विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको नेपाली काङ्ग्रेस संसदीय दलको बैठकमा उहाँ जानुभएन । तर उहाँले आफू अनुपस्थित हुने निर्णयको औचित्य साबित गर्दै सभापति कृष्णप्रसाद भट्टराईलाई सम्बोधन गर्दै लेखिएको पत्रमा आफ्नो अडान सार्वजनिक रूपमा राख्नुभयो ।
उहाँको भनाइ थियो, ‘टनकपुर प्रकरणमा प्रतिनिधिसभाको साधारण बहुमतमा जानु भनेको मृत्यु पत्रमा सहीछाप गर्नु हो । मलाई त्यसमा सही गर्न मेरो अन्तर्आत्माले रोकेको छ, कृपया मलाई आफ्नो अन्तर्आत्माविरुद्ध जान विवश नतुल्याउनु होस्,’ उहाँले भट्टराईलाई सम्बोधन गर्दै लेख्नुभएको थियो, ‘राष्ट्रिय सहमति टनकपुर समस्याका निम्तिमात्र होइन, संसदीय व्यवस्था र प्रजातान्त्रिक जीवन/मृत्युका लागि समेत अपरिहार्य छ’ । त्यस सन्धिलाई साधारण बहुमतबाट पारित गर्नु भनेको मृत्यु पत्रमा हस्ताक्षर गर्नु हो भन्ने ब्यहोराको सिंहको उक्त पत्र त्यस बेला ‘लेटर बम’ का नामले चर्चित थियो । त्यस वक्तव्यपछि कांग्रेस सांसदहरू झन् विभाजित हुन पुगे ।
महाकालीमा राष्ट्रिय स्वार्थको रक्षामा मदन भण्डारीले त्यस बेला सदन र सडकमार्फत जुन भूमिका खेले,त्यही आधारमा २०७७ जेठमा प्रतिनिधिसभाबाट नेपालको महाकालीमा भारतले गरेको अतिक्रमण र नक्साको तोडमोडलाई सच्चाउने सर्वसम्मत निर्णय हुन पुग्यो । अनि भारतले मिचेको भूमि नेपालको हो भनेर आएको हो–चुच्चे नक्सा ।
फेरि एक पटक मदन भण्डारी । तर अर्को प्रसङ्ग ।
दास ढुङ्गा दुर्घटना रहस्यमय हो भनेर मान्ने हो भने यो सँगै माओवादी जनयुद्ध र दरबार हत्याकाण्डको कडी पनि जोड्नुपर्ने हुन्छ । दास ढुङ्गा दुर्घटनाको दुई वर्षपछि २०५२ फागुन १ देखि माओवादीले सशस्त्र जनयुद्धको घोषणा गर्यो । माओवादी जनयुद्ध सुरु भएको ६ वर्षपछि अर्थात् २०५८ जेठ १९ मा राजपरिवारको हत्या भएको छ ।
इतिहासमा भएको उक्त तीन घटना अर्थात् मदन भण्डारीको मृत्यु,माओवादीले भन्ने गरेको जनयुद्ध र दरबार हत्याकाण्ड अझै रहस्यकै गर्भमा छ । भनिन्छ,यी तीन घटना एकअर्कासँग परस्पर जोडिएका छन् । इतिहासको गर्भमा प्रश्न बनेर रहेका यी घटनाका सम्बन्धमा वर्तमान र भविष्यको नेपालले जवाफ खोजी नै रहनेछ ।
यो पनि पढ्नुहोस् :
के हो कटवाल काण्ड, सेनापति गलहत्याउने प्रचण्ड प्रयास कसरी भयो असफल ? [भिडियोसहित]
३४ वर्षअघि कसरी ढल्यो राजा महेन्द्रले जग हालेको पञ्चायती व्यवस्था ? [भिडियोसहित]
डा. केआई सिंह : तिलस्मी, सन्की तर जोदाहा प्रधानमन्त्री [भिडियोसहित]
सिंहदरबार कब्जा हान्दा नारायणहिटी गुमाएका राजा ज्ञानेन्द्र [भिडियोसहित]
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।