काठमाडौं– क्वालालम्पुरमा जारी यु–१९ विश्वकप क्रिकेटको एसियाली छनोटअन्तर्गत सोमबार भएको खेलमा नेपालले मलेसिया यु–१९ लाई ८ विकेटले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ३३.५ ओभरमा सबै विकेट गुमाएर ९२ रनमात्रै बनाउन सक्यो । ९३ रनको विजयी लक्ष्य पाएको नेपालले १३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।
सहज जित दिलाउने क्रममा नेपालका ओपनर रित गुरुङले ३९ रनमा नटआउट रहे । ४५ बलको सामना गरेको गुरुङले ५ चौका प्रहार गरेका थिए ।
यस्तै, नेपालका लागि अर्का ओपनर पवन सर्राफ १४ बलमा १९ तथा आसिफ शेखले १८ बलमा २६ रन बनाए । सर्राफले २ चौका र १ छक्का हिर्काए भने शेखले ३ चौका र १ रन प्रहार गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले पहिलो बलमा छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए ।
यसअघि नेपालका बलरसामु मलेसियाका ब्याट्समेनहरु सस्तैमा समेटिए । मलेसियाका इजित फिक्वीले सर्वाधिक ३७ रन बनाउँदा मोहम्मद अमिरले १३ रनमात्रै जोडे । यस्तै हसरनले १० रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
मलेसियालाई अलआउट गर्ने क्रममा नेपालका पवन सर्राफ र कुशल मल्लले समान ३ विकेट लिए । सर्राफले ८.५ ओभरमा १ मेडनसहित १३ रन दिए भने, मल्लले ८ ओभरमा २ मेडन राख्दै २० रन दिए ।
यस्तै, ५ ओभर बलिङ गरेका कमलसिंह ऐरिले १ मेडन सहित २२ रन खर्चेर २ विकेट लिए भने सागर ढकालले ८ ओभरमा १ मेडन सहित १९ रन दिएर १ विकेट लिए ।
जितपछि नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । तीन वटै खेल जितेको युएई भने तीनै खेल जित्दै पहिलो स्थानमा कायमै छ । पहिलो खेलमा २ सय १६ रनले सिंगापुरलाई पराजित गरेको नेपालले दोस्रो खेलमा भने नेपाल युएईसँग १ रनले पराजित भएको थियो ।
नेपाल मंगलबार ओमनसँग र बिहीबार कुवेतसँग प्रतिप्रर्धा गर्दै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।