पाकिस्तानस्थित नेपाली राजदूतावासले किर्गिस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन अनुरोध गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा दूतावासले यस्तो अनुरोध गरेको हो ।
पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । ‘किर्गिस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब २ सय ८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास/घर बाहिर ननिस्कन आग्रह छ’, दूतावासले सूचना जारी गर्दै भनेको छ ।
दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं +92512610321 (ह्वाट्सयाप समेत) र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ ।
बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्रावासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ ।
छात्रावासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।